११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

मृत्युपछि आफन्तले सोधून्– कसरी बाँचेको रहेछ?

अमेघकी आमाले दुधे बालखैमा अमेघलाई छोडेर गएकी थिइन्। उनका बाले आफ्नो सन्तानलाई सही शिक्षा, सही मार्ग दिनु नै आफ्नो जीवनको लक्ष्य र खुसी ठाने। उनले छोरालाई विभिन्न उदाहरण र शिक्षामार्फत जीवनको पाठ सिकाउँदै हुर्काउँदै गए। देख्नेहरूलाई पनि लाग्थ्यो अमेघले आमाको अभाव महसुस गरेको छैन।

अमेघ आफ्ना बाको संस्कार र शिक्षामा हुर्कंदै, समाजको परिवेशलाई बुझ्दै, बासँग अनेक प्रश्न गर्दै हुर्किंदै किशोरावस्थामा पुगेको थियो। बाले कति कुराको जवाफ बोलेर दिन्थे, कति अवाक् बनाउने बालसुलभ भावनाका प्रश्नलाई हाँसेर टारिदिन्थे त कहिले आँसुलाई लुकाएर, कतिपय अवस्थामा छोरालाई भान्छामा सँगै राखेर खाना पकाउँदै सिकाउने गर्दथे जीवनका लक्ष्य, अपेक्षा र यथार्थतालाई।

एक दिन उनले भने– छोरा २–३ दिनको भान्छाको सिकाइबाट तिमीले जीवनको ठूलो पाठ सिक्न सक्छौ, म तिमीलाई त्यही कुरा प्रयोगात्मक रूपमा बुझाउने कोसिस गर्नेछु,अमेघ राजी भए। एक दिन बिहानको खाजामा अमेघका बाले दुई प्लेट हलुवा र दुई कप चिया तयार परेर डाइनिङ टेबलमा राखे। एउटा प्लेटको हलुवाको माथि नै देखिने गरी दुई टुक्रा बदाम र दुई टुक्रा काजु थिए, अर्को प्लेटमा हलुवा मात्र थियो, बदाम, काजु केही थिएन। बाले अमेघलाई भने– रोजेर खाऊ।

अमेघले बदाम र काजुका टुक्रा भएको हलुवाको प्लेट नै रोज्यो। दुवै बाबुछोरा एकापसमा मुखामुख गर्दै स्वादिष्ट रूपमा भोजन गरे। जब बुवाको प्लेटको हलुवा सकिन लागेको थियो, अमेघले देखे प्लेटको तल झन् ४–५ टुक्रा बदाम ४–५ टुक्रा काजु रहेछन्। अमेघ अवाक् भयो, आफ्नो हतारको निर्णय देखेर। बाले भने– बाबु, तिम्रो दोष छैन यसमा। हामी गरिब परिवारकै व्यक्ति हौँ। काजु, बदाम हाम्रा लागि दुर्लभ र महत्वको कुरा हो, त्यसैले प्लेटको माथि नै देख्यौ,अनि तिमीले त्यही रोज्यौ। हामी गरिब छौँ, त्यसैले समाजले हामीलाई सोच्ने शैली पनि गरिब बनाएको छ। हामी हतार गर्छौं जे देखियो त्यो पाउन तर हामीले आँखाले देख्ने चिज सधैं सही नहुन सक्छ।

हामी आफ्नो स्वार्थपूर्तिका लागि जे देखिन्छ, त्यो आफू पाउन चाहन्छौं, यसले गर्दा हाम्रो विवेकको प्रयोग हुन पाउँदैन र हामी जितेर पनि हारेका हुन्छौँ। कतिपय अमूल्य कुरा नदेखीकन लुकेर बसेका हुन्छन्। हामीले धैर्य गर्‍यौँ भने त्यो अमूल्य कुरा हाम्रो हात पर्छ। त्यसैले देखिने चिजमा मात्र सबै कुरा भेटिन्न, तिमीले यो शिक्षा पायौ आज।

दोस्रो दिन बिहान पनि अमेघका बाले त्यसैगरी २ प्लेट हलुवा र चिया खाजा तयार पारे र छोरालाई डाइनिङ टेबलमा बोलाए। उसैगरी एउटा प्लेटको माथि २–२ टुक्रा बदाम र काजुका टुक्रा थिए, अर्को प्लेटको हलुवा सादा थियो। बा ले हाँस्दै भने– रोजेर खाऊ अमेघ। अमेघले हिजोको कुरा याद गर्‍यो र सादा हलुवा भएको प्लेट रोज्यो। हलुवा सबै सकियो तर आज बदाम र काजु रहेनछ त्यो प्लेटमा। अमेघले महसुस गर्‍यो– किन मैले सोचेजस्तो र हिजो बाले सिकाएजस्तो भएन?

बाले हाँस्दै भने– छोरा जीवनमा हामीले अनुभव गरेजस्तै र बाहिरबाट सिकेजस्तो मात्र पनि हुन्न। अरूका कुरा सुनेको भरमा जीवनमा धोका हुन पनि सक्छ, नसोचेको पनि हुन सक्छ र सोचेको नहुन पनि सक्छ। सधैँ मेरो सूत्र र अरूका कुराको मात्र भरोसा पनि गर्नुहुन्न त्यसबाट धोका हुन पनि सक्छ, त्यसैले यस्तो परिस्थितमा दुःखी हुने र आफूले सोचेको प्राप्त हुँदैमा सुखी र उत्तेजित हुने होइन, बरू यो अनुभवबाट पाठ सिक्नुपर्छ।

जीवनका अनुभवले सिकाउने पाठ अरूका किताब पढेर पाइन्न। जीवन यिनै बहु आयामका अनुभूतिको सँगालो हो। तेस्रो दिन बिहान पनि बाले त्यसैगरी दुई प्लेट हलुवा र चिया खाजा तयार गरे। आज पनि एउटा प्लेटको हलुवामाथि २–२ टुक्रा बदाम र काजु अनि अर्को प्लेटको हलुवा सादा थियो। बाले अमेघलाई भने छोरा रोजेर खाऊ। 

आज भने अमेघले भन्यो– बा हजुरले नै रोजेर दिनुस्, कुन रोज्नु ठीक छ। हजुरले मलाई हुर्काएर यो ठाउँमा ल्याउनुभयो,अब मलाई कुन ठीक छ त्यो हजुरलाई नै थाहा हुन्छ। बाले हाँस्दै २–२ टुक्रा बदाम र काजु भएको हलुवाको प्लेट आफूले लिएर खान थाले। दुवै हाँसीखुसी खाजा खान सुरु गरे।

आज अमेघको सादा हलुवाको प्लेटको बीचमा ८–१० टुक्रा बदाम र काजु थिए। बाले अमेघको अनुहारमा खुलेको प्रेम र श्रद्धाभाव देखे। अनि भने– छोरा तिमीले सधैँ आफूभन्दा ठूलाको भरोसा र समर्पणमा आफूलाई छाडिदियौ भने तिम्रा आदरणीय व्यक्तिले तिम्रा लागि सर्वोत्तम चिज नै रोज्नेछन्।

जीवनको परिभाषा छैन

मनुष्य जीवनमा लक्ष्य राखेर परिभाषासहित जीवन खोज्न र बाँच्न हिँडेको हुन्छ, जबकि जीवन नै जीवनको लक्ष्य हो। कुनै आयोजना, कुनै भ्रमण, कुनै परिकार, कुनै लेखन या राजनीति भए त्यसको लक्ष्य होला अनि अनेक परिभाषा र तर्कद्वारा सिद्ध गर्न र सफलता हासिल गर्न लाग्नुपर्ने होला। तर, जीवनको अन्तिम लक्ष्य नै जीवन हो, यो अस्तित्वको उपहार हो, आफूले चाहेर पाउने होइन। जे पाएको छ, त्यसलाई पूर्णता र प्रेमका साथ जिउनु जीवनको आनन्द हो।

जीवन सरल छ, सहज छ, अहिले र यहीँ छ। अहिलेको जीवन बाचौं, जीवन बचाउने कोसिस नगरौं। मृत्यपछि आफन्तले कसरी मृत्यु भएछ भनी सोध्न सक्छन्। बरु कसरी बाँचेको रहेछ भनी सोध्न बाध्य हुनेगरी शान्त, प्रेमिल, सहज, करुणावान भएर बाँचौँ।

प्रकाशित: १० पुस २०७८ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App