अल्पविराम पोखरेली
–मैले परमधामको यात्रा गरेको बाउन्न वर्षपछि बल्ल आज तिमीले पठाएको पितृ खर्च हात पर्याे बाबु ! ढिलै भए पनि धन्यवाद छ।
मैले भनेँ–होइन बा ! मैले त वर्षमा दुई पटक तपाईलाई र दुई पटक आमालाई अनि बा’को मुख हेर्ने तथा आमाको मुख हेर्ने औंसीमा श्रध्दाञ्जलीस्वरूप श्राद्ध गरेर पण्डित पुरोहित हस्ते पितृ खर्च पठाउँदै आइरहेको छु।
बा’ले भन्नुभो– खोई त मैले पाउन सकेको थिइन त ! आज कसरी पाइयो त नि ?
एकाउन्न वर्षदेखि मैंले पठाएको पितृ खर्च प्राप्तिको जवाफ नपाएपछि मैले पण्डित पुरोहितको सट्टा दृष्टिविहीन अपाङ्ग – असहायहरूलाई मेरो गच्छेले भ्याएसम्म द्रव्य तथा भोजन दान गरेको थिएँ ; त्यो आजको आजै पुगेछ हगि बा !
– ठीक गरिस् बाबु भनेर बाले मलाई कन्धामा ड्याम्म धाप मार्नुभो। म झल्याँस्स बिउँझें। बिउँझिंदा थाहा पाएँ , त्यो आत्मसन्तुष्टिको सपना रहेछ।
प्रकाशित: २३ भाद्र २०७८ ०३:२७ बुधबार