– सरस्वती श्रेष्ठ सरूका चार
१) जिन्दगी कति नै छ र त्यो काँचको चुरामा,
भेटिन्छन् खुसी खोजे सानासाना कुरामा।
यसरी बाँच्नु पो बाँच्नु चुनौती झेलेर,
शिखर पुग्नु छ पाइलैपिच्छे टेकेर छुरामा।
२) फूलसँगै काँडा छ र जिन्दगी मजा छ,
छ धेरै चुनौती तर जिन्दगी मजा छ।
विश्वासको हाँगामा टेकेर बढ्ने हो अघि,
गर आफैंलाई प्रेम गर जिन्दगी मजा छ।
३) जीवन सङ्घर्ष हो सङ्घर्ष नै जीवन हो,
हरेक पाइलामा दुःखसुखको स्पर्श नै जीवन हो।
कुन अर्थमा बुझ्नुहुन्छ हजुर जीवनलाई,
आफ्नै भोगाइको अतल उत्कर्ष नै जीवन हो।
४) अधम जो छ उसले आचरण कहिल्यै सिक्दैन,
जो निमुखा छ ऊ यो जमानामा टिक्दै टिक्दैन।
भन्छन् बुढापाकाहरू भोगेकै कुरा भन्छन्,
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन।
प्रकाशित: ९ पुस २०७८ ०६:१७ शुक्रबार