नन्दलाल आचार्य
एकादेशमा शान्ति,विश्वास, प्रेम र आशा नाम गरेका चार साथी थिए। उनीहरू एक आपसमा सहकार्यको डोरीमा बाँधिएका थिए।मिलीजुली आनन्दले जीवनयापन गरिरहेको देखेर उनीहरूको ईर्ष्या गर्नेहरू कम्ती थिएन।
एक दिन पाहुना लाग्न भनी मात्सर्य नामको व्यक्ति आयो र उनीहरूको दिमागमा आफ्नो बिउ छरिदियो। त्यस बिउले आफ्नो कुप्रभाव देखाउन शुरूवात गर्यो। अब चारै जना एकापसमा नाकनिक गर्न थाले।
यस देशाँ मेरो स्थान रहेन भन्दै शान्तिले देश नै छाडी।अरू कसैमाथि भरोसा गर्ने दिन सकिएछन् भन्दै विश्वासले पनि देश त्याग्यो। सबैको मनबाट हरि हराएर पत्थर मन मात्र बाँकी बच्यो भन्ने आरोप लगाउँदै प्रेम पनि बाहिरियो।
‘एई आशा, तँ चैँ के रुँगेर बसेकी, गइहाल्। नत्र सिलौटामा पिसपास पारेर सर्वत–पानीमा मिसाउनुपर्ला।’मात्सर्यले ठूल्ठूला आँखा पारेर तर्साउन खोजेको देखेर आशाले भनेकी थिई,‘फिरन्ते मात्सर्य, तैँले हाम्रो देशमा पसेर सबैलाई पलायन गरिस्। तँ अधर्मीसँग म अन्तिम श्वाससम्म लडेर हराई छाड्छु र मेरा साथीहरूलाई फर्काई छाड्छु।’
फलतः घनघोर युद्ध भयो। हारजित हुने लक्षण देखिएन।आफूहरूलाई फर्काउन आशाले जीवन दाउमा राखेर मात्सर्यसँग लडेको देख्दा साथीहरूको होस खुल्यो।
उनीहरू फर्के र आशालाई सघाए। अन्ततः हारेर कहिल्यै नफर्किने गरी मात्सर्यले कुलेलम ठोक्यो। चारै मित्र एकापसमा अंकमाल गर्दै हाँसीखुशी रहे।
प्रकाशित: २४ कार्तिक २०७८ ०५:२४ बुधबार