अनु विज्ञाति
‘भ्रष्टाचारीलाई किरा परोस्।’ वडामा आउने सेवाग्राही तथा त्यो वडाका धेरै बासिन्दाले त्यही लेखेको गञ्जी लगाएर वडा कार्यालयमा आउँथे। वरपरका सार्वजनिक ठाँउमा समेत उनीहरू त्यही लुगामा भेटिन्थे।
मेरो सेवा प्रवेशपछिको पहिलो पदस्थापन त्यही वडामा भयो।
म वडासचिव भएर गएकोमा उनीहरूलाई केही असहज भएको बुझें।
‘महिला वडा सचिव भएपछि अब हामीले कसरी काम गर्ने?’ खासखुस कुराहरू सुन्थें।
म भने ढुक्क थिएँ, ‘यो वडाका सबै मानिस भ्रष्टाचार विरोधी रहेछन्। कानुनबमोजिम बाहेकको काम गर्न पक्कै दबाब दिँदैनन्। यति भयो भने त, काम गर्न केको अफ्ठ्यारो?’
केही दिनदेखि मेरो टेबलमा एउटा बिल आएको थियो। त्यसको भुक्तानीका लागि मैले सहमति दिनुपर्ने थियो। बिलमा निकै जोर लुगा, खाना, खाजा र मादक पदार्थको मूल्य उल्लेख थियो।
मैले त्यो बिलको भुक्तानी गर्न नमिल्ने कुरा जानकारी गराएको दुई दिनपछि उही लुगा लगाएका एक हूल मानिस आए र मलाई घेरे।
म छक्क परेँ।
‘आखिर मैले के गरेँ र तपाईंहरू यसरी घेराबन्दीमा पार्नुहुन्छ मलाई?’ मैले सोधें।
समूहको अलि लामोलामो कपाल पालेको मान्छे कड्कियो, ‘हामी भ्रष्टचार विरोधी आन्दोनलमा लागेका मान्छेलाई यसो यताउता मिलाएर पैसा भुक्तान गर्न नसक्ने हुतिहारा सचिवलाई घेराबन्दीमा नपारेर पूजा गर्छौं त?’
प्रकाशित: ७ पुस २०७८ ०८:२१ बुधबार