नवराज शर्मा
ऊ आमाको कोखमा हुँदा उसलाई लाग्थ्यो संसार अँध्यारो र अनुहारविहीन हुँदोरहेछ। काखमा आएपछि कोखको सकस बिर्स्यो।आमाको मायालु अनुहार हेर्यो र सोच्यो संसार त उज्यालो र फूलजस्तै मायालु पो रहेछ।
टुकटुकु हिंड्ने भो,बुबाको दरो समाइ, निर्णयात्मक कराइ र मायालु हेराइ नै उसलाई संसार लाग्न थाल्यो।
ठूलो भयो, कमाउने भयो–लाग्यो संसार कुरुक्षेत्र जस्तो सधैँ संघर्ष गर्नुपर्ने रहेछ।बिहे भयो।सोच्यो,संसार मायालुको स्पर्श,हेराइ र अँगालोमा पो रहेछ। सन्तान भए, हुर्केबढे र समर्थ भए। सोच्यो, बल्ल संसार पूर्ण भो।
आज जब मायालु काख,दरो हात,प्रेमिल साथ हराए,सम्बन्धहरू औपचारिकतामा साँघुरिए अनि ऊ रित्तो घर,रित्तो भित्तो,रित्तिएको मन र रित्तिएको आँखाले घरि आफूलाई घरि घरलाई हेर्छ र सधैंझैं आफूलाई प्रश्न गर्छ,‘मोहजालमा फसियो कि मोहभंग भयो?’
‘... !’
यो यक्ष प्रश्नको उत्तर तपाईंलाई थाह छ कि?
प्रकाशित: २४ कार्तिक २०७८ ०४:५६ बुधबार