२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बधाई छ सरकार!

कविता

शेखर अर्याल

श्रद्धाञ्जली बिचको बधाई

बधाई बिचको श्रद्धाञ्जली  

हँसिला तस्वीरहरू

सामाजिक सञ्जालमा

महामारीले चपाएको छ

सडकसडकमा श्रद्धाञ्जली छ

तर पनि सरकारलाई बधाई छ!

चम्किला अनुहारहरू

हाँस्दै हँसाउँदै

अभावै अभावमा

अभाव छैन भन्छ यहाँ

जनता ज्यानको सुरक्षा माग्दै

हँसिलो मुहारमा

निराशका धर्का कोर्दै छन्

मेरो प्यारो नेतृत्व भने

महामारीमा कमिसन खोज्छ

यो कस्तो विवेकहीन

हँसाउन–गलाउन

अनि मूर्ख बनाउन सक्ने

गल्ली–गल्लीमा श्रद्धाञ्जली छ

तर पनि सरकारलाई बधाई छ!

कोभिड व्यवस्थापन संकट केन्द्र

सिसिएमसीको विज्ञप्तिमा

भीमेश्वरको पसिना झर्छ

त्यही हँसिलो नेतृत्वमा

गरीबी प्राण त्याग्दै

समवेदनाको साथमा

हजारौं आवासमा श्रद्धाञ्जली छ

तर पनि सरकारलाई  बधाई छ!

संरक्षक भन्छन्–  

अभाव छैन बेडको

स्वास्थ्य फाल्छ सास

ज्यानको जिम्मा छैन

डब्लुएचओ भन्छ

अवस्था चिन्ताजनक छ

महामारीको चपेटाले

हाम्रो अवस्था

अन्डर कन्ट्रोलमै छ  

त्यसैले यहाँ श्रद्धाञ्जली छ

तर पनि सरकारलाई बधाई छ!

लामो झरीपछिको घाम

अलिक रापिएको

डाँडापाखा चरेको चौंरी

हाम्रै नायक भएछ

समथर चरेको काग

काठमाडौंमा तर मार्दै गर्दा

चारै दिशा श्रद्धाञ्जली छ

तर पनि सरकारलाई बधाई छ!

प्रकाशित: १० माघ २०७८ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App