ढाकामोहन बराल
मानिसहरू यता र उता छ्न्। एउटा रेखा कोरिएको छ जसको माथि र तल बसेका छ्न् मानिसहरू। माथिभन्दा तल मानिसहरूको संख्या धेरै छ। शहर र गाउँ, पहाड र तराई, पूर्व र पश्चिम सबैतर्फ यसरी नै रेखा खिचिएका छन् र मानिसहरू बाँडिएका छ्न्।
उर्लापुर गाउँमा पनि मानिसहरू विभाजन गर्ने रेखा कोरिएको छ। नेपालका अन्य गाउँ र शहर जस्तै राकेशको यस गाउँमा पनि कहिलेबाट यो रेखा कोरियो थाहा भएन तर अन्य ठाउँमा जसरी यो रेखा मेट्न समयसमयमा यस गाउँमा पनि राकेस र उसका साथी कोसिस गरेका हुन्।
रेखाभन्दा माथिकाहरू यो रेखा अझ गाढा बनाउन चाहन्थे। त्यसकारण यो रेखालाई फिका बनाउँदै मेट्न रेखाभन्दा तल बसेकाको नै सहयोग लिनुपर्ने भएको हुनाले राकेशले रेखाभन्दा तलका मानिसहरूलाई गोलबन्द गर्न थाल्यो जसरी उसका साथीहरूले अन्य गाउँमा गरेका थिए।
कसरी काममा सफल हुने भन्ने चिन्तनमा नै राकेशहरू लाग्न थाले। यो रेखाको तल र माथि भएका मानिसहरूलाई हुँदा खाने र हुने खाने वर्गमा परिभाषित गर्न थालियो। वर्गीय हितका कुरा हुन थाल्यो। दासताबाट मुक्तिको कुरा हुन थाल्यो। बाँधिएका जन्जिर चुँडाउने कुराहरू हुन थाल्यो।
उर्लापुरको राकेश जस्तै हरेक गाउँका राकेशहरूमा आशाको ज्योति देख्न थाले रेखाभन्दा तल बसेका मानिसहरूले। राष्ट्रिय राजनीतिमा फेरबदल आयो। चुनाव हुने भयो। रेखाभन्दा तलका मानिसहरूले राकेशहरूमा भरोसा गर्न थाले र उर्लापुरको राकेश जस्तै थुप्रै राकेशले चुनाव जितेर गए तर आज थाहा नपाई उनीहरू रेखाको माथिल्लो भागमा सरेछ्न्। आज पनि उनीहरू वर्गीय हितको चिन्तनमा नै छन्।
खालि फरक छ, उनीहरू हिजो हुँदा खाने वर्गको हितको विषयमा सोच्थे। आज हुनेखाने वर्गको विषयमा सोच्दछन्। रेखा गाढा बनाउन कसिन्छन्, दासताको जाँतोले पिस्न आतुर गर्द्छन् र बाँधिएका साङ्लाहरू अझै कस्न तम्सिन्छ्न। त्यसैले रेखा अझ गाढा बन्दै गएको छ।
प्रकाशित: २० माघ २०७८ ०९:४२ बिहीबार