२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी

मुक्तक (प्रणय दिवस विशेष)

नानु दाहाल

      १) मुक्तक

यौवन फूलाएर बसेकी छु छिट्टै आऊ तिमी,

तिम्रै मायाजालमा फसेकी छु छिट्टै आऊ तिमी।

जन्माउन ढिलो भयो बुद्ध, भक्ति र सीता,

ज्यान सुम्पने आँट कसेकी छु छिट्टै आऊ तिमी।

   २) मुक्तक

नहेर कर्के नजरले माया रोपिने रहेछ,

वशमै हुन्न रहेछ मन लाज छोपिने रहेछ।

मन्द मुस्कानसँगै प्यारले बोलायौ भने त,

दिलको शीलामा तिम्रै नाम खोपिने रहेछ।

    ३) मुक्तक

कति सुन्दर तिम्रो मुहार! हेरिरहूँ लाग्छ,

छमछम नाच्दै तिमीलाई नै घेरिरहूँ लाग्छ।

आँखा छली समाजको आऊ न सुस्तसुस्त,

चुम्बन गर्दै अँगालोमा बेरिरहूँ लाग्छ।

     ४) मुक्तक

मोहनी छ हाँसोभित्र हाँसिदेऊ न बिन्ती,

आतुर छु म छिटो प्रीत गाँसिदेऊ न बिन्ती।

थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी,

खाली छ दिल प्रेम कहानी टाँसिदेऊ न बिन्ती।

    ५) मुक्तक

मेरो प्रेमको पहिलो चिनो, दर्पण छ तिमीलाई,

निस्सन्देह चोखो जोवन अर्पण छ तिमीलाई।

नमाग न दाइजो प्रिय मन मिलिसकेपछि,

खाली सिउँदो, प्रेमिल मुटु समर्पण छ तिमीलाई।

प्रकाशित: २ फाल्गुन २०७८ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App