२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

झोलामा खानी र खोला बोकेर माफियाहरू बसेका छन्

मुक्तक

लक्ष्मण थापा 

    १) मुक्तक

ग्वालाले दुध बेचेको पैसाले रक्सी किन्छन्,

नौलै ठाउँमा गए पनि चोरले चोरलाई चिन्छन्।

यहाँ भर र विश्वास त कस्को छ र ए सरकार,

जस्लाई गोठालो राख्यो उसैले गाई बेचिदिन्छन्!

     २) मुक्तक

भैहाल्यो सीमान्त बालबालिकालाई पोषण दिनु पर्दैन,

रोक गरिवीको परिचयपत्रको वितरण दिनु पर्दैन।

कत्तिको साँचो आउँछ कि झुटो आउँछ सबैलाई थाहा छ,

भैहाल्यो मन्त्रीज्यू यहाँले सम्पत्ति विवरण दिनु पर्दैन।

        ३) मुक्तक

कतै ढुंगाहरू बर्सेका छन् कतै आँपहरू खसेका छन्,

घरबेटी विदेसिएपछि सुलसुलेहरू घर पसेका छन्।

उत्पादन, रोजगारी र विकासको त के कुरा गर्ने हजुर,

झोलामा खानी र खोला बोकेर माफियाहरू बसेका छन्।

       ४) मुक्तक

एक, दुई, तिन उही छन्, चार उही छ,

अचानो उही छ, पर्ने मार उही छ।

अपेक्षा नगरौं, केही होला भनेर,

तस्वीर बदलिन्छ तर सार उही छ।

     ५) मुक्तक

साँवा–ब्याज तिर्ला भनेर साहु कुरेर बसेको छ,

चुहिने छाना टाल्ला भनेर बाउ कुरेर बसेको छ।

पच्चिसौं तल्लाको शिशा पुछ्दै म सम्झिरहेछ,

फेरि रौनक फर्केला भनेर गाउँ कुरेर बसेको छ।

प्रकाशित: २४ माघ २०७८ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App