उदय निरौला
आकाश ओढ्नु
धर्ती बिछ्याउनु
चिमे झुपडी सदियौंदेखि नतुनिनु
चर्केको मन नटालिनु
राज्यको दायित्व जस्तो
बिर्खबहादुर निदार हेर्छ पानीको ऐनामा
उसलाई अरू बढी डर छ
सिसाको ऐनामा
झर्याम्म माटो फुटेपछिको – परदेशी बन्ने भय
त्यसैले ऊ पानीको ऐना हेर्छ
र नटालिने चिमे झोपडीलाई
तक्दिर मानेर लुसुक्क भित्र छिर्छ
उसकी जीवनसाथी संगिना लामै समयदेखि
हेर्दै आएकी छ धेरै बिर्खबहादुरहरूको
र आफ्नो खसमको यो दिनचर्या।
अनि सुनेकी छ चुनावी कथा र
दिएकी छ छिमेकी कामरेड लालुलाई आफ्नो मत
अर्थात् भोट।
प्रकाशित: २९ पुस २०७८ ०७:५० बिहीबार