रञ्जुश्री पराजुली
‘जतिसुकै खन्चुवा भने पनि म खान छोड्दिनँ। पौराणिक कालको खन्चुवा ऋषि अगस्तिसँग मेरो आहारको तुलना गरेर मलाई खन्चुवा भन कि वर्षको एकपटक टुँडिखेलमा मध्यरातमा राखिदिएको भातको डंगुर खान आउने गुरुमापा राक्षस जस्तो भन। त्यो मलाई वास्ता छैन। म खान छोड्दिनँ।’
‘एकचोटि आएर गएका थियौ। फेरि दोहोयाएर किन आएको तिमी?’ सँगै रहेको मित्रले प्रश्न गर्यो।
‘म को हुँ? कहाँबाट आएँ?किन आएँ भन्ने कुरा यहाँका सबैलाई थाहा छ। कहिले कुनै त कहिले कुनै मेरा साथीभाइहरूलाई यहाँको अवस्थाको विचरण गर्न सानाठुला महामारीको रूपमा पठाउँथेँ।
उनीहरू आफ्नो शक्तिले महामारी फैलाउँदै यत्रतत्र घुम्थे अनि फर्कन्थे तर यहाँका बुद्धिजीवीहरूले खराब भविष्यको त्यस्तो सांकेतिक सूचनालाई बेवास्ता गरेको हुनाले दोस्रो पटक पनि म आएको हुँ।’
‘यो पटकको तिम्रो स्वभाव र प्रवृत्ति त निकै कठोर छ।’
‘बिलकुल ठिक बुझेको रहेछौ,साथी तिमीले।’
‘सर्वत्र मेरो बेवास्ता भएको छ। मेरो अस्तित्वलाई ओझेलमा पारिएको छ। आपसमा लुछाचुँडी र काटमार भैरहेको छ। चेतना फिरोस् भनेर सतर्क गराउने उद्देश्यले पहिलोपटक आएँ।
महामारीको रूपमा सर्वत्र फैलिएँ। जेठो, कान्छो,बालक,बृद्ध सबैलाई उठाएँ अनि शान्त भएर फर्किएँ। तर,अनुशासनहीन प्रवृत्ति फेरि दोहोरिन थाल्यो।मानवता हरायो।
म प्रकृति माताको दोहन छुटेन।आफ्नो कोखमा हुर्किएका सन्तानको बुद्धि भ्रष्ट भएको,अनुशासनहीन भएर जथाभावी गर्न थालेको देखेर म प्रकृति माता पीडित र गलित भएँ। त्यसैले दोस्रो पटक फेरि महामारीको रूपमा उग्र रूप लिएर आएकी छु।
पहिलेको भन्दा पनि कठोर रूपले महामारीको जालो फिँजाएकी छु।दोस्रो लहरलाई पनि बेवास्ता गरेमा चारखुटे आरामको गद्दा भएको आसनमा सानसौकत देखाएर नाकमुख ढाकेर खुट्टा हल्लाउँदै बस्ने सबै दुई खुट्टेहरू,स्वार्थी प्रवृत्ति भएकाहरूद्वारा म तृप्त हुनेछु। चेतना होस् है मित्र।’
प्रकाशित: २७ कार्तिक २०७८ ०५:२० शनिबार