११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

कमेडी च्याम्पियनका फाइनलिष्ट भरतमणिलाई गृह जिल्लामा भव्य स्वागत

कमेडी च्याम्पियनको उत्कृष्ट ३ (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ। 

पौडेललाई ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका नागरिकहरुको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो। उनको स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वस्फुर्त रुपमा घरको अगाडि घडा सजाएका थिए। 

कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूल, माला, खादा र अबिर प्रदान गरेका थिए। पौडेलले काबेली बजारबाट आशिर्वाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए। उनको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर ताली बजाउँदै ‘भरतमणि हाइ–हाइ' भन्दै उनलाई अझ प्रगतिको शुभकामना दिएका थिए। ‘मेरो कलाको सम्मानका लागि उहाँहरुले गर्नु भएको यो कार्यलाई मेरा पक्षमा गरिएको प्रार्थना नै सम्झिएको छु’, पौडेलले भने। साेहीक्रममा उनले मतको अपिल समेत गरेका छन्।‘

अब एकपटक फेरि मेरो कलाको सम्मानका लागि तपाईहरुले भोट खर्चेर कमेडी च्याम्यिपन सिजन २ को बिजेता बनाउन पहल गर्नुपर्ने छ’, पौडेलले भने। सोमबार काठमाडौबाट भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै पौडेललाई र्‍यालीसहित बिर्तामोड पुर्‍याइएको थियो। ‘झापामा भव्य स्वागत र सम्मान भयो’, भरतमणि जिताऊ अभियानका एक सदस्य केशव आचार्यले भने। 

झापामा छोटो प्रहसन सकेपछि इलाम हुँदै पाँचथर आइपुगेका उनलाई फिदिम बजारमा स्वागत गरिएको थियो। ‘उहाँको कलाले सबैलाई मोहित बनाएको छ’, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बाँस्कोटाले भने। भरतमणि नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका सदस्य पनि हुन्। ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले उमेर कलिलो तर गहिरो र रोचक कला रहेका भरतमणि कलाकै मणि भएको प्रतिक्रिया दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्व युवराज पारस, पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेता राजेन्द्र महतोसहितका सयौं व्यक्तिको स्वर दुरुस्तै बोल्न सक्ने क्षमताका भरतमणि पछिल्लो समय पूर्व युवराज पारसको अभियनबाट निकै चर्चामा छन्। 

पूर्वमन्त्री बाँस्कोटा र महतो तथा राष्ट्रियसभाका सांसद रामनारायण बिडारीको स्वर केन्द्रित रहेर उनले गरेको डेरा खोज्ने अभिनय, बेरोजगार युवाहरुका पक्षमा व्यङ्गमार्फत गरिएको प्रहार, बुढेसकालका बुबाआमालाई वृद्धाश्रम पठाउने छोराछोरीविरुद्ध उनका पछिल्ला प्रस्तुतिले चोटिलो सन्देश दिएको छ। 

भरतमणि कमेडी च्याम्पिनका सर्वाधिक प्रफोमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन्। उनीसंगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन्। अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ।

प्रकाशित: २२ भाद्र २०७८ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App