आर. आर. चौलागाईं
यहाँहरूले दुःख नदिएको भए
म यत्तिको बलियो हुँदैनथेँ।
यहाँहरूले मलाई
कहिले बाढीमा बगाउनुभो
कहिले आगोमा जलाउनुभो
कहिले फाँसीमा झुन्ड्याउनुभो
कहिले खुकुरीले छप्काउनुभो
तर म मरिनँ।
यहाँहरूले मलाई
कहिले भीरबाट धकेल्नुभो
कहिले सिस्नु घारीमा फ्याँक्नुभो
कहिले विष खुवाउनुभो
कहिले बन्दूकले हान्नुभो
तर म मरिनँ।
यहाँहरूले मलाई
कहिले खाल्डोमा पुर्नुभो
कहिले सर्पले टोकाउनुभो
कहिले हात्तीले कुल्चाउनुभो
कहिले ग्याँस च्याम्बरमा हाल्नुभो
तर म मरिनँ।
यहाँहरूले मलाई
कहिले बगरमा घिसार्नुभो
कहिले घाममा सुकाउनुभो
कहिले करेन्ट लगाउनुभो
कहिले बमले उडाउनुभो
तर म मरिनँ।
म अहिले अजम्मरी भएको छु
यहाँहरूले अब मार्न सक्नुहुन्न मलाई
मलाई मार्न नसकेकोमा
यहाँहरूलाई भोक लागेको छैन
निन्द्रा लागेको छैन
यहाँहरूलाई भोक–निन्द्रा
केही पनि लागेको छैन
तर मचाहिँ यता
आरामले बसिरहेको छुु
मीठोमीठो खाइरहेको छु
र यहाँहरूको हालखबर बुझिरहेको छु।
मलाई यसरी बलियो बनाइदिनुभएकोमा
हार्दिक धन्यवाद छ यहाँहरूलाई।
प्रकाशित: १९ पुस २०७८ ०७:५२ सोमबार