२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

योग्यता

लघुकथा

सुशीला सुवेदी पाठक

सहयोगी र मिलनसार हुनुहुन्थ्यो राधा दिदी। गाउँघरमा कसैलाई केही सहयोग गर्नुपरे उहाँ हरदम तयार हुनुहुन्थ्यो। हरेक काममा निपुण। कसैको घरमा झगडा भयो राधा दिदी चाहिन्थ्यो मिलाउन। सबैसग परिचित हुनुन्थ्यो दिदी।

दस कक्षामा पढ्दापढ्दै बुबाआमाले विवाह गरिदिनुभयो। छोराछोरीको लालनपालन श्रीमान्, सासूससुरा, घरव्यवहार दिदीलाई पढ्ने फुर्सद नै भएन। परिवारको जिम्मेवारीसँगै आर्थिक अभावले थिचेपछि वैदेशिक रोजगारीका लागि जापान जानुभयो। केही वर्षपछि फर्केर उहाँ समाजसेवामा सक्रिय हुनुभयो।

विदेशमा सिकेको सिपलाई सदुपयोग गर्दै जापानिज भाषा सिकाउने कक्षा खोल्ने तयारी गर्नुभएको थियो तर क्षमता भए पनि शैक्षिक योग्यता बाधक बनिदियो। एसएलसी नगरेकाले भाषा कक्षा संचालन गर्न स्वीकृति मिलेन। वैदेशिक रोजगारीमा गएर समस्यामा परेकालाई उद्दार गर्ने संस्था खोल्ने विचार गरेको शेैक्षिक योग्यता नभएर अर्काको नाममा दर्ता गराउनुपर्यो।

मैले दिदीलाई सुझाव दिए, ‘अहिले त प्राइभेट एसएलसी दिन मिल्छ। तपाई तयारी गर्नुस् दिदी।’

‘म पास गर्न सकूँला र बहिनी?’ दिदीले शंका व्यक्त गर्दै भन्नुभयो,‘धेरै भयो नपढेको। मे रो त पढ्ने बानी पनि  हरायो।’

मैले दिदीलाई हौसला दिँदै भने,‘सक्नुहुन्छ दिदी। केही मेहनत गर्नुस्। तपाईंमा क्षमता छ।शैक्षिक योग्यतालाई बाधक बन्न दिनु हुँदैन। म सहयोग गर्छु दिदी।’

दिदीले खुशी हुँदै भन्नुभयो, ‘हुन्छ, म तयारी गर्छु। एसएलसीको फारम खुलेपछि मलाई जानकारी गराउनु है त।’केही समयपछि एसएलसीको फारम खुलेको जानकारी दिँदै म दिदीलाई भेट्न गएँ, ‘ल दिदी फर्म खुलेको छ, जाउ भर्न।’

दिदीले भन्नुभयो, ‘भयो बहिनी, अब मैले बुढेसकालमा पढेर के गर्नु? फेरि मैले शैक्षिक योग्यता भए पनि हुने नभए पनि हुने काम गर्न लागेको छु नि !’

मैले अचम्म मान्दै सोधे, ‘के काम हो दिदी त्यस्तो शैक्षिक योग्यता नभए पनि गर्न सकिने?’

दिदीले उत्साहित हुँदै भन्नुभयो,‘पार्टीले टिकट दियो बहिनी मलाई। यो चुनावमा म जनप्रतिनिधि भएर उठ्दै छु नि।’

प्रकाशित: ६ कार्तिक २०७८ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App