रामधन वेदना
१) गजल
दिलको हिरासतमा, केरकार भो नगर।
बीभत्स विगतलाई, चिरफार भो नगर।
के अर्थ राख्छ र? मिति बितेको चिठीले,
उनको हाल र मेरो बेहाल, वारपार भो नगर।
समयको तराजुमा, मनको पल्ला मिलेन त,
अब मेरो भावनाको, व्यापार भो नगर।
झुक्याई जाने सपना, आफ्नो मनको मन्त्रबाट,
विपना नै बन्छ भन्दै, दिक्दार भो नगरिदेऊ।
‘वेदना’को आँगनबाट, खुशीको लास निस्किसक्यो,
प्रेम–उल्लासमा आऊ भनी, निम्तो बेकार भो नदेऊ।
२) गजल
त्यही बोली कोही बोल्दा, किन–किन खास लाग्छ।
उही वचन अर्कै स्वरमा, झिजो र बकवास लाग्छ।
संघार नाघी जानेलाई, जंघार तर्न साथ दिएँ,
किनार छोई बग्ने खोला, फर्की आउने आश लाग्छ।
पराई भई जानेले नै, उठाई लगे विगतहरू,
त्यही विगतका झस्काले, वर्तमान नि अत्यास लाग्छ।
चट्याङ झर्दा छातीमाथि, चर्किएको मनले हेर्छु,
सहीसलामतको भन्दा, भत्केकोलाई विश्वास लाग्छ।
‘वेदना’को सितनसँग, दुखाई पिउँदै फिटान हुन्छन्,
बर्बराउँदै फेरि भन्छन्, दुःख्नु क्या! विन्दास लाग्छ।
– खोटाङ।
प्रकाशित: ९ मंसिर २०७८ ०४:२१ बिहीबार