टंकबहादुर आले मगर
सर्पले खेद्दै ल्याको भ्यागुतो कुवामा फुत्त हामफाल्यो। भोको सर्पले पनि हामफाल्यो। कुवाको गहिरो पानीमा पुगेपछि थाहा भयो सर्पलाई, भ्यागुताहरू ऊभन्दा कति शक्तिमान् रहेछन्।
कति प्रयास गर्दा पनि कुवा बाहिर निस्कन नसकेपछि सर्पले सोच्यो, अब भ्यागुतो नगुहारी अन्य विकल्प छैन र डराएर भित्तामा टाँसिएर बसेका भ्यागुताहरूलाई डाक्यो तर भ्यागुताहरू डराएर परै बसे।
फेरि सर्पले भन्यो, ‘म केही गर्दिनँ बरु तपाईंहरूसँग सामूहिक मीत लिएर भ्यागुतो प्रजातिलाई नखाने पस्टन खानु चाहन्छु।’
‘साँच्चै हो सर्प महाराज।’ सर्पको मुखबाट बच्न सफल भ्यागुताले डराउँदै सोध्यो।
‘मीत लाएपछि सबै भ्यागुतो मेरा मीत पर्छन् अनि मीतलाई खानु त के नराम्रो सोच्दा मात्रै महापाप लाग्छ।’
बुढो भ्यागुताले सर्पको विश्वास नगर भन्दाभन्दै सर्पसँग सामूहिक मीत लगाए। त्यो रात सर्प र भ्यागुताहरूसँगै बसेर रमाउँदै रात काटे।
बिरबिर उज्यालोको धर्तीमा आगमन हुनेबित्तिकै सर्पले भन्यो, ‘मीतज्यू हो! तपाईंहरूकी मितिनी रुँदै होली। अब मलाई कुवाबाट बाहिर निकाल्ने प्रयास गरिदिनुस्।’
सबै भ्यागुताले सल्लाह गरे र एक अर्कामाथि चढेर लिस्नु बने अनि तिनै मीत भ्यागुतालाई टेकेर सर्प बाहिरियो।
भ्यागुताको मुखिया मीतलाई ‘मेरो देश हेर्न जाऊँ’ भन्दै डाक्यो सर्पले।
कुरभित्र बसेको बुढो भ्यागुताले फेरि टर्टराउँदै भन्यो, ‘सर्पको विश्वास नगर। नजा मुखिया नाति।’
तर मुखियाले बुढो बाजेको कुरालाई ह्याका नगरी कुवाबाट फुत्त निस्केर सर्प मीतको पछि लाग्यो।
अलिक पर पुगेपछि सर्पले भ्यागुतो मीतलाई अघि लगायो।
भ्यागुतो अगाडि पर्नेबित्तिकै क्वाप्प टोकेर भन्यो, ‘धेरै दिनको भोक आज मेटिने भयो।’
‘मीतज्यू, आयाआया मरें’ भन्दै भ्यागुतो करायो।
सर्पले निल्दै गुनगुनायो, ‘मीत न सीत, भेटेपछि घिच।’
साँझसम्म मुखिया नआएपछि भ्यागुताहरू डराए।
भोलिपल्ट एकजुवा घाम आउँदा कुवाको डीलमा आएर सर्पले ‘नमस्ते, फ्याफुल्ला, झोर्ले, सेमी पाउ, जेडऊ, हौवा, सेवारो, टासिदेवा, गोड लगैछी आदि केके भन्दै टाउको ठड्याएर ढोक्यो। सबै भ्यागुतो मक्ख परे र सोधे, ‘हाम्रो मुखिया कता हराउनुभयो ?’
‘मीतज्यू, हाम्रो मीत मनितोमा प्रफुल्ल हुनुहुन्छ अनि मितिनी साहेबलाई सम्झिबक्सेको छ।’
मनितोको शब्दले सबै भ्यागुताका मुख रसाए।
सबैलाई पालैले मेरो देश घुमाउने छु भन्ने मीत सर्पको गुलियो वचनले झनै हर्षित बने।
बुढो भ्यागुताले फेरि करायो, ‘सर्पको महाचाल हो’ भन्दै तर केही नसुनी फुत्त कुवाबाट बाहिरेर सर्पको पछिपछि उफ्रिन्दै हिँडी भ्यागुती।
कराउँदा नसुन्ने ठाउँमा पुगेपछि मुखियालाई झैं मुखिनी मितिनी भ्यागुतीलाई पनि क्वाप्प टोक्यो।
दोजियाकी मितिनी भ्यागुती कराइरही।
‘मितिनीलाई छुन हुँदैन, खानुहुन्छ’ भन्दै रमाउँदै सर्पले बिस्तारै निलिरह्यो।
यसरी विविध प्रलोभनमा पारेर कुवाका सोझा निमुखा भ्यागुताहरू खाएर सर्प मोटो र चिल्लो बन्यो।
एकदिन एक्लै बचेको बुढो भ्यागुतालाई पनि खाने विचारले कुवाको छेउमा गएर सर्पले ‘ढोक गरें है मीत बाजे।’ भन्दै टाउको निहुर्यायो।
‘धन्य, बाबुको सधैं जय जय होस्।’ भन्दै दुःख र परिवार समाप्तिको पीडाले थिल्थिलिएको बुढो भ्यागतो, मनलाई थुमथुम्याउँदै कुरबाट बाहिर निस्कियो।
मीत बाजे, हजुरलाई हजुरका परिवारले बोलाइसेको छ। जाऊँ आउनुस्।’ सर्पले सिकारी शब्द बल्छीलाई फेरि हान्यो।
‘के भन्नु भो मीत सर्प बाबु।’ अलिक कान नसुन्ने बुढो भ्यागुताले फेरि सोध्यो।
सर्पले ठूलो स्वरले त्यही आफन्तले डाकेको कुरो दोहोर्यायो।
बुढो भ्यागुतो थरथरायो, ‘म उफ्रन सक्दिन। अलिक तल आएर मेरो हातलाई समातेर तान्नोस्न बाबु।’
‘हुन्छ’ भन्दै सर्पले आधा जीउ झारेर बुढो भ्यागुताको हात टोक्नेसाथ बुढो भ्यागुतो तीरझैं हाँकिएर कुवाको गहिराइमा पुग्यो।
भ्यागुताको झट्काले सर्प चिप्लेर कुवामा खस्यो। पानीमा आत्तिएपछि सर्पको मुखबाट भ्यागुताको हात पनि फुत्कियो।
बिजुलीझैं बुढो भ्यागुतो कुवा बाहिर निस्केर डीलमा बस्दै भन्यो ‘मेरो यो कुवाको सन्तानहरू त तुरिस्। अब यही कुवामा मर, थुक्क अगति सर्प’ भन्दै अर्काे दहमा फुत्त हामफाल्यो।
प्रकाशित: १५ माघ २०७८ १०:४२ शनिबार