२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तिमी त चैत्र जस्तै भएछौ

कविता

भिम राई (माक्पाली कान्छा)

 

खडेरी परेछ ज्यान

उराठिलो भएछ शरीर

विरसिलो देखियो

ती डाँडापाखाहरू

के भयो हौ दोस्ती नि?

तिमी त चैत्रजस्तै भएछौ

हिमालहरू लत्रिएछन्

मोती दाना चिम्सिएछ

स्याउ रङहरू

फुस्रो भएछ

के भयो हौ दोस्ती नि?

तिमी त चैत्र जस्तो भएछौ

चन्द्रमा जस्तो चम्किलो

उषाको किरण जस्तै मुलायम

वसन्तको आगमन जस्तै

प्रेमिल समयहरू

सबै छुटेछन् अतीतमा

के भयो हौ दोस्ती नि?

तिमी त चैत्र जस्तै भएछौ

बर्सादपछि खुलेको

आकाशजस्तो सुन्दर

खोलाको पानी

कलकलाए जस्ता आवाजहरू

चौतारीका शीतल

सुकोमल सामीप्य

खोई कता हराए?

के भयो हौ दोस्ती नि?

तिमी त चैत्र जस्तो भएछौ

म त सधैं

त्यही सोचिरहन्थे

त्यही खोजिरहन्थे

ऊ बेलाको मेलापात

त्यही बेलाको जुनेली रात

सँगै भरेको शनिबारे हाट

र  

मैले सुमसुमाएको त्यो हात

के भयो हौ दोस्ती नि?

तिमी चैत्र जस्तो भएछौ।

प्रकाशित: २ फाल्गुन २०७८ ०४:५१ सोमबार

अक्षर