त्रिविक्रम पाण्डे
लता मङ्गेश्करको शरीर लाग्छ अब पूर्ण भयो। जुन दिन सरस्वती देवीको पूजा थियो, त्यही दिन माताले विदा लिनुभयो। यस्तो लाग्छ, जस्तो कि माता सरस्वती यसपालि आफ्नी सबैभन्दा प्रिय पुत्रीलाई लिएर जानका लागि स्वयं यहाँ आउनुभएको थियो।
मृत्यु सधैं शोकको विषय हुँदैन। मृत्यु जीवनको पूर्णता पनि हो। लता दिदीको जीवन जति सुन्दर थियो, उनको मृत्यु पनि त्यति नै सुन्दर रह्यो। झण्डै ९३ वर्षको त्यति सुन्दर अनि धार्मिक जीवन जगतमा विरलैलाई मात्रै मिल्छ होला। लगभग पाँच पिँढीले उनलाई सुने अनि हृदयदेखि नै निरन्तर उच्च सम्मान पनि दिइरहेका छन्।
उनका पिताले जब आफ्नो अन्तिम समयमा घरपरिवारको सारा जिम्मेवारी उनको हातमा सुम्पेका थिए, तब त्यो १३ वर्षकै सानो उमेरको बच्चीको काँधमा ससाना चार भाइ र बहिनीहरूको पालनपोषणको दायित्व आइलागेको थियो। लता दिदीले आफ्नो पूरा जीवन ती चार जनाका लागि नै समर्पण गरिदिइन् भनिन्छ अनि आज जब उनी गइन् त उनको परिवार भारतको सबैभन्दा सम्मानित प्रतिष्ठित परिवारमध्ये एकमा गनिन्छ। संसारको कुनै पनि मानिसको जीवनमा योभन्दा ठूलो सफलता अरू के नै पो होला र?
यो भन्न सकिन्छ, भारत पछिल्लो असी वर्षदेखि लता दिदीका गीतहरूसँग बाँचिरहेको छ। हर्षमा, नैराश्य–विषादमा, ईश्वर भक्तिमा, राष्ट्र भक्तिमा, प्रेममा, परिहासमा... हरभावमा लता दिदीको स्वर विश्वभरिका संगीतप्रेमीहरूको स्वर बनेको छ।
लता दिदी गीत गाउने समयमा जुत्ताचप्पल फुकाल्ने गर्थिन्। गायन उनका लागि ईश्वरको पूजा जस्तै थियो। कोही उनको घरमा पुग्यो भने उसलाई आफ्ना मातापिताको तस्वीर अनि त्यो घरमा बनेको आफ्नो आराध्य देवको मन्दिर अवलोकन गराउने गर्थिन्। खाली यी तीन वस्तुलाई मात्रै उनले दुनियाँलाई देखाउनलायक सम्झेकी थिइन्। सोचेरै साँच्चै भन्ने हो भने, कति गहन दार्शनिक भाव हो यो...हुन पनि यी तीनबाहेक कुनै पनि चीज महत्वपूर्ण छैनन् यो संसारमा। आखिर आउने–जाने खाले सबै नाशवान् चीज मात्रै न हुन्।
लता दिदीको लगभग सत्तरी वर्षको यो गायन कालमा कति अद्भूत संयोग छ। करीव ३६ भाषामा हर रस/भावका ३० हजारभन्दा बढी गीत गाउने लता दिदीले आफ्नो पहिलो अनि अन्तिम हिन्दी फिल्मी गीतको रूपमा भगवान् भजन नै गाउनुभएको छ।
‘ज्योति कलश छल्के’ देखि ‘दाता सुनले’ सम्मको उनको गायन यात्राको सौन्दर्य यो नै हो कि लता दिदी न कहिल्यै आफ्नो कर्तव्यपथबाट डग्नुभयो न आफ्नो धर्मबाट नै।
उहाँले नेपाली केही गीत पनि गाउनुभएको छ। गीतकार मविवि शाहका दुई गीत ‘आकाशैका मिर्मिरे तारा’ हेमन्तकुमारको संगीतमा अनि चलचित्र ‘माइती घर’ को ‘जुन माटोमा मेरो’ जयदेवको संगीतमा गाउनुभएको थियो भने पछिल्लो चोटि आनन्द अधिकारीको शब्द ‘बाँचुञ्जेलीलाई’ शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालसँग युगल गीतको रूपमा गाउनुभएको थियो। यो महान् यात्रा पूर्ण भएकोमा हाम्रो हरकणकणले हजुरलाई प्रणाम गर्दैछ दिदी। सादर प्रणाम!
प्रकाशित: २ फाल्गुन २०७८ ०७:३३ सोमबार