डा. विदुर चालिसे
–हामी लडिरहेका छौं, लड्छौं !
धतुरोको धुवाँ उडिरहेको थियो। लम्पट स्वार्थीहरू घुरिरहेका थिए । बहादुरीले निस्सासिएर सडक छाप केटाहरूको दिमाग चक्कराइरहेको थियो। सन्तापले यसै पिल्सिएको घामड सडक छापले भन्यो,
–भयो, बहादुरीको डिङ नहाँक!
उसको जीवनको हैरानी जवाफ लालबुझक्कडहरूलाई थियो। उसले फेरि अन्कनाएर सोध्यो।
–तिमीहरू सधैं लडिरहेका छौ, लड्छौ?
लड्नुको अन्तर्य धर्म उल्टोपाल्टो थियो। सायद यसै धतुरोको धुँवा उडाइरहेकाहरू लडिरहेका थिए। एक अपरम्पार मनको धोकोसँग जुधिरहेका थिए। तर, सबै सडक छापहरूको प्रश्न थियो।
–नाक भाँचिएको हो या नाक ठडिएको !
जब धतुरोको धुवाँले मौसम परिवर्तन गर्न थाल्दथ्यो तब छेउछाउका बस्तीहरू पनि दुषित हुन्थे। लड्नुको मजा त्यहाँ थियो जहाँ लडिरहनेहरूको तमासा देखिन्थ्यो।
–लडिरहनु किन?
–शक्ति नपुगेर!
–लडाइरहनुचाहिँ किन त?
–शक्ति बढी भएर!
म पनि मतलबी मानिसहरूबाट सुन्थें। उनीहरूको बहस सुरुसुरुमा निकै जोसिलो लाग्दथ्यो। अचेल उनीहरूको मुखबाट यो ‘लड’ भन्ने शब्द सुन्यो कि घृणा लागेर आउँछ। छेउमा जान्छु। सुन्छु। मनमनै दिक्क हुन्छु। लालसलाम गर्छु। पाक्छु,बोल्दै नबोली दुत्कार्छु। लामो असन्तोषको निश्वासले एकचोटि टाउको टेबुलमा ठोक्छु। फेरि त्यस्तै धतुरोको धुवाँले घेर्न थाल्छ। आजीत भएर चिच्याउँछु,
–लडिरहेको छु, लड्छु !
–तल परेर कि माथि परेर?
यस्तो कर्कसा स्वर सुनेपछि नेपथ्यमा समेत सन्नाटा छाउँछ।
एकाएक धतुरे र सडक छापहरूजस्तै म पनि पुर्लुक्क एकदिन ढल्छु। हामीलाई देख्ने, बुझ्ने र सुन्नेहरूले ढाडस दिंदै भने,
–यो अन्तिम युद्ध हो! उठ, जाग!
प्रसवपीडाले आक्रान्त स्त्री दैलोमा तेर्साे परेर रुवाबासी गर्दै थिइन्। उनमा न होस थियो न शक्तिको माद। मात्रै छुटकाराका लागि वाक्क्क गरिन्!
–कचकच !
प्रकाशित: ६ माघ २०७८ ०८:२४ बिहीबार