अल्पविराम पोखरेली
‘ओ बुढा! यसपाला तिहारमा भुटुवा र सेल पकाएर खुवाउने है भुराभुरीलाई। सधैं कति छैनछैन भन्दै रहर मार्नु। ऋण खोजेर भए पनि सर्जाम लिएर आऊ है।’ काममा निस्कनै खोजेका बिर्खेलाई फूलमतीले आदेश दिइन्।
–ल हेरूँ के हुन्छ, साहुले पत्याएछन् भने ल्याऊँला बुढी! आश त गरेस् भरचाहिँ नपरेस्।
बिर्खेको अनुनयविनय र सधैं काम लाग्ने भएकाले साहुको मन पग्ल्यो। पन्ध्र सय रुपियाँ दिएपछि मक्ख पर्दै तेल, चामल र भुटुवा किन्न पसलतिर हान्नियो।
तेल, चामल र मरमसलाको पैसा हिजोअस्तिकै भाउ त होला नि भनेर आठ सय मात्रै के दिएको थियो साहुले ‘तँलाई बजिया, यो चोरेर ल्याएको भन्ठान्या छस् कि क्या हो हँ? खुरुक्कै सोह्र सय गनेर ले’ भन्दै हकारेपछि बिर्खे मुर्छा परेर बङ्लङ्गै ढल्यो।
प्रकाशित: १९ पुस २०७८ ०७:२८ सोमबार