२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

धार्मिक सहिष्णुताको प्रतीक पद्मसम्भव

डा. शेखरकुमार श्रेष्ठ

मानिसले जीवनमा धारण गर्ने आचार, विचार, व्यवहार आदिको समष्टि रूप धर्म हो। संसारमा रहेका प्राणीले प्रकृतिअनुसार धर्म निर्वाह गर्दछ। मानिस पनि विश्वको एक प्राणी हो। उसले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्छ। मानवको धर्म जीवन जगत्को हित गर्नु हो। धर्मको मर्म पनि सबैको कल्याण गर्नु हो। धर्मले मानवलगायत संसारको हित गर्नुपर्ने सार कुरा व्यक्त गरेको छ। संसारमा रहेका हरेक प्राणीमा देवत्वको अंश हुनेभएकाले परहितबाट नै हृदयको ईश्वर पहिचान हुने कुरा सबै धर्मले गरेको छ  अनि हरेक धर्मले त्यहाँसम्म पुग्न आफ्नै मार्ग बनाएका छन्। यिनै मार्गलाई हिन्दू, बौद्ध, जैन, किराँत, क्रिस्चियन जस्ता अलग धर्मका रूपमा चिनिन्छ।

धर्मले जीवन जगत्को कल्याण गर्छ। यसैका लागि धर्मले धार्मिक व्यक्तिहरू उत्पादन गरेको छ। धर्मले  संसारमा द्वन्द्व सिर्जना गरेर हिंसाको मार्ग बोक्दैन। द्वन्द्व सिर्जना गर्नु धर्मको आचरण पनि होइन। धर्मको आचरण र निष्ठा सबैको भलो गर्नुमा रहेको छ। यसका लागि कुभलो उत्पन्न गराउने र लोभबाट मानिसलाई अलग गराउने धर्मले प्रयास गरेको छ। धर्मको निष्ठा भनेको शरीर–आत्मा, मन–मस्तिष्क, ज्ञान–विज्ञान, मानिस–जीवजन्तु, मन्दिर–गुम्बा–मस्जिद–गिर्जाघर, मानिस–प्रकृति आदिको बिचमा संयोजन गर्नु रहेको छ।

धर्मले प्रतिशोध लिँदैन। यसले सबैसँग मिल्ने मार्ग तय गर्नुपर्छ। मानवको आस्था अनेक भए पनि विश्वास एकै, पैताला अलग भए पनि पुग्ने स्थान एकै धर्मले बनाएको छ। यसैलाई धार्मिक सहिष्णुता भनिन्छ। यही धार्मिक सहिष्णुताको भाव फैलाउने काम पद्मसम्भवले गरेका छन्। यिनले हिन्दू र बौद्ध धर्मावलम्बीलाई एउटै मन्दिर र मूर्तिमा आराधना गर्न सिकाएका छन्। यसैकारण यिनी हिन्दू र बौद्ध धर्मको सहिष्णु बढाउने योजक हुन्, सेतु हुन्।  

पद्मसम्भवको जन्म आठौं शताब्दी अर्थात् इस्वी ७१७ मा भएको हो। यिनको जन्म ओडियान, धनाकोष सगर अर्थात् वर्तमान पाकिस्तानको स्वात पद्मसम्भव उद्यानमा भएको हो। कमलबाट उत्पन्न भएकाले यिनको नाम पद्मसम्भव रहेको हो। यिनलाई बौद्ध धर्मावलम्बीहरू तान्त्रिक र योगाचार पथका सदस्य मान्दछन्। सुरुमा यिनी नालन्दा बौद्ध धर्मको अध्ययन केन्द्रमा पढाउँथे। पद्मसम्भवलाई बौद्ध आचार्यहरू गुरु रिन्पुछेका रूपमा चिन्दछन्। रिन्पुछेको अर्थ बहुमूल्य हो। त्यसैले बौद्धमार्गीहरू पद्मसम्भवलाई महागुरुका रूपमा लिन्छन्।  

यिनलाई पौराणिक पूर्वीय बज्रयान सम्प्रदायको रहस्यवादी आचार्य भनिन्छ। यिनले बौद्ध धर्मको चार सम्प्रदाय (महायान, हीनयान, वज्रयान र लामावाद) मध्ये वज्रयान सम्प्रदायको संस्थापन गरे। यिनले भारत, भुटान, तिब्बत र नेपालमा वज्रयान धर्मको प्रचारप्रसार गरेका थिए। यिनले नै तिब्बतमा तान्त्रिक बौद्ध सुरुआत गरी वज्रयान बौद्ध धर्मको स्थापना गरे। यिनले नै तिब्बतमा पहिलो बौद्ध मठ मन्दिर बनाएको मानिन्छ।  

पौराणिक मान्यताअनुसार पद्मसम्भवको जन्म प्रसंग अनौठो छ। जसअनुसार भारतको पश्चिममा ओडियान नाम गरेको एक स्थान थियो। त्यहाँ इन्द्रभूति नाम गरेका राजा थिए। उनका धेरै रानी थिए तर सन्तान थिएनन्। उनले सन्तान प्राप्तिका लागि महादान गरे। याचकहरूको इच्छा पूरा गर्न उनले स्वर्णदीपमा रहेका नागकन्याबाट चिन्तामणि रत्न प्राप्त गर्न चाहे। यसका लागि उनले महासमुद्र यात्रा प्रारम्भ गरे। यात्राबाट फर्केपछि उनले स्वर्णदीपको कमलमा आठ वर्षीय बालक देखे। उनले ती बालकलाई ल्याएर राज्याभिषेक गराए। उनले ती राजपुत्रको नाम सरोरुहवज्र राखे। ती सरोरुहवज्रलाई राज्य सञ्चालन गर्न मन लागेन। त्यसपछि उनले त्रिशूल र खड्ग हातमा धारण गरी अस्थिहरूको माला धारण गरेर शरीरमा कुनै पनि वस्त्र नलगाई व्रताचरण गरे।

 नृत्य गर्ने समयमा उनको खड्गले लागी एक मन्त्री पुत्रको निधन भयो। त्यसैको दण्डस्वरूप उनलाई देशनिकाला गरियो। त्यसपछि सरोरुहवज्र ओडियनको दक्षिणमा रहेको शीतवन नामको मसानघाटमा बस्न थाले। त्यहाँ डाकिनीहरू थिए। तिनले लोकलाई भयानक दुःख दिन्थे। त्यहाँ बस्दा उनले मन्त्रबल प्रयोग गरी ती डाकिनीहरूलाई आफ्नो वशमा लिए। त्यसपछि यिनको नाम शान्तरक्षित रह्यो। त्यहाँबाट सरोरुहवज्र जाहोर प्रदेशको आनन्दवन नामक मसानघाट गए। त्यहाँ मारजित नामका प्रसिद्ध डाकिनी थिए। मारजित सरोरुहवज्रको विशिष्ट चर्याबाट प्रभावित बने। मारजितले सरोरुहवज्रलाई अभिषेकबाट अधिष्ठित गराए। त्यसपछि सरोरुहवज्र आफू उत्पन्न भएको पद्मामा पुगे। त्यहाँ उनले डाकिनी मारजितले बताएअनुसार गृह्यातन्त्रको साधना गरी बज्रवाराहीको दर्शन गरे। त्यसै ठाउँमा रहेर उनले तन्त्रका माध्यमबाट सामुद्रिक डाकिनीलाई वशमा राखे र आकाशको ग्रहमा अधिकार जमाए। यो अधिकार प्राप्त गरेपछि उनी रौद्रविक्रम नामले प्रसिद्ध भए।

ग्रहमा अधिकार जमाएपछि सरोरुहवज्रलाई भारतीय आचार्यसँग बौद्ध र बौद्धत्तर शास्त्रको अध्ययन गर्ने रुचि जाग्या। यसका लागि उनी जाहोर प्रदेश पुगे । त्यहाँ उनले शाक्यमुनिका भक्तलाई साथ लिई आचार्य प्रहित भेट्न पुगे। उनले आचार्य प्रहितबाट प्रबज्य्रा लिए। त्यसपछि उनको नाम शाक्यसिङ्गे रह्यो। त्यसपछि सरोरुहवज्र मलय पर्वततिर लागे। त्यहाँ आचार्य मञ्जुश्री थिए। मञ्जुश्रीले उनलाई भिक्षुणी आनन्दी भएको स्थानमा लगे। भिक्षुणी आनन्दीले सरोरुहवज्रलाई अनेक किसिमले अभिषेक गराए। भिक्षुणीबाट उनले आयुर्विद्या र महामुद्राको ज्ञान प्राप्त गरे। त्यहाँ रहँदा उनले अन्य आचार्यबाट प्रव्रकिलविधि, पद्यवाग्विधि, शान्त, क्रोध, माया, धर्म र उग्र मन्त्रको श्रवण गरे।

सरोरुहवज्र मलय पर्वतबाट जहोर प्रदेश पुगे। उनले त्यहाँ राजकुमारीलाई वशमा लिई पोतलक पर्वत गए। त्यस पर्वतको गुफामा अपरिमितायु मण्डल बस्थे। सरोरुहवज्रले अपरिमितायुको दर्शन गरी आयु साधना गरे। तीन महिनाको साधनापछि सरोरुहवज्रले अनन्तर वैरोचन अमितायु बुद्धको साक्षात् दर्शन पाए। यस दर्शनपछि सरोरुहवज्र जाहोर र ओडियानको लोकमा प्रतिष्ठित भए। त्यसपछि उनले अनेक तैर्थिकलाई शास्त्रार्थमा जिते।

ईसाको आठौं शताब्दीमा तिब्बतमा स्रङचङ गम्पो (राजा ठ्रिसोङ देहु चेन)को शासन थियो। उनी तिब्बतको तेत्तिसौं राजा थिए। त्यस समय तिब्बतमा बोन्पो धर्म प्रचलित थियो। स्रङचङ गम्पोले आफूलाई बौद्धमार्गीका रूपमा चिनाउन नेपाली चेली भृकुटीसँग विवाह गरेका थिए। भृकुटीले बौद्ध धर्मको प्रचार तिब्बतमा गरेकी थिइन्। भृकुटीबाट प्रभावित स्रङचङ गम्पोले बौद्ध धर्मको रक्षा र प्रचार प्रसार गर्न पद्मसम्भवलाई ७४७ मा तिब्बतमा बोलाए। त्यस समय उनी नेपालको फर्पिङ र रसुवाको बाटो हुँदै तिब्बत प्रवेश गरे । त्यस समय तिब्बतमा सैतानहरूले दुःख दिएका थिए। तिनीहरूले त्यहाँ गुम्बा निर्माणमा बाधा उत्पन्न गराएका थिए। उनीहरूको सैतानी कार्यले बौद्ध मठ भत्कने गर्दथ्यो।

जब सरोरुहवज्र तिब्बत पुगे तब उनले आफ्ना तन्त्रमन्त्रको साधनाबाट ती सैतानलाई नियन्त्रणमा लिए। त्यहाँ उनले बौद्ध मठ निर्माण कार्य नसकेसम्म अर्थात् ७४९ सम्म रहेर रेखदेख गरे। यसरी उनले बौद्ध धर्ममा तन्त्रमन्त्रको प्रयोग गरे। तिब्बतमा त्यस समय पन्थी शिक्षा थियो। यिनले सबैलाई नियन्त्रणमा लिएपछि त्यो पन्थी शिक्षाका पाठ्यसामग्री खाडल खनी गाडिदिएका थिए। त्यो सामग्री ११२५ बाट भेटिन थालेको छ। यसैका कारण यिनीबाट प्रसारित धर्म बौद्धधर्ममा एउटा शाखाको रूपमा चिनियो। त्यही शाखा वज्रयान बौद्ध धर्म बन्यो। यिनले त्यसपछि संस्कृत भाषामा रहेको तन्त्रविद्यालाई तिब्बती भाषामा अनुवाद गरे। उनले हिन्दू धर्मको तन्त्रमन्त्र विद्या अनुवाद गरी बौद्ध धर्मका अनुयायीहरूलाई प्रयोग गर्न लगाए। यसैका कारण यिनमा हिन्दू तथा बौद्ध धर्मको मिश्रण छ। यही मिश्रणबाट वज्रयान सम्प्रदायको सुरु भएको हो। त्यसैले अहिले वज्रयान सम्प्रदायका बौद्ध धर्मावलम्बीहरू पाठपूजामा तन्त्रमन्त्रको प्रयोग गर्छन्। नेपालका शाक्य र वज्राचार्यलाई यस सम्प्रदायको मूल अनुयायी भनिन्छ।

पद्मसम्भवलाई उनको कामअनुसार आठ नामले चिनिन्छ। उनका आठ नाम गुरु छोकेदोर्जे, गुरु शाक्यसिँगे, गुरु लोदेनछोग सेद, गुरु पद्मसम्भव, गुरु पद्मग्लापो, गुरु ङिमाहोद् सेर, गुरु सेङ्गेडाडोग र गुरु दोर्जेडोलोद हो। यिनलाई पद्मसम्भवको आठ लक्षण पनि भनिन्छ। तिब्बत तथा हिमाली भेगमा बस्ने बुद्धका अनुयायीहरूले पद्मसम्भवलाई निर्माण कार्यको प्रतिरूप मान्दछन्। त्यसैले अहिले पनि उनको जन्मतिथिअनुसार प्रत्येक महिनाको दशमीमा छेचुपूजा हुन्छ। यसका साथै अहिले ठुला गुम्बाहरूमा वर्षको एकपटक छेनग्याद् गरिन्छ। यसमा यिनै आठ प्रकारका बुद्धको रूप धारण गरी नृत्य गर्ने प्रचलन छ।

वज्रयान सम्प्रदाय अहिले विश्वको धेरै स्थानमा फैलिएको छ। तिब्बतमा त उनको शिष्य परम्परा कायम नै छ। विश्वमा अहिले अवलोकितेश्वर ‘ॐ मणि पद्मे हुँ’ भन्ने बीज मन्त्रपछि ‘ॐ आः हूँ वज्रगुरु पद्म सिद्धि हूँ’ मन्त्रको जप सर्वाधिक बौद्ध धर्मावलम्बीले गर्दछन्। शाक्य बुद्ध र बौद्ध दार्शनिकहरू पूजाको विरोध गर्दछन् भने वज्रयान सम्प्रदाय पूजाआजा गर्दछन्। बुद्धको मूर्तिको पूजा गर्नु, हिन्दूहरूले पूजा गर्ने मन्दिरमा बौद्ध धर्मावलम्बी पुगेर हिन्दुसँगै बसी पाठपूजा गर्नु वज्रयान सम्प्रदायको धार्मिक सहिष्णुता पद्धति हो । यसै कारणले हिन्दू र बौद्ध दुवै धर्मावलम्बी सँगसँगै रहेका छन्। यी सबै कुराको जस गुरु पद्मसम्भवलाई जान्छ।

पद्मसम्भव बुद्धधर्मका अभियन्ता र भिक्षु थिए। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित मराङको घरगुम्बामा नेपालकै पुरानो गुम्बा हो। यो गुम्बा आठौं शताब्दीमा पद्मसम्भवले निर्माण गरेर छाडेका हुन्। यो गुम्बा ढुङ्गा र माटोले बनेको छ। यस गुम्बामा पद्मसम्भवको ठुलो मूर्ति छ। यहाँ निङ्पा लामाहरूले दैनिक पूजाआजा गर्छन्। उनले आफ्नो जीवनमा बुद्ध धर्मका पाँच ओटा मूर्ति स्थापना गरेका थिए। यीमध्ये नेपालमा दुई ओटा छन्। सोलु दुधकुण्ड नगरपालिका–२ को जुनबेसीको टासी थोङ्मोन गुम्बामा र मुस्ताङको घरपझोङ गाउँपालिकामा वडा नं ५ ढुम्बाको कुछाप तेरङ गुम्बामा रहेको मूर्ति यिनले स्थापना गरेका हुन्।

गुम्बा निर्माणको इतिहास हेर्दा तिब्बतमा सबैभन्दा पुरानो गुम्बा छ। यहाँ रहेको गुम्बाको नाम सम्य गुम्बा होदतर यो गुम्बा बन्नुअगाडि नै मराङको गुम्बा बनेको मानिन्छ। तिब्बतको साम्य गुम्बा स्रङचङ गम्पोको पालामा बनेको हो। सम्य गुम्बा निर्माण गर्दा बुद्धधर्मका विरोधीले गुम्बा निर्माणमा बाधा पुर्‍याएका थिए। त्यसरी अवरोध पु¥याउनेलाई त्यसबेला राक्षस वा सैतान भनियो। तिनै राक्षसी शक्तिको अवरोध र दुःख हटाउन स्रङचङ गम्पोले पद्मसम्भवलाई तिब्बत लगेका थिए। पद्म्सम्भव तिब्बत गएपछि उनले बौद्ध धर्मको विरोधीहरूलाई भेटे। ती विरोधीहरूलाई पद्मसम्भवले खेदेर जोमसोम ल्याए। धौलागिरि बेस क्याम्प नजिकै थासाङ–२ स्थित कोवाङमा साङ्वो गुफा छ। यस गुफामा राक्षससँग लड्दा घाइते हुनेलाई उपचार गरिन्थ्यो। त्यसैले यो गुफा पनि पद्मसम्भवसँग जोडिएको छ। राक्षसलाई लखेट्ने क्रममा लुप्रापान्डा खोलाका वारिपारि दुई पहाड जोडेर पद्मसम्भवले घेरा हाल्न खोजेको तर राक्षसहरू त्यहाँबाट भाग्न सफल भएको बताइन्छ। लुप्राडाँडा पनि पद्मसम्भवसँग नै सम्बन्धित छ। यहाँ पद्मसम्भवको टाउकाको छाप छ। उनले राक्षस लखेट्ने क्रममा मुक्तिक्षेत्रको बारागुङमा पुगी नुन झिके। त्यसैले त्यहाँ नुन खानी छ भनिएको छ। त्यहाँ राक्षसहरू उकालो लागेपछि पद्मसम्भवले त्यहींको चुङ्सी गुफामा तपस्या गरे। त्यस गुफामा पनि उनको खजाना र पाइलाको डोब छ। यसरी पद्मसम्भवले दुई राक्षसलाई लखेट्दै जाने क्रममा दामोदर कुण्डको घमी खोलाको पारि पुगेपछि समाते। त्यहाँ उनले राक्षसको आन्द्रा झिकेर फाले। त्यहाँ उनले राक्षसहरूलाई छोर्तेन बनाएर छाडे। त्यसपछि ढाकरमा पुग्दा उनले कलेजो र रगत झिकेर भित्तामा फाले। यसै कारण त्यहाँको भित्तामा रातो लागेको देखिने किंवदन्ती छ।

त्यसैगरी पद्मसम्भवले राक्षसलाई मराङमा पुग्दा मुटु निकालेर नियन्त्रणमा लिए। यही मुटु झिकिएको ठाउँमा नै राक्षस मर्‍यो। यस ठाउँमा पछिसम्म बाधा नआओस् भनी पद्मसम्भवले गुम्बा बनाउन लगाए। यो गुम्बा बनेपछि मात्र तिब्बतमा गुम्बा बनेको मानिन्छ। त्यसैले मराङको गुम्बालाई पहिलो गुम्बा भनिन्छ। नेपालका विभिन्न स्थान पद्मसम्भवसँग जोडिएका छन्। पद्मसम्भवको नाम दक्षिणकाली नगरपालिकाको शेषनारायण र असुर गुफासँग पनि जोडिएको छ। शेषनारायणको गुफामा पद्सम्भवले तपस्या गरेका थिए। त्यस गुफामा दुई हातले समाउने र शिर अड्याउने निशान अहिले पनि छ। त्यहीं नजिकै वज्र र शङ्ख पनि रहेको छ। त्यसै स्थानबाट असुरा गुफामा निस्कने सुरुङ मार्ग पनि छ। यो सुरुङ अहिले टालेर सानो दुलो मात्र राखिएको छ। त्यसैगरी फर्पिङको असुर गुफामा पनि उनले तपस्या गरेका थिए। त्यस स्थानमा उनको हर्थुङ्गाको निशान छ। यस स्थानमा तपस्या गर्दा एउटा नागले तपस्यामा बाधा पारेको थियो। त्यस नागको बाधा हटाउन उनले वज्रकिला प्रहार गरेका थिए। त्यो वज्र किला अहिले पनि फर्पिङमा छ। अहिले फर्पिङमा रहेको वज्रयोगिनीको मन्दिर पनि यिनीसँग नै सम्बन्धित छ। यसको स्थापना पनि यिनैबाट भएको हो। त्यसैगरी काठमाडौं उपत्यकामा दुष्ट आत्माको प्रभावले हरेक दिन एक बालक हराउने गरेको थियो। यस स्थितिबाट उपत्यकावासीलाई मुक्ति दिन पद्मसम्भवले तान्त्रिक विधिको प्रयोग गरी दुष्ट आत्मालाई पराजय गरी वशीकरण गरेका थिए।

काभ्रे जिल्लाको तेमालको यारिनाग गुफा पनि यिनकै नामसँग जोडिएको छ। यहाँको गुफामा तपस्या गर्दा उनले यहाँका बासिन्दालाई दुःखकष्ट दिने कालो यक्षलाई दमन गरे। आफ्नो शत्रु नाश भएपछि यहाँका बासिन्दाले बौद्धधर्म स्वीकार गरी जयजयकार गरे। यहाँ पद्मसम्भवले बुद्धचित्त माला फल्ने वरदान दिनुभयो। त्यसैले यहाँ बुद्धचित्त माला पाइन्छ। यस ठाउँमा पद्मसम्भवले प्रयोग गरी छाडेका घण्टी, ढयाङ्ग्रो, बज्र, शङ्ख, किताब र गुरुको दाहिने गोडाको जुत्ताको छाप अझै देखिन्छ।

यसरी यात्रा गर्ने क्रममा जहाँजहाँ यिनले योग साधनाले तपस्या गरे त्यहाँ त्यहाँका गुफाहरूमा विभिन्न निधिहरू सञ्चित गर्नुभएको किंवदन्ती छ। खोटाङको हलेसी महादेवको गुफासँग पनि पद्मसम्भवको नाम जोडिएको छ। हलेसीको महादेव गुफामा यिनले तपस्या गरी अभितायुष बुद्धको साक्षात् दर्शन गरेका थिए। उनले त्यहाँ नकारात्मक ऊर्जा भएका यक्षहरूलाई पराजित गरेको किंवदन्ती छ। त्यसै गरी दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) सङ्खुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङसँग पनि पद्मसम्भवको नाम जोडिएको छ। यसरी पद्मसम्भवले जुनजुन ठाउँमा बसे त्यसत्यस ठाउँमा तन्त्रविद्याबाट उनले केही न केही छाड्नुभएको छ। त्यसैले बौद्ध धर्मावलम्बी अझ वज्रयान सम्प्रदाय पद्मसम्भवले तपस्या गरेको गुफालाई पवित्रस्थल मानी धार्मिक भ्रमण गर्न रुचाउँछन्।

पद्मसम्भव पाकिस्तानबाट भारत र नेपाल हुँदै तिब्बत जाँदा आफ्नो रक्षा गर्न महाङ्काललाई पनि साथै ल्याएका थिए। तिब्बतसम्म महाङ्कालसँगै थिए। पद्मसम्भव फर्कँदा महाङ्काललाई तिब्बतमा नै छाडिदिनुभयो। छाडिएको केही समयपछि महाङ्कालले जसका निम्ति आएको ऊ नै नभएपछि किन बस्नु भन्दै आकाशमार्गबाट उडी फर्कँदै थिए। त्यस समयमा काठमाडौंका एक तान्त्रिकले आकाशमा केही कुरा उडी आएको देखे। उनले त्यसलाई तन्त्रविद्याले तल झारी बाँधेर राखे। त्यस समय महाङ्कालसँग भूतप्रेत पनि सँगसँगै आएका थिए। तिनले काठमाडौंमा उपद्रव मच्चाए। यसरी उधुम मच्चाएको तान्त्रिकले थाहा पाएपछि महाङ्काल रिसाएको थाहा पाए। त्यसपछि तान्त्रिकले तीन महिना लगाई मिठो रक्सी बनाएर महाङ्काललाई खुवाएर शान्त बनाए। त्यसै समय ल्हासाबाट बौद्धगुरुहरू पनि महाङ्काललाई खोज्दै आए। तिनीहरूले महाङ्काललाई काठमाडौंमा भेटी पूजाआजा गरे। बौद्ध गुरुहरूले महाङ्काललाई अब यहाँबाट टाढा जाँदा हामी आउन सक्दैनौं तपाई यहीं बस्नुस् भने। यसै सिलसिलामा बौद्ध गुरुहरूले वर्षको एकपटक ल्हासाबाट पूजा ल्याउने सर्त पनि राखे। त्यसै सर्तअनुसार हाल पनि वर्षको एकपटक ल्हासाबाट पूजा ल्याउने र महाङ्कालको पात्रमा रक्सी चढाउने चलन छ।

वर्तमान समयमा हेलम्बुमा पद्मसम्भवको विश्वकै अग्लो मूर्ति बनाउन लागिएको छ भने दक्षिणकाली नगरपालिका–५, डोल्लुमा पद्मसम्भवको विश्वकै ठुलो मूर्ति बनेको छ। अहिले नेपालमा मात्र नभई विश्वमा नै पद्मसम्भवको मूर्ति बन्दै छ। यो नै वर्तमान मानवको उनीप्रति रहेको सम्मान हो। अहिले विश्वकै बौद्ध धर्मावलम्बीहरू दोस्रो बुद्धको रूपमा लिएका छन्। यो पनि उनीप्रति गरिएको सम्मान हो। 

प्रकाशित: १६ माघ २०७८ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App