२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आत्मरक्षा

लघुकथा

सत्या अधिकारी

धिक्कार छ! हामी आमाहरूलाई, आफ्नो कोख रित्याउँदा पनि आजसम्म न्याय पाएका छैनौं। सहोदर बाउ, हजुरबाउ, काका, मामा मात्र हैन, देश बनाउने जिम्मा लिएकाहरूले समेत गिद्धे नजर गाडे हाम्रा छोरीहरूमा। आफ्नै आँखा अगाडि हाम्रा छोरी लुटिंदा र मारिंदा पनि हाम्रा आवाजको कुनै सुनुवाइ भएन। हे गिद्ध हो!

‘ऐले लुकेर हिँडे पनि उनीहरूको श्राप पक्कै लाग्नेछ तिमीहरूलाई।’ मनमनै श्राप दिएँ मैले।

आज मैले थाहा पाएदेखि लुटिएका र मारिएका सबै छोरीको माया यो छातीमा उर्लेर आयो।

एकसुरमा भान्छामा काम गर्दै थिएँ म, भरयाङमा कोही दौडेको आवाजले झस्किएँ। रहिछे मेरी छोरी।

उसको अनुहार पढें। खुसीको समाचार सुनाउन लाग्दै थिई ऊ।

भन्न थाली, ‘मामु, पार्वती  युवा क्लबले हामी केटीहरूका लागि आत्मरक्षाका तालिम दिंदै छ रे, जाऊँ?’

के खोज्छस् कानो, आँखा भनेझैं भयो मलाई र एकैवचनमा अनुमति दिंदै भने, ‘जाऊ छोरी, बलात्कारीलाई ठाउँको ठाँउ सिध्याऊ, आफ्नो सुरक्षा आफैं गर। अब मर्नु र लुटिनु हुँदैन तिमीहरू।’

हामी आमाछोरीका सबै कुरा सुनिरहेको मेरो कलेज पढ्ने छोराले के सोच्यो कुन्नि?

भन्दै थियो, ‘सबै छोराहरूलाई पनि यसैगरी नैतिकता र अनुशासनको तालिम दिए त हुने नि है मामु?’

प्रकाशित: १६ माघ २०७८ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App