लता केसी
ऊ जिद्धीवाल थियो भन्ने कुरा सबैलाई थाहा थियो। आफ्नो विचार मात्रै सही हो भन्ने मान्यता राख्थ्यो। तर्कवितर्कमा कहिले कसैसंग हार्न चाहादैनथ्यो। आफ्नो विचार अरूमाथि थुपार्न खोज्थ्यो। स्वभावकै कारणले ऊ धेरैबाट अलग्गिएको थियो। उसको घरबाट अलि पर चौतारा थियो । सधैझैँ ऊ गफ्फिन पुग्यो। उसका केही सहृदयी मित्र पनि आए।
एउटाले असन्तोषको भाव पोख्दै भन्यो , ‘दाइ, तपाईँलाई मानिसहरूले घमण्डी किन भनेका ?’
उसले तर्क राख्यो, ‘मेरो विद्वताप्रति जलेर हो नि !’
अर्कोले थप्यो, ‘त्यो मान्छेबाट परै बस्नू’ भनेर किन भनेका होलान् , फेरि ?’
उसले हाँस्दै भन्यो, ‘मान्छेको स्वभाव हो , भाइ ! सामान्य लिनुपर्छ।’
कुराकानी जम्दै थियो । दुई जना भाइ थपिए । उनीहरूले सबैको कानमा खुसुरफुसुर गरे अनि मिलोमतोमा सबैजना जिन्दावादको नारा लाउन थाले, ‘हाम्रो दाइ , जिन्दावादजिन्दावाद ! समाजसेवी दाइ , जिन्दावाद !’
एउटा भाइले खित्का छाड्दै भन्यो, ‘गफाडी दाइ, तिमीले यो पुरस्कार काम गरेर पाएको कि कुरा गरेर ?’
ऊ अलमल्लमा पर्यो। हतारमा नै भन्यो, ‘खै ?’
प्रकाशित: ७ आश्विन २०७८ ०७:३५ बिहीबार