डा. कुसुमाकर शर्मा गौतम
षडानन्दको बिहानै आँखा खुल्यो। आज त माया गरेको देखाउने दिन। रातभरि श्रीमतीको आलिंगनमा बाँधिएको भए पनि दुनियाँलाई भाँतीभाँती देखाउनुपर्ने दिन। षडानन्दकी श्रीमती पनि उठिन्।
आज माया देखाउने दिनको शुभकामना सहित चुम्बन फ्याँकिन् उनीतिर। षडानन्दको जवाफ आउनुअघि ‘अहो,आज त मेरो बिहानै काममा पुग्नु छ!’ भनेर षडानन्दको फैलिएको आलिंगन र ओठको ’पाउट’ लाई निर्घात पारेर गइन् काममा।
षडानन्दले बिस्तरामा नै मोबाइल हातमा लिए। फेसबुकमा तमासा देखेर उनलाई पनि आज माया गर्न मन लाग्यो। फोटा पनि कस्ताकस्ता? गाला जोडेका, चुच्चा जोडेका। केके जोडेर मायाका चिन्ह बनाएका।
षडानन्दलाई भित्रैबाट उखरमाउलो भएर आयो। कुमसँग कुम, छातीमा छाती जोड्न र हातसँग हात, खुट्टासँग खुट्टा बेर्न मन लाग्यो।
उनको मनको इच्छा तीव्र भएर आयो। आफ्ना शरीरका अंगप्रत्यंगलाई कस्न मन लाग्यो। श्रीमती त बिहानै काममा गइसकेकी थिइन्।
कोरोनाको कारण घरबाटै काम गर्दा दुईदुई वर्षदेखि लाउन नपाएको कार्यालयले दिएको कालो सुट ह्यांगरमा रोइरहेको जस्तो लाग्यो सदानन्दलाई। मन उद्वेलित भयो र त्यही सुट लगाएर बाहिरसम्म जाने विचार गरे। सुट लगाएर बाहिर निस्कँदै गर्दा ‘तिम्रो भावना अनुरूप आज मैले पनि माया लगाए नि षडानन्द!’ भनेर सुटले फुस्फुसाएको षडानन्दको कानमा प¥यो।
प्रकाशित: ४ फाल्गुन २०७८ ०५:५९ बुधबार