प्रकाश खड्का अभियान
प्रेम विवाह हुन नसकेकोमा इन्दिरा दुखी थिइन्। त्यसैले लोग्नेसँग बेखुशी थिइन्। उसले जे गरे पनि खोट मात्र देखाउँथिन्।
विराजले आफ्नो बुढी रमिकालाई कति माया गर्छन्। गरगहनाले पुरिदिएका छन्। स्कूटी किन्देका छन्। आफ्नो भने भाग्य फुटेको भन्दै लोग्नेलाई सराप्थिन्। दिनहुँ उनीहरू लड्थे। जति लडे पनि लोग्नेले बोल्न भने छोडेनन्। घर आउन ढिलो भए, कोसँग सुतेर आयो ? भनेर छुच्चो वचन बोल्थिन्। आमाबुबालाई पनि कस्तो लोग्ने पारिदिए। केही नबुझी छोरी दिए भनेर गुनासो पोख्थिन्। लोग्ने यस्तोउस्तो भनेर नसनातालाई सुनाउँथिन्। अनि उल्टै मेरो कुरा लगाइस् भनेर झगडा गर्थिन्।
एकदिन रमिका रुँदै आइन्। आफ्नो लोग्ने अर्काको स्वास्नीसित सल्केको अनि उसको लोग्नेले रंगे हात पक्रेर मिडियामा बुझाएको कुरा सुनाउँछिन्।
– हैन रमिका, तिम्रो त प्रेम विवाह भएको होइन र ? फेसबुकमा फोटा हाल्दा कति मिलेको मुनामदन जस्तो जोडी भन्थे। जहाँ गए पनि एकछिन छुट्टिने पनि थिएनौ। तिमेरका जोडी देखेर सबै ईष्र्या गर्थे।
– हैन इन्दिरा ! सुरुका केही वर्ष राम्रै थियो। पछि कोही केटासँग बोल्यो कि शंका गर्थे। दाइजो नपाएको निहुँमा पिट्ने गर्थ। यौन प्रताडना दिन्थे। केही न केही बाहना गरेर झम्टिरहन्थे।
जे भए नि भाग्यसँग सम्झौता गरेको थिए। लालावालाको मुख हेरेर बसेथे। सुधार्ने हरप्रयास गरेथे तर आज आएर अर्कैको भयो। मेरो त जहाजै डुब्यो, इन्दिरा। अब, म को भनेर बाँचौ ?
– नरो बा, हामी दुवै गएर महिला संघ गुहारौला। तिम्ले अवश्य न्याय पाउनेछौ। इन्दिराले सम्झाइबुझाइ घर पठाएथिन्।
त्यो घटनापछि इन्दिरामा कायापलट नै भयो। आफूलाई संसारकै भाग्यमानी नारीमा राखिन्। लोग्नेलाई देवताजस्तो सम्मान दिन थालिन्। अरू त अरू भाग्य यस्तोउस्तो भनेर त्यसपछि कैल्यै गुनासो गरिनन्।
प्रकाशित: १३ आश्विन २०७८ ०६:५२ बुधबार