१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बा र बाटेगराको बडहर

संस्मरण

टङ्क भट्टराई

म २०२७ साल असोजमा जन्में। बा –हजुरबा) बिते २०३१ सालमा। सानै भएकाले बाको बारेमा म त्यति धेरै त जान्दिनँ तर अलिअलि धूमिल चित्रचाहिं छ बाको।

बा काला–काला थिए। अग्ला थिए। दौरा र लगौंटी लाउँथे। कम्मरमा बाँधेको पटुकामा खुकुरी भिर्थे। अधिकांश समय गोठमै बित्थ्यो बाको।

बाले बनाएको सानो घुमाउने घर। अग्लो सिकुवा। दैलोनेरि सिकुवामा एउटा जाँतो। भित्र गग्रेटामुनि कुखुराको खोर। तल्लापट्टि घरको अग्लो पेटीमा चारपाँचवटा काँचोपातका बोट। तिनै काँचोपात सुकाएर पात जतिको सुर्ती र डाँक्ला जति भेला गरेर बा हुक्का तान्थे।

अगाडिपट्टि सानो मतान। मतानको भुइँमा एउटा ढिकी। पर्तिर कुनामा दाउराको हार, रित्ता डोका, हलो, जुवा यस्तै केके कुराहरू थिए। छेउमा खसी–बाख्राको टाट्नो थियो।

घरमुनि माचेगराको भित्तामा एउटा दबदबेको बोट। जहाँ बर्खा मासमा करेला (स्कुस) का लहराले रूखका हाँगाहरू पूरै ढाकिएका हुन्थे। मतानमुनि ओदालका दुईटा अग्ला बोट थिए। जसबाट बा नाम्लो–दाम्लो बुन्ने पाट निकाल्थे। बाटे गरामा एउटा बडहर र एउटा पटमिराको बोट थियो। पाखाको गरामा एउटा ठूलो दबदबेको रूख र एउटा बाँसको झ्याङ थियो।

बर्खे गोठ गाउँको पुछार आठमुरे बारीमा थियो। गोठ राखेको ठूलो गरो छेउमा केरा रोपेका थिए बाले। नजिकै सेरा खोलो। खोला वरपर बाक्लै बाँस झ्याङ र उत्तिसका अग्लाअग्ला रूखहरू। वस्तुभाउ त्यहीं खोलामा पानी खान्थे। त्यहीँ खोलाका दहमा आहाल बस्थे। पारिपट्टि कागुनेको पाखो। तलतिर करमबोटे, गहँतबारी र सिमखेत। प्रायः यिनै ठाउँहरूमा वस्तु चराउन लान्थे बा। बाले मलाई दुईचार चोटि कहीं बोकेर कहीं हातमा डोर्‍याएर लगेका छन् आठमुरेको गोठमा।

हिउँदे गोठचाहिं घरछेउका तिनै माचेगरा, बाटेगरा, पाखाको गरा र पुछारको गरामा सारी–सारीकन हुन्थ्यो। हिउँदको बेला बा दबदबे, पटमिरो, बडहर र बाँसमा चढेर फारु गर्दै घाँस झार्थे। यी सबै बोट बिरुवा बाले नै लगाएका हुन्।

म कहिलेकाहीं बासँग गोठमा सुत्न जान्थें। अगेनाको डिलनेरि बसाएर बाले बटुकाभरि दूध दिन्थे। तता’को दूध सेलाएर ठेकामा हालेपछि कुराउने कोर्थे बा र मलाई दिंदै भन्थे– लु खा साना केटा! तुरी चैं अगेनामा हाल्लास् नि! अलि पर बस्।”

म गोठ नग’को बेला बा आफैंले खोसेलामा पोको पारेर कुराउने ल्याइदिन्थे र भोटाको गोजीबाट निकालेर दिन्थे।

आमोई राम्री थिइन्। उज्याली थिइन्। हामी सप्पै केटाकेटीलाई उनैले हुर्काएकी। आमा मेलापात, बा घरगोठ गर्ने। दिदी हामीभन्दा अलि ठूली भएकीले अलिअलि आमालाई सघाउने अनि हामी नातिनातिनाको हेरचाह गर्दै घरको सबै काम आमैले नै गर्नुपर्थ्यो। आमोई सोझी कोहीसँग नरिसाउने खालकी थिइन्। आमाले पछि भन्दा बा र आमोई त्यति मिल्दैनथे। झगडा गरिरहन्थे अरे। सोझी आमोईलाई बाले कराइराख्ने होला।

माघको महिना रहेछ। अलिअलि सम्झना छ। बुबा सेनाको जागिरे। छुट्टीमा आएका थिए। त्यै बेला एक दिन घरमा खसी काटियो। मासुको लागि घरमा धेरै मान्छे जम्मा भएका थिए। दिउँसोको समय थियो। बा वस्तुलाई घाँस झार्न भनी बारीतिर झरे। बाले गोठमा पोलेर खान भनेर खसीको गिदी, जिब्रो र कान पातमा बेरेर गोजीमा हालेका थिए।

घरमुनि बाटेगरामा बडहरको बोट थियो। बा खुकुरी लिएर घाँस झार्न बडहरको रूख चढे तर रूखमाथि पनि पुग्न नपाई तलैको तेर्सो हाँगोबाट बा लडे। उनी लडेको आवाजले घरमा जम्मा भएका सबै मान्छे त्यहाँ पुगे र उनलाई बोकेर घरमा ल्याए। बाहिर चोट नलागे पनि भित्र गहिरो दखल परेर होला केही छिनमा हजुरबाको होस आए पनि वाक्यचाहिं बन्द भयो। बोली खुलेन। त्यसको तीन दिनपछि बाले संसार छोडे।

बा खस्नुअघि धनगढी जागिरमा हुँदा बुबाले एउटा यस्तो सपना देखेछन्–घरमुनि बाटेगराको बडहरको रूखनिर बा बसिरहेका रहेछन्। त्यहीबेला पारिबाट एउटा सेतो घोडा उनको नजिक आएछ। बा त्यसमाथि चढेछन्। त्यसपछि त्यो सेतो घोडाले बालाई लिएर टाप कसे। हेर्दा–हेर्दै कुइभीर कटाएछ।

बुबाले धनगढीमा देखेको सपना ठ्याक्कै मिलो। आफूलाई एघारै वर्षको उमेरमा कुलको शक्ति चढेकाले त्यही शक्तिको प्रभावले घटनाको पूर्व सङ्केत मिलेको हो भन्ने बुबाको विश्वास छ।

हामी सबै नातिनातिना बाले बनाएको त्यही सानो घुमाउने घरमा जन्म्यौं। पछि बुबाले जागिर छोडेर आएपछि त्यो घर भत्काएर ठूलो घर बन्यो।

मतानको टाँडमा बाँसको टाटीले बारेर एउटा कोठो निकालेको थियो। त्यसमा बुबाआमा सुत्नुहुन्थ्यो। बुबा जागिरमा भ’को बेलाचाहिं आमासँग हामी त्यहीं सुत्थ्यौं। आमाले सेराका होमबहादुर कटुवाललाई बुबाले पठाएको एउटा कम्बल दिएर एउटा खाट ल्याउनुभएको थियो। त्योभित्र कोठामा थियो भने बाहिरपट्टि पनि पछि सेराकै वीरबहादुर कटुवालले बनाइदिएको एउटा खाट थियो । पाहुनापाछा आ’का बेला त्यहीं सुत्थे।

पछि मेरो बिहा गरेपछि हामी जोईपोइ एकलौटी रूपमा त्यही बस्यौं। मलाई अलि ठूलो भएपछि आफू बस्ने कोठो सिंगार्ने लहड चढेको थियो। त्यतिखेर दिक्तेल बजारमा रङ्गीन चाइनिज पत्रिका किन्न पाइन्थ्यो। जुन अहिलेको कान्तिपुर साप्ताहिक पत्रिकाकै साइजमा हुन्थ्यो। दश रुपैंयामा पाइने त्यो पत्रिका टाँसेर मैले कोठा झिलिमिली पारेको थिएँ। तिर्पालीको राजन, सेराका मदन, केशवहरूले कोठा सजाएको देखेर मैले पनि सिकेको हुँ। बाले बनाएको त्यो मतान पनि २०५० सालमा भत्काएर नयाँ बरण्डावाला मतान बनाइयो।

बाका कथा कहानी धेरै जोडिएका छन् गाउँमा। बा धेरै रसिक मान्छे। अरूलाई हँसाइरहने।आफू हाँस्नुपर्दा पनि पूरै वनपाखा र गाउँ नै थर्काएर एकहलको मेलो हाँस्ने। गाउँकाले पछिसम्म त्यसै भन्थे।

सेरा खोलापारि कागुनेको पाखो थियो। बा प्रायः वस्तु चराउन त्यतै लान्थे। एकदिन कागुनेका पाखामा बाले जोडसँग पाद्दा भीरको ढुङ्गो लडेर सेरा खोलामा झरेको भनेर कथा हाल्थे गाउँलेहरू।

दसैंमा लिङ्गे पिङ पनि त्यस्तै खेल्ने अरे बा। एकचोटि सिरानघरमुनि पिङ खेलेको बेला लठ्ठाले बाँसको लिङ्गै कटाउन लाग्दा बाले खुट्टो उचालेर ठूलो आवाजमा पाद्दा पिङ्को लठ्ठै चुँडिएर बा लडेछन्। ढाडमा केही असर परेछ। नत्र त्यस्तो केही भएनछ। यसको पनि कथा बनाएका थिए गाउँलेहरूले।

बा निरोगी थिए। साठी–एकसट्ठी वर्षकै उमेरमा त्यो बडहरको रूखबाट लडेर मरे बा।बा अब कथामा मात्र सीमित भए।

हामी केटाकेटी खेल्दैखेल्दै त्यो बडहरको रूखनिर गएको बेला बाको झल्को आउँथ्यो। बा टुप्लुक्क आइहाल्छन् कि जस्तो लाग्थ्यो। हामी त्यो बडहरको रूखमा कर्दले खोपेर सेतो दूधजस्तो चोप निकाल्थ्यौं र केही दिनपछि सुकेको त्यो चोप निकालेर बलगम भनी चपाउँथ्यौं। दिउँसो डर नलागे पनि साँझपख त्यो बाटो भएर हिंड्दा भने हामीलाई कसोकसो डर लाग्थ्यो। छाती फुलेर आउँथ्यो तर आफ्नै बा त हुन् हामीलाई के गर्छन् र भनेर एकछिन अघिको डर शान्त पार्थ्यौं।

रूख र भीरबाट लडी मरेका र डढी मरेकाहरू अथवा त्यस्तै अकालमा मरेकाहरूले तर्साउँछन् भन्थे। तर, बाले हामीलाई कहिल्यै तर्साएनन्। त्यो बडहरको रूखको बाटो रातसाँझ हिंड्दा बाले खस्य्राक्क पनि गरेनन्। बाले अहँ अलिकति पनि दुःख दिएनन्। हामीलाई त्यति माया गर्ने बा आखिर किन त्यसरी सताउँथे र बरु उल्टै आशिष दिन्थे होला।

बा आफैंले रोपेको, हरेक वर्षका हिउँदमा घाँस झारेको अनि त्यहींबाट लडेर मरेको त्यो बडहरको रूख अझै छँदैछ। तर ऊबेलाको जस्तो छैन। धेरै जीर्ण भइसकेको छ।

अहिले पनि कहिलेकाहीं गाउँ जाँदा घरमुनि बाटेगराको त्यो बडहरलाई हेरिरहन मन लाग्छ। बडहरको फेदमा बसेर बालाई सम्झिन मन लाग्छ। बालाई सम्झेर टोल्हाएका बेला पुरानो भोटो, दौरा र लगौंटी लाएका अग्ला बा कम्मरमाथि बानेको पटुकामा लामो खुकुरी भिरेर टुप्लुक्क आएजस्तो लाग्छ। बालख नाति सम्झेर गोठबाट खोसेलामा पोको पारेर ल्याइदिएको कुराउनी भोटाको गोजीबाट निकालेर दिन खोजेजस्तो लाग्छ अनि त्यतै बारीका डिलमा बसी दर्सिन ढुङ्गामा झुलो चकमक पारेर यसो घरतिर हेर्दै कानमा सिउरिएको सुर्ती सल्काएजस्तो लाग्छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App