२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लेख्नैपर्ने कथा

कविता

होमनाथ खनाल

आज दिन शून्य लाग्यो, शहरभित्र पनि,

देखी भेटिहाल्छु भनी, खोजिरन्छु अनि।

शहरको कोलाहलमा, गाडी कुदेसरि,

यो मन सधैं दौडिरन्छ, वायुवेगसरि।

 

हिँड्ने–डुल्ने, खाने–बस्ने, कस्तो ठाउँ होला,

इष्टमित्र साथीभाइ सँगै रम्ने होला।

वारिपारि डाँडाकाँडा, हरियाली बन,

यस्तो हेर्दै बस्या होला, खुशी होला मन।

 

यस्तै सम्झी बस्या छु म,तिम्रै याद गरी,

जतिखेरै तिम्रो याद, यो मन मुटुभरि।

आउन मन लाग्छ धेरै, तिमी बसे ठाउँमा,

प्रकृतिले भरिएको, तिम्रो सुन्दर गाउँमा।

 

आफ्नो भन्दा आफ्नो तिमी, नजिक सबैभन्दा,

तिमी  आउने समय को, दिन गन्दागन्दा।

दिन बित्छन् यस्तै सम्झी, लेख्छु कथाव्यथा,

इतिहास बन्यो एउटा, लेख्नै पर्ने कथा।

प्रकाशित: ७ आश्विन २०७८ ०६:१६ बिहीबार

अक्षर