नवराज शर्मा
सधैंझैं बिहान हजुरबा र नाति कुरा गरिरहेको देखेर मुसुक्क हाँस्दै म बाथरुमतिर लागें। सितिमिति बुढाबुढीसँग अचेलका युवाहरू एकछिन गफसफ गरे पनि एउटै कोठामा बस्न रुचाउँदैनन् तर हाम्रो घरको कुरा अलि बेग्लै छ।
छिटो बिउम्झे पनि म बिहान छ नबजी ओछ्यान छाडदिनँ। त्यतिबेलासम्म बुवा नित्यकर्म मात्र होइन पुजापाठ सकेर चियाको पर्खाइमा र आलेख पढाइ सकेर उसको हजुरबासँग बात मारिरहेको हुन्थ्यो। बेलुका आठ बजेसम्म पनि हजुरबानाति दुवै गफ गरिरहेका हुन्थे।
कति कुरा आएको, कति कुरा गर्न सकेका! अचम्म लाग्थ्यो। बिहानबेलुका कि समाचार कि कथा। एउटा सुनाएर नथाक्ने, अर्को सुनेर नथाक्ने। गजब छ बा!
आज उनीहरू अलि ठुलै स्वरमा कुरा गरिरहेका थिए। ध्यान दिएर सुन्ने हो भने कुरा प्रष्टै बुझिन्थ्यो।
बुवा भन्दै हुनुहुन्थ्यो, ‘ब्रह्माजीलाई एकदिन पेट दुखेछ र दीर्घशंकाका लागि बस्नुभएछ...।’
मलाई लाग्यो, उनीहरू मलाई उडाइरहेका छन्।
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘ब्रह्माजी दीर्घशंका गर्न बस्दा रावण जन्मिएछ।’
म नित्यकर्म सकेर निस्कदा बुवाको आवाज कानमा ठोक्कियो, ‘ब्रह्माजी दीर्घशंका सकेर उठ्दा रावणको मृत्यु भैसकेछ।’
–न जन्मिन बेर, न मर्न बेर। कति छोटो आयु रहेछ रावणको!
–अहंकार र अकर्मण्यताको आयु लामो हुँदैन बा!
–हो त नि हजुरबा!
घडी हेरें। सात बढी भइसकेछ। टीभीमा मुख्य समाचार आउँदै थियो। वाचक भन्दै थिए, ‘मन्त्रीमण्डल विघटन ...।’
मैले नसुनोस् भनेर आलेखले भनेको वाक्य मेरो कानमा सुस्तरी ठोक्कियो, ‘ब्रह्माजी शौचालयबाट निस्कनुभो।’
बुवा मतिर फर्केर भन्दै हुनुहुन्थ्यो, ‘विषय वा प्रसंगले अर्को अर्थ नलागेमा ...।’
रोक्दारोक्दै पनि मेरो हाँसो फुत्कियो र उनीहरूको हाँसोमा गएर मिसियो।
प्रकाशित: १३ फाल्गुन २०७८ ०७:३९ शुक्रबार