११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सपनाको देश अमेरिका घुम्दा

काठमाडौंको त्रिभुवन विमानस्थलबाट असार १९ गते २०–२२ घन्टाको हवाई यात्रा गरी सकुशल अमेरिकाको सिकागो पुगियो। सिकागो विमानस्थल झर्दा आम नेपालीको सपनाको देश अमेरिका साँच्चिकै सुन्दर र भव्य लाग्यो। 

लामो समयको हवाईयात्रामा बादलभित्र घुस्रँदै र निस्कँदै गर्दा बेलाबेला जमिनमा देखिने विशाल समुद्र र सहरको दृश्यावलोकन जति रोचक र रोमाञ्चक थियो, त्रास पनि उत्तिकै। सिकागो विमानस्थलमा झरेर आफ्नो गन्तव्यतर्फ लम्कँदै गर्दा जताततै इलेक्ट्रिक भर्‍याङका साथै वरपर देखिने झिलिमिली, चिल्ला फराकिला सडक र गगनचुम्बी भव्य भवन देख्दा विश्वभरका नागरिकका अमेरिका सपना उसै उर्लिएको होइन रहेछ भन्ने लाग्यो। 

सिकागो विमानस्थलबाट बाहिरिँदै गर्दा छोरा प्रशान अँगालोमा बेरिन आइपुग्यो। ६ वर्षपछिको हामी आमाछोराको आत्मीय भेट। केही समयको आत्मीयता र भलाकुसारीपछि नजिकैको होटेलतर्फ छोराको कार हुइँकियो।  

भोलिपल्ट सिकागोको केन्ट डाउन सिटी घुमियो, धुँवा–धुलोरहित विशाल सडक, गगनचुम्बी भवनहरू र वरिपरिको हरियालीले मन लोभ्याइरह्यो। सिकागोस्थित प्रसिद्ध मिसिगन तालमा डेढ घन्टा पानीजहाजमा यात्रा गर्दा तालको दुवैतर्फ किनारामा डेढ सय तलासम्मका अनगिन्ती भवनसँगै देखिएको विशाल गगनचुम्बी ट्रम्प टावरले विशेषः ध्यान खिच्यो। हामीले ट्रम्प टावर नजिकै उभिएर फोटो पनि खिच्यौँ। दिनभरि सिकागो सहर घुमेर भोलिपल्ट दिउँसो छोरा प्रशान बसेको राज्य मिनेसोटाका लागि प्रस्थान गरियो। कारमा करिब १० घन्टाको लगातारको यात्रापछि मध्यरातमा अपार्टमेन्ट पुगेर हामी सुत्यौँ।  

दुई दिनको विश्रामपछि मिनेसोटास्थित मिसिसिपी नदी र त्यसको आसपासमै रहेको सेन्टक्लाउड विश्वविद्यालयको प्राकृतिक तथा भौतिक सौन्दर्यले मन खिच्यो। छोराले कम्प्युटर साइन्समा ब्याचलर डिग्री उत्तीर्ण गरेको उक्त विश्वविद्यालयमा विश्वभरबाट वार्षिक करिब १०–१२ हजार विद्यार्थीे अध्ययनका लागि आउने रहेछन्।

विशाल क्षेत्रफल ओगटेको सेन्ट क्लाउड विश्वविद्यालयको भौतिक संरचना, सरसफाइ र वरपरको हरियाली वातावरण देख्दा राजनीतिले गाँजेको नेपालको त्रिभुवन विश्वविद्यालयको विरूप व्यवस्था सम्झेर ग्लानि भयो। 

९ र १० कक्षामै भूगोल विषयमा पढेको मिसिसिपी नदीलाई हाल आफ्नै पाइलाले पछ्याउँदै आँखाले स्पर्श गर्न पाउँदा खुसीको सीमा रहेन। नदी किनारमा लस्करै रहेका रुख र बगैँचाले नदीको सौन्दर्य अझ बढाएझैँ लाग्यो। अर्को दिन मिनियापोलिसमा अवस्थित मिनेहाहा फल्स घुम्न जाँदा देखिएको पर्यटकको बाक्लो उपस्थितिले नेपालमा छरिएर रहेका ताल झरनाको स्मरण गरायो। त्यहाँका प्रत्येक छाँगा, छहरा, ताल र पार्क पर्यटकका आकर्षणका केन्द्र बनेका रहेछन्। हवार्ईजहाजको गतिसरी देश विकाससम्बन्धी चिन्तन यात्राभर उर्लिरहे।

विशाल ताल, समुद्र र छाँगा छहरामा नुहाउन र पौडी खेल्न जानेको लर्को बढाएर अमेरिकाले देशका हरेक क्षेत्रलाई आकर्षण र आम्दानीको गतिलो स्रोत बनाएको रहेछ। ठुल्ठूला फाँटमा भएका आधुनिक व्यावसायिक खेती र व्यवस्थित सिँचाइ सुविधा देख्दा राजनीतिक अन्योल र कृषि कर्म उपेक्षित हुनाका कारण नेपालका उर्वर कृषि क्षेत्र पर्तीमा परिणत हुँदै गएको सम्झेर औडाहा छुट्यो।  

अमेरिकाले जलमार्ग, हवाइमार्ग, स्थलमार्ग र सुरुङमार्गलाई समेत विकास र आयआर्जनको उत्कर्ष माध्यम बनाएको देखेर ताज्जुब लाग्यो। बगैँचा, विश्राम स्थल, नदी वन र छाँगाछहरा, म्युजियम, चिडियाखाना लगायत स्थलको संरक्षण, व्यवस्थापन र भौतिक सुविधा बढाउँदा त्यस्ता ठाउँलाई राम्रो पर्यटकीय क्षेत्र र आम्दानीको गतिलो माध्यम बनाउन सकिँदो रहेछ भन्ने ज्ञान त्यहाँको भ्रमणले गरायो। सिकागो, म्युनेसोटा, भर्जिनिया, वासिंटन डिसी, बोस्टन, मेरिल्यान्ड, साउथ क्यारोलोना न्युयोर्र्क, न्युजर्सी, दुलुथ लगायत थुप्रै ठाउँका पैदलयात्रा, जलयात्रा, स्थलयात्रा, हवाइयात्रा र सुरुङयात्रा निकै रोमाञ्चक रह्यो। 

वासिङटन डिसीमा अवस्थित ह्वाइटहाउस, मोनोमेन्ट, मेमोरियल पार्क भ्रमणदेखि न्युयोर्र्कको लामो सुरुङ रेलयात्रा र पानीजहाजको यात्राले बारम्बार अमेरिका युरोप घुमेर देखेर पनि देश विकास निर्माणको योजना अघि बढाउन नसक्ने नेता नेतृ र नेतृत्वहरू सम्झेर घृणा जाग्यो।

मेरिल्यान्डमा अवस्थित छ, माइल लामो पक्की पुल, न्युयोर्कको लिंकन टनेल, समुद्रबीचको स्ट्याचु अफ लिबर्टी, ट्विनटावर, वल्र्ड ट्रेड सेन्टरका साथै हड्सन नदीको देख्दै अचम्म लाग्ने बु्रखलिन पुल, बोस्टनको चाल्र्स नदीमा माथितल सार्न मिल्ने पुल अनि म्युनेसोटाको दुलुथस्थित सुपेरियर तालमा अवस्थित एरियल लिफ्ट ब्रिज जुन तल झार्न र माथि सार्न मिल्ने खालका पुल आदि भौतिक विकासको उन्नत अवस्था अवलोकन गर्ने मौका मिल्यो।

अमेरिकामा समुद्रमुनि रेल र गाडी चल्ने फराकिला सुरुङ र समुद्रमाथि जताततै विशाल पुल निर्माण गरेर असम्भव भन्ने कुरा केही छैन भनेजस्तो गरी भएको विकास निर्माणको कार्य देख्दा नेपालमा दलहरूको रडाको र राजनीतिक अस्थिरताले विकास निर्माणले गति लिन नसकेको सम्झेर मन खिन्न भयो ।

हिमालयन, लुम्बिनी, लालुपाते, लालीगुँरास, होली आदि नाम राखेर खोलिएका नेपालीको रेस्टुरेन्टमा खोजीखोजी खाना खान पुग्नेको लस्कर देखेर खुसी लाग्यो। नेपाली खानाको विविध प्रकार र स्वाद अनि पस्केर खान दिने शैलीले नेपालीलाई मात्र नभई विदेशी ग्राहकलाई समेत उत्तिकै तानेको रहेछ। असनका बासिन्दाले दश वर्ष अघिदेखि मिनियापोलिस सहरमा चलाएको हिमालयन रस्टुरेन्टको भित्तामा कुदेको हिमालय तथा लुम्बिनीको चित्रले हाम्रो समेत ध्यान खिच्यो। 

पनिरको तरकारी र गुन्द्रुकको अचारको स्वाद भुल्न नसकेर हामी अर्को दिन पनि सोही रेस्टुरेन्टमा पुग्यौँ। काँचै खाइने सलादलाई अमेरिकनले खानामा प्रशस्तै प्रयोग गर्दा रहेछन्। स्वस्थ, पौष्टिक र गुणस्तरीय खाना अमेरिकाको परिचायक नै बनेको रहेछ। सहरमा जस्तै सेवा–सुविधा पाइने भएकाले युवाहरू सहरभन्दा गाउँमै बस्न रुचाउँदा रहेछन्। कामको व्यस्ततासँगै विकेन्डका समयमा घुमफिर र मनोरञ्जनलाई त्यहाँ बस्नेले धेरै प्राथमिकता दिँदा रहेछन्। 

हरेक कुरामा थोरै मात्र गल्ती गरे पनि घरमै पत्र आइपुगी हाल्ने र जरिवाना तिर्नुपर्ने भयले कानुनको पालनामा सबै सजग हुँदा रहेछन्। अमेरिकामा राज्यपिच्छे दुई–चार घन्टाको समय फरक पर्ने र बेलुका ९ बजे मात्र घाम अस्ताउने रहेछ। स्वास्थ्य बिमा नगरी उपचार खर्च धान्नै नसक्ने हुनाले त्यहाँ बस्ने नेपालीआफन्तका लागि स्वास्थ्यसेवा लिन तर्सिएको देखेर कैयौँ रोगको उपचारका लागि अमेरिका छिर्ने हाम्रा नेता नेतृ र नेतृत्वको लस्करले बर्सेनि राष्ट्रिय ढुकुटीबाट कति रकम स्वाहा पार्दा हुन् भन्ने खुल्दुली चलिरह्यो।  

जीवन स्वयं पनि एक अनन्य यात्रा हो। यही यात्रा क्रममा महिनौँसम्म अमेरिकाको लोभलाग्दो दश्य आँखाभरि कैद गर्दै त्यहाँको भौतिक उन्नतिमा रमाइरह्यौँ हामी। ठाउँठाउँमा राखिएका कलाकार, नेता नेतृ र सेनाका मूर्तिलाई अँगालेर रमाउँदै फोटो खिच्नेको भीड नै लाग्दो रहेछ। यात्राका क्रममा धेरै विदेशीहरू हाई–हेल्लो भन्दै बोल्न आइपुग्थे। 

नेपाल भनेर कसैले नचिन्ने तर आई एम फर्म माउन्ट एभरेस्ट भनेपछि धेरैका कान र आँखा चनाखा हुने रहेछन्। श्रीमान् र छोरासँग विदेशीले बढाएको संवाद र सम्बन्धले यात्रालाई रमणीय बनाइरह्यो। पच्चीस तले भवनको अठारौँ तलामा दुई रात बसेर न्युयोर्कको रमझम नियाल्ने अवसर जुराउने देवरबाबु जयराम बरालको आतिथ्य सत्कारले हामी गद्गद् भयौँ। यात्रामा भेटिने भिन्नभिन्न आफन्त र शुभेच्छुकसँगको कुराकानीमा नेपालको राजनीतिक अराजगता र अस्थिरताको विषयले प्रवेश पाइरह्यो। 

अमेरिकाले आफ्नै पौरख र लगानीमा ५० राज्यमा त्यत्रो भौतिक विकास, कानुनको पालना र राष्ट्रिय सम्पदाको संरक्षण गरेको छ भने ५० तिरबाट सहयोग र साथ कुम्ल्याउने नेपाल सरकारले हाम्रो सानो देशको विकास निर्माण र कानुनको पालना गर्न किन नसकेको हो भन्ने प्रश्न हामीमाझ यात्राभर उठिरह्यो। देशभर उच्च भौतिक विकास, स्वस्फूर्त कानुनको पालना, राजनीतिक स्थायित्व, सरसफाइ र हरियालीको लोभलाग्दो दृश्यले अमेरिकाले साँच्चै घुम्नैपर्ने देशका रूपमा विश्वमाझ आफूलाई उभ्याएको महसुस भयो।  

घुम्नैपर्ने अनगिन्ती ठाउँहरू अर्कोपटक आउँदा घुम्ने अठोट गर्दै हामी नेपाल फर्कने योजनामा लाग्यौँ। डेढ महिनाको अमेरिका बसाइपछि आफ्नै भूमि टेक्ने उत्कण्ठाले नेपालको त्रिभुवन विमानस्थल ओर्लंदा अध्यागमन विभागमा चेकजाँचमा भएको झमेला र ढिलासुस्तीले नैराश्यता पैदा गर्‍यो। 

वर्षौं विदेश बसेर आफ्नो भूमि टेक्न पाउँदा खुसी भएका कैयौँ नेपाली त्रिभुवन विमानस्थलको अव्यवस्थित वातावरण र कार्य प्रणाली देखेर रोष प्रकट गर्दै थिए। काठमाडौं विमान स्थलमा उत्रिएर लगेज समाउँदा दुवै लगेजको एक पाखो पूरै च्यातिएको रहेछ। आफ्नै देशको विमानस्थलमा सामानको असुरक्षाप्रति खिन्न हुँदै कतै सामान हराएको छ कि भन्ने आशंकाले मन अत्तालिए पनि हामी केही नबोली घरतर्फ लाग्यौँ। 

प्रकाशित: २३ आश्विन २०७८ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App