१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

शास्त्रमा शूद्र

चातुवण्र्यं मया सृष्टं गुुणकर्मविभागशः

तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्।

गीतामा कृष्णले भनेका छन्–वर्ण व्यवस्थामा विद्यमान रहेका चार वर्ग ब्राह्मण, क्षत्री, वैश्य र शूद्रको व्यवस्था गण र कर्मका आधारमा मैले गरेको हो। ती वर्ण व्यवस्थाको कर्ता म आफैँ हुँ र म अविनाशी छु। मलाई अकर्ता मान।  

ब्राह्मणोऽमुखमासीद्वाहूराजन्य कृत उरूतदस्यद्वैश्य पद्भ्याम् शुद्रो अजायत। अर्थात् विराट पुरुषबाट यी चार वर्णको उत्पत्ति मानिएको छ। यो व्यवस्था पनि विराट पुरुषले कर्मका आधारमा गरेका हुन्।

ब्राह्मण मुखबाट, क्षत्री बाहुबाट, वैश्य जङ्घाबाट र शूद्र पाउबाट उत्पन्न भएको कुुरालाई वेदमा उल्लेख गरिएको छ। यो वर्ण व्यवस्था तत्कालीन समयको व्यवस्था हो। वर्ण व्यवस्थामा शूद्रलाई विराट पुुरुषको पाउबाट उत्पन्न भएको वेदले स्वीकार गरेको छ भने गुण र कर्मका आधारमा उत्पन्न भएको तथ्य गीताले राखेको छ। 

सामान्यतः वर्ण व्यवस्थाको यो आधार शास्त्रको स्वरूप मानिएको छ। के आजको अवस्था त्यही छ त? आजको अवस्था परिवर्तित छ। परिवर्तित अवस्थामा संस्कार र परम्परा पनि नित्य परिवर्तन भएका छन्। तत्कालीन समयको व्यवहारलाई सञ्चालन गर्ने पद्धतिका आधारमा वर्ण व्यवस्थाको कल्पना गरिएको हुुन सक्ने सन्दर्भ विद्यमान रहेको पाइन्छ। 

आजको समाज र समाजका क्रियाले शास्त्रको वर्ण व्यवस्थामा परिवर्तन ल्याएको छ। समाज र सामाजिक क्रिया प्राच्य परम्पराका अवस्थामा छैनन्, परिवर्तनशील बनेर देखिएका छन्। वैदिककालमा शूद्रको उत्पत्ति पाउबाट भएको मानिएको थियो। जसले शरीरको सबै भागलाई धानेको हुुन्छ। त्यही आधारमा हेर्ने हो भने पनि वर्ण व्यवस्थामा शूद्रलाई महत्वका साथ हेरिएको पाइन्छ। 

सबैको सेवाभावलाई जीवन्त पार्ने वर्ण व्यवस्थाका आधारमा उच्च दर्जामा शूद्रलाई गणना गरिएको छ। शरीरको सबै भागलाई धान्ने र वर्ण व्यवस्थाको अन्तिम चरणका रूपमा रहेको शूद्र आफैँमा पूजनीय, वन्दनीय हो भन्ने प्रमाणले पनि देखाएको छ।  

शूद्र उत्पत्तिको आधार

प्राचीनकालमा वर्ण व्यवस्था कर्मका आधारमा रहेको थियो। त्यही कर्मले मानवीय व्यवहारलाई र जातिगत व्यवस्थालाई बल प्रदान गरेको थियो। मानव जीवनको आरम्भमा मात्र दुुई वर्ण थिए। आर्य तथा आर्यका दुश्मन, जसलाई दस्यु(प्राचीनकालको अनार्य जाति ) विशेष भन्ने गरिन्थ्यो। यही वर्ण व्यवस्था विद्यमान थियो। कालान्तरमा त्यही दस्युनै शूद्रका रूपमा आएको हुन सक्ने अड्कल काटिन्छ।

शूद्र आफैँमा अनार्य भने होइन। पहिले जातिसूूचक नभएर व्यवसाय सूूचकमा वर्ण व्यवस्था रहेको थियो। ऐतरेय ब्राह्मणमा उल्लेख भए अनुुसार सृष्टिका आधारमा ब्राह्मणलाई गायत्री छन्दका साथ, क्षत्रीलाई त्रिष्टुप छन्दका साथ, वैश्यलाई जगती छन्दका साथ र शूद्रलाइ कुनै पनि छन्द नदिएर उत्पन्न गरिएको थियो। 

त्यसले के प्रमाणित गरेको छ भने शूद्रत्व वर्ण व्यवस्थाको आधार भने होइन। प्राचीन समयमा शूद्रत्व आफैँमा वर्ण व्यवस्थाको आधार थिएन। कालान्तरमा वर्ण व्यवस्थाको आधारबीजका रूपमा शूद्रलाई लिइएका कारण वर्ण व्यवस्थाको पहिचानमा शूद्रलाई राखिएको हुन सक्ने प्रमाण भेटिन्छ।

उपनिषद् काल

उपनिषद् कालमा वर्ण व्यवस्थालाई जुन तरिकाले हेरिएको छ, त्यसले पक्कै पनि सुधारका कुरालाई जीवन्त पारेको छ। वेदको तैत्तरीय संहितामा उल्लेख भए अनुसार वर्ण अनुसार ईश्वरीय प्रकाशले सबैलाई प्रकाशित गर्ने आधार प्रस्तुत गरिएको छ।  

‘रुचं नो धेहि ब्राह्मणेषु रुचं राजसुनस्कधि।  

रुचं विश्वेयु शूद्रेषु मयि धेहि रुचा रुचम्।’  

ब्राह्मणमा प्रकाश भर, क्षत्रीमा प्रकाश भर, वैश्यमा प्रकाश भर, शूद्रमा प्रकाश भर र आफ्नो प्रकाशबाट ममा समाहित बन। यहाँनिर शूद्रलाई सबै वर्णको समानताका आधारमा हेरिएको छ। यो समयसम्म शूद्र पनि भगवान्को प्रकाशका अधिकारी थिए। यो प्रमाणले शूद्र हेय दृष्टिका रूपमा प्रमाािणत भएको देखिँदैन। 

कालान्तरमा पनि शूद्रको पहिचान कहिल्यै हेय मानिएन। कर्मका आधारमा गरिएको विभाजन पक्कै पनि जातीय नभएर वर्ण व्यवस्थाको विभाजन थियो। जसले तत्कालीन समाजको सामाजिक व्यवस्थामा नयाँपन देखाएको छ। वैवाहिक सन्दर्भमा देखिएको क्रमले गर्दा नै जातीयस्वरूप बिग्रेको हुन सक्ने अड्कल काट्न सकिन्छ।

शूद्रको अध्ययन

शूद्रलाई वेदको अध्ययनमा निषेध गरिएको थियो। वैदिक छन्दबाट उत्पन्न नभएकाले यो निषेध गरिएको हो। अध्ययन र अध्यापन ब्राह्मणको कर्म भएकाले निषेध गरिएको तर्क शास्त्रहरूमा वर्णन गरिएको छ। उनीहरूलाई इतिहास (महाभारत) पुराण श्रवणको अधिकार भने दिइएको छ। 

महाभारतमा उल्लेख भए अनुसार चार वर्णले कुनै ब्राह्मणका मुखबाट पुुराण आदिको श्रवण गर्न सक्ने अधिकार विद्यमान थियो। यहाँनेर पुराण आदि ब्राह्मणद्वारा सुन्ने अधिकार रहेका शूद्रलाई कसरी निम्न जातिका रूपमा स्वीकार गर्ने हो। ‘श्रावयेच्चतुरा वर्णान् कृत्वा ब्राह्मणमग्रतः।’ यो प्रमाणले पनि शूद्रलाई अपृश्य जातिका रूपमा लिएको छैन। 

शूद्रको कर्मका बारेमा पनि उल्लेख गरिएको छ। उनीहरूलाई वेद अध्ययनको अधिकार शास्त्रले नदिएको भए पनि पुुराण आदि श्रवण गर्ने अधिकार भने दिएको छ। उनीहरू यज्ञ गर्ने अधिकारी थिए। श्राद्ध गर्ने अधिकारी थिए। मन्दिर, तलाउ, बगैँचा आदिको निर्माणका अधिकारी मानिएका थिए। 

उनीहरूलाई तेह्र अक्षरको राम मन्त्र (श्री राम जय राम जय जय राम) र पाँच अक्षरको शिवमन्त्र (नमः शिवाय) जप्ने अधिकार प्राप्त थियो। ब्राह्मण आदिका लागि ओम लगाएर मन्त्रको जप गर्ने व्यवस्था गरिएको छ। धर्म, कर्ममा उनीहरूको अवस्थालाई जुन किसिमले व्यवस्थित गरिएको छ, त्यसले उनीहरू अछूतका रूपमा होइनन् भन्ने कुरालाई प्रमाणित गरेको छ।

शूद्रलाई महाभारत कालमा सम्मान दिइएको देखिन्छ। महाभारतको अनुुशासन पर्वमा उल्लेख भए अनुुसार ब्राह्मणको भोजनको व्यवस्था गर्ने अधिकार शूद्रलाई प्रदान गरिएको छ। शूद्रले ब्राह्मणको सेवा जलिरहेको अग्नि समान टाढाबाट गर्ने विधान रहेको छ।

दूराच्छूद्रेणोपचर्यो ब्राह्मणोऽग्निरिव ज्वलन्। यो प्रमाणका आधारमा शूद्रलाई कहिले पनि अपृश्य, अछूत जाति वा वर्णका रूपमा हेरिएको छैन। आश्रमका दृष्टिले शूद्रलाई गृहस्थाश्रमको मात्र अधिकार दिइएको छ। ब्रह्मचर्य, वानप्रस्थ र सन्न्यास आश्रम शूद्रका लागि निषेध मानिएका छन्। 

शूद्र गृहस्थाश्रममा रहेर आफ्नो धर्मको पालन गरेमा सन्न्यासलाई छाडेर सबै कर्मको निर्धारणमा आफूूलाई समावेश गर्न सक्दछ। गृहस्थबाहेक अन्य आश्रम निषेध गरिएको भए पनि असल कर्मद्वारा अन्य आश्रमको पुुण्य पाउन सक्ने आधार दिइएको छ। महाभारतमा उल्लेख भए अनुसार–  

शुश्रुषाकृतकार्यस्य कृतसंतानकर्मणः

अभ्यनुुज्ञातराजस्य शूद्रस्य जगतीपते।

अल्पान्तरगतस्यापि दशधर्मगतस्य वा

आश्रमा विहिताः सर्वे वर्जयित्वा निराशिषम्।

शूद्र ब्राह्मण, क्षेत्री र वैश्यको सेवाले सम्पन्न भयो, पुत्र प्राप्त गर्‍यो, शौच सदाचार अनुुसार अन्य तीन वर्णको समान अवस्थामा आयो, मनुुद्वारा निर्देश गरिएका दश धर्म– धृति (धैर्य) क्षमा, मनको निग्रह, चोरीको त्याग, शरीर र मनको पवित्रता, इन्द्रियको निग्रह,सात्विक बुद्धि, सात्विक ज्ञान, सत्यभाषण, क्रोधको अभाव आदिले सम्पन्न भएमा सन्न्यास धर्मलाई छाडेर अन्य सबै आश्रम उसका लागि योग्य मानिएका छन्।

शास्त्रले शूद्रलाई वर्ण व्यवस्थाका आधारमा तल्लो दर्जामा राखेका छैनन्। वर्ण व्यवस्थामा कर्मलाई लिएर विभाजन गरिएको छ तर जातीय विभेदका आधारमा गरिएको छैन। त्यसैले शूद्रत्व जातिगत नभई वर्ण व्यवस्थाका एउटा आधार हो। त्यो आधार शास्त्रसिद्ध मानिएको छ। शास्त्रले प्रमाणित गरेका आधारमा बहस गर्नु अनुपयोगी नै मानिन्छ।

छुवाछूतको व्यवस्था  

प्राच्य शास्त्रमा चाण्डाल जातिलाई अस्पृश्य (अछूत) मानिएको छ। यो अस्पृश्य सामान्यतया छुुवाछूतकै अवस्था हो। तर कतिपय अवस्थामा आचार्यहरूले छुवाछूतको प्रसङ्गलाई खुकुलो बनाएका छन्। वर्णगत व्यवस्थामा चार वर्णको शास्त्रमा उल्लेख गरिएको छ। चाण्डालका बारेमा उल्लेख गरिएको छैन।

चाण्डाल आफैँमा वर्ण व्यवस्थाको पाँचौँ हिस्सा होइन। शास्त्रमा उल्लेख गरिएका वर्ण व्यवस्थाको आधार चार मात्र मानिएको छ। महाभारतमा वर्ण व्यवस्थाका सन्दर्भमा ‘स्मृताश्च वर्णाश्चत्वारः पञ्चमोनाधिगम्यते’ चार वर्णको व्यवस्था गरिएको छ, पाँचौँ वर्ण व्यवस्था छैन। त्यसकारण छुवाछूतको व्यवस्था कसरी आयो? यो प्रश्न गम्भीर हरेको छ।

समाजमा विभेदको व्यवस्थाका कारण कतिपय जातिलाई छुुवाछूतका आधारमा वर्गीकरण गरिएको हो। यो छुवाछूत प्रथा शास्त्रहरूमा उल्लेख गरिएको छैन। त्यसैले पनि यसलाई शास्त्रोचित मान्यता मान्न सकिँदैन। शास्त्रमा शूद्रलाई अछूतमा राखिएको चर्चा कतै छैन। तर आफ्नो कर्मबाट पतीत भएर चाण्डाल बनेका व्यक्तिहरू छुवाछूतमा परेको देखिन्छ। शास्त्रमा वर्णन गरिए अनुसार निम्न अवस्थामा छुवाछूत हुँदैन। 

संग्रामे हट्टमार्गे त यात्रादेवगृहेषुच।  

उत्सवक्रतुतीर्थेषु विप्लवे ग्रामदेशयो।

महाजलसमीपेषु महाजनवरेषुच।

अग्न्युत्पाते महापत्सु स्पृष्टास्पृष्टिर्न दुष्यति।प्राप्यकारीन्द्रिय.स्पष्टमस्पृष्टि त्वितरेन्द्रियम्।

तयोश्च विषयं प्राहु  स्पृष्टास्पष्ट्भिधानत।

अर्थात युुद्ध, बजार, बाटो, धार्मिक जुुलस, मन्दिर, उत्सव, यज्ञ, पूत (पवित्र स्थान) आपत्ति, गाउँ वा देशमा आक्रमण हुुँदा, नदीको किनार, महापुरुषको उपस्थिति, अचानक आगो लागेमा, महाविपत्तिको समयमा छुवाछूतको अवस्था रहँदैन। यहाँ स्पष्ट के उल्लेख छ भने छुवाछूतको व्यवस्थामा शूद्रको उल्लेख गरिएको छैन।

विवाहको अवस्था  

शास्त्रले वैवाहिक कर्मलाई गृहस्थाश्रमको प्रवेश मानेका छन्। विवाहमा मनुले जुन किसिमको तर्क अघि सारेका छन्, त्यसले शूद्रत्वको अभाव देखापरेको छ। मनुले विवाहका सन्दर्भमा वर्ण व्यवस्थाको आधार प्रस्तुत गरेका छन्। ब्राह्मणका लागि विवाहका सन्दर्भमा ब्राह्मण कन्या नै उत्तम मानिएकी छ। तर अन्य कन्यासँग विवाह अयोग्य मानिएको छैन। ‘शूद्रैव भार्या शूद्रस्य सा च स्वा च विशः स्मृते ते च स्वा चैव राज्ञस् च ताश् च स्वा चाऽग्रजन्मनः’ शूद्रका लागि शूद्र कन्या नै पत्नी हुन सक्छन्। वैश्यका लागि वैश्य कन्या र शूद्र कन्या विवाह योग्य मानिएका छन्। 

क्षत्रीका लागि क्षत्री कन्याका साथै वैश्य र शूद्र कन्या योग्य मानिएका छन्। ब्राह्मणका लागि ब्राह्मण कन्याका साथै क्षत्री, वैश्य र शूद्र कन्या योग्य मानिएका छन्। यहाँ विवाहका सन्दर्भमा पनि जातिगत अवस्था देखिँदैन। योग्य वर र योग्य कन्याको अवस्था आएमा वैवाहिक सम्बन्ध गाँसिने अवस्था देखिएको छ। तर, शूद्रको तिरस्कार वेद, स्मृति, इतिहास, पुराण आदिमा देखिँदैन। पछि जाति प्रथालाई उकास्ने र अरूबाट काम गराएर आफू आनन्दमा रहने प्रक्रियाका आधारमा यो व्यवस्था बाहिर ल्याइएको हुन सक्छ।  

आजको अवस्था  

जाति, धर्म, भाषा, संस्कृतिको विविधता रहे पनि एक सूत्रमा बाँधिएको देश हो, नेपाल। त्यसैले विविधता रहे पनि एकताको कडी नेपालको पहिचान हो। वर्णगत विभेदलाई प्रश्रय दिने अवस्था अबको नेपालमा हुनु हुँदैन। शूद्रलाई हेपियो, छुवाछूतको बन्धनमा पारियो भन्ने प्रचलनको अन्त्य हुन आवश्यक छ।

अप्रामाणिक प्रचारमा विश्वास नगरेर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावनाका आधारमा रहनु आवश्यक मानिएको छ। सदियौँदेखि जकडिएको समाजमा एक्कासि परिवर्तन सम्भव छैन। बिस्तारै समाजको विकासमा आएको परिवर्तनले सभ्य समाजको निर्माण गर्नु अनिवार्य रहेको छ। 

त्यसैले मानवीय भावना, चेतनाका सन्दर्भलाई जीवन्त बनाउन शिक्षा प्राप्त गर्नु अनिवार्य मानिएको छ। शिक्षाका माध्यमबाटै अन्धकार हटेर उज्यालोको बत्ती बल्नेछ। त्यसले समाजको विकासमा नयाँ आयाम थप्नेछ। समाजमा रहेका कुरीति, कुसंस्कार, कुुपरम्पराको अन्त्य हुनेछ। अतः सभ्य, स्वस्थ, सुुन्दर समाजको परिकल्पना शास्त्रले बताएका छन्। विखण्डनकारी समाजको कल्पना शास्त्रको पहिचान होइन।

प्रकाशित: १३ कार्तिक २०७८ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App