१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

काग तिहार र कागको वचन बुझ्ने सजिलो उपाय

काशी राई

हाम्रो संस्कृतिमा परापूर्वकालदेखि नै विभिन्न प्रकृतिको पूजा गर्ने चाड तिहार मनाउने  चलन चली आएको छ। यसमा पनि कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीयासम्म तिहारै तिहार पर्दछन्। यसलाई यमपन्चक पनि भनिन्छ।

पहिलो त्रयोदशीको दिन काग तिहार पर्दछ। यस दिन विभिन्न प्रकारको मिष्ठान्न बनाएर फूलपाती सहित चढाएर आह्वान गर्ने गरिन्छ किनकि जंगली पन्छी भएकाले प्रत्यक्ष खुवाउन असम्भव छ।

आदिमकालदेखि नै मानव जातिले गाउँबस्तीको विकास गर्दै लगेपछि त्यसको आसपास रहेर निर्वाह गर्दै आउने पन्छी हो काग। यसले प्रदूषण हटाई वातावरण सफा राख्ने र अज्ञात सैसमाचार बताई मानवोपयोगी कार्य गर्दछ भन्ने जनविश्वास  छ। त्यसैले प्राचीन धर्मग्रन्थ, ज्योतिष शास्त्रदेखि वर्तमानसम्मका साहित्य समाचारहरूमा पनि चर्चापरिचर्चा गरिएको पाइन्छ।

हुन त आजको ‘इन्टरनेट को जमानामा कागको समाचारको के काम’ भनेर हेयको दृष्टिले पनि हेरिन्छ तर यो भविष्यवाणी पनि भएकाले हाम्रो पुर्ख्यौली ज्ञान बचाई राख्न आवश्यक छ। कागको वचन बुझ्ने सम्बन्धमा विभिन्न तरीका बताइएको पाइन्छ। त्यसमध्ये म आफैंले  सुनेजानेको र प्रयोग गर्दै आएको तरीकासमेत यहाँ प्रस्तुत गर्दै छु।

कागबाट मानिसले सिक्नुपर्ने गुणहरूको सन्दर्भलाई लिएर करिब आजभन्दा पच्चीस सय वर्ष अगाडि चाणक्यले लेख्नुभएको छ। (चाणक्य नीतिदर्पण शष्टोक्ध्याय, पृष्ठ ४३, श्लोक १९)

गुढमैथुन चरित्वं काले काले छ संग्रहम।

अप्रतम विश्वासं पंच शिक्षेच्च वायसात ल

अर्थः छिपकर मैथुन करना, और छिपकर चलन, और समयपर संग्रह करना, इन् पाँचो गुणोंको कौवेसे सिखना उचित है, भनेर बताइएको छ।

ग्रन्थ ‘सजिलो बेलापंचाङ्ग’ लेखक तुल्सीराम आचार्य, दुर्गा साहित्य भण्डार संशोधित संस्करण २०५३ मा काग कुन प्रहरमा कता फर्की कराउँछ? त्यसको फल भनी यसरी उल्लेख गरेको पाइन्छ।

दिशा प्रथम प्रहर द्वितीय प्रहर तृतीय प्रहर चतुर्थ प्रहर

पूर्व शुभवार्ता महालाभ हानि  अशुभवार्ता

आग्नेय भयप्राप्ति शुभवार्ता प्रतिलाभ जयवार्ता

दक्षिण अरिष्टगमन अशुभ भयवार्ता अतिकष्ट

नैऋत्य अतिशुभ शत्रुक्षय दुस्टागमन अनिष्टवार्ता

पश्चिम धनलाभ धनहानि कलाहवार्ता राजवार्ता

वायव्य मिष्टभोजन वस्त्रलाभ पशुलाभ राजसम्मान

उत्तर शोकवार्ता मिष्टभोजन राजमान कर्यशिध्दि

ईशान हानि हानिवार्ता शिध्दिप्राप्ति प्रियवार्ता

‘कान्तिपुर दैनिक’३१ असोज मंगलबार २०७४, ‘तिहार विशेष’ अंकमा प्रकाशित संस्कृतिविद डा. जगमान गुरुङज्युको लेख शीर्षक ‘युगको प्रतिक’ मा पनि काग सम्बन्धमा यसरी उल्लेख गर्नुभएको पाइन्छ। काग आदि मानवजस्तै डुल्ने र समाचारको वाहक हुनाले पुज्ने गरिएको हो। उहाँले समाचार बताएर उड्दाको फल बताउनुभएको छ। दक्षिण उडे– हानि, उत्तर–कृति, पश्चिम उडे–दुख, पूर्व – लाभ।

अर्को पनि कागले काम गर्दा देखिने गुणबारे १७ वैशाख २०७८ को ‘कान्तिपुर दैनिक’ अंकमा लेखक जीवनमणि पौडेलज्यू लिखित ‘रैथाने ज्ञान आफैलाई बुझ्ने आधार’ शीर्षकको लेखमा कागले गुण बनाउन  झिंजा चुच्चोको दायाँबाट उठाएमा पनि असारको शुरूमै पर्न थाल्दछ।

बायाँबाट उठाएमा असारको अन्तिममा मात्र र माझबाट उठाएमा मध्य असारबाटै पानी पर्न थाल्दछ भनेर कुनै वृध्द अनुभवी व्यक्तिले बताएको कुरा उल्लेख गरिएको छ। अन्य तन्त्र प्रयोगको क्षेत्रमा पनि कागको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ। साथै कागको वचन बुझ्ने क्रममा अरू पनि विभिन्न तरीका विभिन्न ग्रन्थमा सुझाएको छ तर कतिपय समयमा काग कता फर्की करायो र कुन प्रहरमा बोल्यो भन्ने छुट्याउन र हेरिरहन गाह्रो हुन्छ।

यसैले हाम्रो गाउँघरमा गाउँका बाजेहरू र हाम्रो बुवाहरूले हामी सानै छँदादेखि प्रयोग गर्दै आउनुभएको तथा दाजु हरिप्रसाद राई (१९९०) र मैले पनि प्रयोग गर्दै आएको कागको बोली बुझ्ने सजिलो उपाय यहाँ समक्ष राख्न चाहन्छु।

काग सधैभरि ‘कागकाग’ गरेर कराउने पन्छी भए पनि सँधै कराएको समाचार हुँदैन। काग पनि दुई प्रकारको हुन्छन्।  गाउँघरमा सानो खाले कागलाई ‘कन्ठे’ भनिन्छ भने ठुलो कागलाई ‘भोटे काग’ भन्ने चलन छ।

कुनै राम्रानराम्रा सैसमाचार सूचित गर्नुछ भने कुनै घर वा व्यक्तिको आसपासमा आएर कुनै रूखपात, छाना वा भुईंमा बसेर विशेष किसिमको आवाज निकाल्दछ। जस्तै, ‘कागकाग क्वार ! कागकाग क्वारक्वार !!’ एवं प्रकारको आवाज निकालेर बोलेको सुनेपछि कुनै खबर बताउँदैछ भन्ने बुझ्नुपर्दछ र तल दिएको शुत्र प्रयोग गरी त्यसको फल सजिलै जान्न सकिनेछ।

‘सूच– कागको वचन सुनी, नापौं छायाँ, तेह्र जोडी, समघर पायाँ, छक्काछक्की हरिले भाग, शेष रहेको कहिजा काग।’

१) पहिलो हात लाभ देखावै

२) दोस्रो हात पाहुना आवै

३) तेस्रो हात कलह जनावै

४) चौथो हात मरण जनावै

५) पाँचौ घरघर भोजन खिलावै

६) छैठौं आफै काग रमावै।

यसप्रकार कतै कागले बोल्न लागेको सुनेपछि घामको प्रकाश र ठाउँ उपयुक्त छ भने ठिंग उभिएर आफ्नो छाया पाइलाले नाप्ने, कति पाइला हुन्छ, त्यसमा तेर जोडी आएको योगफललाई ६ ले भाग गर्ने अनि भाग गर्दा बाँकी रहने शेष अंकलाई नै शुभ अशुभ फल जान्नुपर्दछ।

उदाहरणका लागि जस्तै ६ पाइला मात्र भयो भने १३ मा ६ जोड्दा १९ भयो। अब यसलाई ६ ले भाग गर्दा ६ तिर्के १८ भयो र शेष १ रह्यो। अतः माथिको शुत्र अनुसार त्यसको फल लाभआयस्ता हुनेछ भनेर बताएको बुझ्नुपर्‍यो।

यसै गरी शेष अंक २ रहेमा पाहुना आउने, ३ रहेमा गाउँ छिमेकमा कलह झैझगडा हुने, ४ रहेमा गाउँघर आफन्तमा मरुभागुको खबर सुनिने, ५ रहेमा मिष्ठान्न भोजन प्राप्त हुने र शेष अंक ० रहेमा काग आफै रमाएको भनेर बुझिन्छ। यही शुत्र अनुसार चौबिसपछिका अंकहरूमा पनि फलको जानकारी लिन हुन आग्रह छ।

वैकल्पिक उपायको सम्बन्धमा उल्लिखित छाया नाप्ने कुरामा, कुनै बखत प्रकाश नभएको, बादल लागेको वा भिरालो ठाउँ भएर आफ्नो छाया नाप्न सक्ने अवस्था नरहेमा कागको वचन सुनिसकेपछि आफ्नो अगाडि परेको कुनै सिन्का र झिंजा जे भेटिन्छ त्यो टिपेर फेदटुप्पा दुवैतर्फबाट भाँचेर फाल्ने अनि आफ्नो हातको पन्जा र औंलाको माझको आँख्लाको बिचमा राखेर नाप्ने, यसलाई ‘अमल’ भन्ने चलन छ।

 एक हातको ४ औंलाको फेद बराबर चार अमल मानिन्छ। सोअनुसार दुवै तर्फ चुँडेर फालेको माझको भाग सिन्का नाप गर्दा कति अमल ठहर्छ। त्यसलाई माथि बताइएको छाया र पाइलाकै तरीकाले १३ जोडेर ६ ले भाग गर्दा रहन जाने शेष अंक अनुसार नै कागको वचनको फल जान्न सकिन्छ।

यो शुत्र मौखिक रूपमै चल्दै आएकाले कहाँ र कोबाट प्रतिपादन भएको थियो। लेख्य रूपमा प्रमाण भने पिएको छैन। अघि प्रयोगकर्ता बुवाहरूलाई पनि सोधिएन। जसको कारण यो अनुसन्धानकै विषय रहेको छ। जे होस् हाम्रा पुर्वजहरूले अनुसरण गर्दै आएको उपयोगी पुर्ख्यौली ज्ञान पनि पुस्तान्तरण गर्दै लानुमा सबैको कल्याण हुनेछ भन्ने तर्क राख्दै सम्पूर्णमा ‘दिपावलीको मंगलमय शुभकामना’ सहित कलम बिसाउन चाहन्छु, यति।

प्रकाशित: १७ कार्तिक २०७८ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App