२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

अनिच्छित सम्बन्ध

कथा

‘सोचेको जस्तो हमेसा हुन्न। कल्पेजस्तो हरदम हुन्न। जब कल्पना र यथार्थको चक्र विपरीत घुम्छ, तब कथा दुःखान्तमा टुंगिन्छ।’ यति भनेर उसले टेबलको गिलास उठायो। गिलास आधा भरिएको थियो। हल्का गिलासलाई हल्लायो। आइसका टुक्रा एकापसमा ठोक्किएर कडककडक आवाज निस्कियो। दुई–चार थोपा टेबलमा छचल्कियो। एक चुस्की ह्विस्कीपछि चुरोटको लामो सर्को तान्यो र  धुवाँको मुस्लो छाड्यो। उसको र मेरोबीच धुवाँको पर्खाल बन्यो।

भर्खर साँझको ७ बजेको थियो। कोरोनाको हल्ला चल्न थालेकाले रेस्टुरेन्टमा रौनक भने घट्न थालेको थियो। हामी दुईबाहेक पल्लो कुनाको काउचमा चार ठिटाठिटी सेल्फी लिन व्यस्त थिए। त्यसबाहेक बाँकी खाली खाली। कितारोको सिल्करोड मधुरो पाराले बज्दै थियो। ब्याकग्राउन्ड म्युजिकले वातावरण सुनसान हुन भने दिएको थिएन।

‘यस्ता कथा बिर्सनु नै बेस।’ उसले फेरि कुरा सुरु गर्‍यो। मैले आफ्नो ध्यान ऊतिर मोडेँ। ऊ भन्दै थियो, ‘कहिलेकाहीँ  चकमन्न रातमा एकतमास झ्याउँकीरीको आवाजले धेरै कुराको सम्झना गराउँछन्। कति बिर्सिएका कथा यादको बुई चढेर बुर्कुसी मार्दै मानसपटलमा आइपुग्छन्। यस्ता कुरा प्रायः कसैलाई सुनाइन्न। मनमै दबाइन्छ। कुनै बेला भने यस्तो लाग्छ कि मन हलुंगो पार्न भए पनि सुनाउन जरुरी छ। फेरि घटना यसरी घट्न थाल्छन् कि लाग्छ सुनाउन अझ जरुरी छ।’

म चनाखो बनेँ।

ऊ आफ्नो कथा भन्दै गयो–

मेरो अँगालोको कापबाट ऊ फुसफुसाउँथी, मधुरो स्वरमा। मानौं आफैँसित बर्बराउँथी। ‘मलाई कहिल्यै नछोड्नू ल। मलाई छोड्यौ भने मार्दिन्छु।’ उसको कुराले एक मन हाँस उठ्थ्यो। तर यति मिठासपूर्ण ढंगले मलाई मार्छु भन्थी कि स्वतःस्फूर्त आफ्नो ज्यान उसको पोल्टामा हाल्दिउँझैं लाग्थ्यो।म मुसुमुसु हाँस्दै उसका कुरा सुन्थेँ।उसका कैला कपाल केलाउँथेँ। थोरै झुक्थेँ। आँखा चिम्म गर्दै आश्वस्त पार्थेँ। मेरो इसाराको भाषा ऊ बुझिहाल्थी। खुसीले पुलकित हुन्थी। आकाशको झलमल जूनझैँ उजेलिन्थी।

कहिलेकाहीँ उसकै घर छेउछाउ अबेर साँझ भेट्थ्यौं। पारि खेतको वनमारा झ्याङमा झ्याउँकीरीको आवाज एकतमासले आइरहँदा ऊ भने मेरो काँधमा शिर टिकाएर उसैगरी कानमा सुस्तरी फुस्फुसाउँथी, ‘तिमी बिनाको जिन्दगी म कल्पना पनि गर्न सक्दिनँ। मलाई तिम्रो बानी परिसक्यो। तिमी नभए म जिउँदै मर्छु... सत्ते।’ 

सुन्दा ‘क्लिसे’ लाग्छ। रोमान्टिक किताबमा पढ्दै आएको, सिनेमामा सुन्दै आएको ‘क्लिसे’ प्रेमिल संवाद। उनकै मुखबाट पनि कैयौँपटक सुनिसकेथेँ। जतिपटक सुन्थेँ, मज्जा भने लाग्थ्यो– हरेकपटक। उसलाई भेट्न आउनु अघिको भारी मन सिमलको भुवा बनेर पातैपात अकासिन्थ्यो। तिनै सिमलका भुवालाई आफ्नो बाहुपासमा जकडेर सिर्सिर बग्ने चिसो हावाको स्पर्शले हो वा उसका मीठा कुराले हो, मेरो रापिलो मनलाई औधि शीतलता दिन्थ्यो– हरेकपटक।

मलाई तिनै शीतलताको लत परेको थियो। एउटा दुव्र्यसनीलाई दुव्र्ययसनको लत परेझैँ। हरेक हावाका झोँक्काले हिर्काउँदा उसका केशराशिबाट निक्लिने मगमगाउँदो सुवासमा लट्ठिने लत परेको थियो। उसको अनुहारमा खेल्ने मन्द मुस्कानमा लुकेको मप्रतिको अथाह माया अनुभूत गर्ने लत परेको थियो। लत न हो, हरेक दुई दिनमा औडाहामा पर्थें। उकुसमुकुस भएको मनलाई किञ्चित् शान्त पार्न उसको सामीप्यता खोज्थेँ। र, म पुग्थेँ उसका सामु। घरमा आमाको रडाकोलाई लत्त्याउँदै।

रीमा कसिंगर थिई। फोहोरको डंगुर थिई। प्लेग थिई। क्यान्सर थिई। अभिशाप थिई।आफ्नो छोरोलाई बिगार्ने बाइफाले थिई। के पो थिइन, मेरी आमाका लागि ऊ। म अचम्भित हुन्थेँ कि यति विघ्न घृणा एउटी आइमाईले अर्की आइमाईलाई कसरी गर्न सकेकी होलिन् ? कस्तो असमञ्जस परिस्थिति ! कस्तो विडम्बना ! मेरो जिन्दगीका दुई प्रिय नारी पात्र नदीका दुई किनार। कदापि मिल्ती नहुने। म न यता किनारको, न उता किनारको।

मेरी आमा यस्ती थिइनन्। पटक्कै थिइनन्। उनी त ममताकी प्रतिमूर्ति थिइन्। जस्तो हरेक आमा हुन्छन्। सायद अझ बढी थिइन्। मेरा हरेक इच्छालाई आँखा चिम्लेर स्विकार्थिन्। जसरी भए पनि पूरा गर्ने प्रयास गर्थिन्।तर त्यो घटनाले आमालाई अर्कै मानिसमा रूपान्तरित गरिदियो।

पल्लो कुनाको काउचमा बसेका चार ठिटाठिटी ठुल्ठूलो आवाज गर्दै हाँस्न थाले। खलबलिएको आफ्नो एकोहोरो संवाद रोकेर उसले मतिर पुलुक्क हेर्‍योे र फिस्स हाँस्यो। ‘बोर त भा’छैन नि, पवनजी ?’

‘छैन, छैन। बरु अलि थप्नुहुन्छ कि, भुवनजी ?’ बोतल उचाल्दै मैले भनेँ।

‘प्लिज।’ उसले खाली भइसकेको गिलास अघि सार्‍योे  । मैले अड्कलेर अन्दाजी एक पेग गिलासमा खन्याएँ। ‘थाहा छ, पवनजी ! तपाईंसित मेरो खुब जम्लाजस्तो छ।तपाईंले अफिस ज्वाइन गरेदेखि मैले तपाईंबाट एकदम पजेटिभ भाइब्स पाइरहेको छु। आई थिंक वी विल ह्याभ अ ग्रेट टाइम टुगेदर। म टेक्निकल पर्सन, तपाईं हिसाबकिताबको एक्स्पर्ट। तपाईंको र मेरो नामै पनि क्या मिल्या छ भन्या। डिड यु नोटिस द्याट ? छन्दे कविता नै बन्लाजस्तो। भुवन, पवन ! हा हा हा !’

ऊ आफ्नै भनाइमा मरिमरी हाँस्यो। नशा चढ्न थालेछ क्यारे ! तर फेरि तुरुन्तै गम्भीर बन्यो र आफ्नो कथालाई निरन्तरता दियो।

मेरो बुवाको मेरी आमासँग मागीविवाह भएको थियो। तर विवाह बुवाको इच्छाबेगर भएको थियो। परिवारको करकापले भएको एउटा अनिच्छित विवाह त्यो। अनि म त्यसको प्रतिफल– बुवाको अवाञ्छित सन्तान। त्यसैले बुवाबाट मैले कहिल्यै माया पाइनँ। त्यसैले होला, आमाले मलाई बुवाको भागको माया पनि दिइन्। हामी आमाछोरालाई बुवाले शत्रुवत् व्यवहार गर्नुहुन्थ्यो। म बुवासँग डराउँथेँ। अघि पर्न पनि तर्सिन्थेँ। फलतः म आमाको नजिक हुन थालेँ।

बुवा भने झन्झन् टाढिन थाल्नुभयो। घर ढिलो आउनु उहाँको दिनचर्या नै हुन थाल्यो। कहिले त दुई–चार दिनसम्म घर फर्कनुहुन्नथ्यो। टोलमा गाइँगुईं चल्न थाल्यो कि बुवाले बाहिर कुनै महिलालाई राखेका छन्। आमाले यसबारे केरकार गर्दा खुब पिटाइ खाइन्। म सानै थिएँ। डरले सिरकमा गुटमुटिएर लुकेको थिएँँ।

एक दिन बुवाले घर छाडेर हिँडे। सुनेँ कि तिनै महिलासँग अर्कै घर लिएर बस्न गए, अर्कै सहरमा। मेरी आमा छाँगाबाट खसेझैं भइन्। यस्तो अवस्थामा समेत घरपरिवारले आमालाई नै दोषी ठहराए। पोईलाई काबुमा राख्न नसक्ने भनी हेय दृष्टिले हेर्न थाले, खुब सताउन थाले। दिनानुदिनको कचकचबाट आजित भएर आमाले पनि त्यो घर छाडिन्। तर, मुद्दामामिला गरी अंशभाग भने लिई छाडिन्। त्यही सम्पत्तिको मद्दतले, आमाको दृढ विश्वासले र मेरो अथक मेहनतले म आर्किटेक्ट बन्न सफल भएँ।

बुवाले छाडेर गएपछि आमामा भने ठूलो परिवर्तन आयो। पराई महिलाले आफ्नो लोग्ने खोसेर लगेको पीडा कहिल्यै भुल्न सकिनन्। घाउ कहिल्यै पुरिएन। बरु छोरोलाई पनि कसैले खोसेर लग्ला भनेर सशंकित रहन थालिन्। कुनै स्त्रीपात्रसँगको मेरो हिमचिमलाई शंकाको दृष्टिले हेर्थिन्। विडम्बना भनौं, रीमासँग मेरो प्रेम बस्यो, जुन मेरी आमालाई स्वीकार्य भएन। दिनानुदिनको आमाको रडाको, घुर्की, धम्की, रुवाबासीका अगाडि म बिस्तारै कमजोर बन्दै गएँ। 

आमाले मेरा लागि गरेका त्याग तपस्याको ऋणमुनि दबेको पनि थिएँ म। रीमाले मलाई दिएको गाढा माया पनि मातृऋणको सामु फिका लाग्न थाल्यो। अन्तमा आमाको खुसीका लागि मैले रीमालाई तिलाञ्जलि दिएँ। आमाले इच्छाएकी महिलासँग अनिच्छित सम्बन्ध गाँसेँ। यसरी मेरो प्रेमकथाको दुःखान्त भयो।

रीमालाई दिएको धोकाले निकै समयसम्म मलाई पागलतुल्य बनायो। त्यसको बयान म कसरी गरुँ ! तर बिस्तारै प्रारब्धलाई स्विकारेँ। अनिच्छित सम्बन्धसँग सम्झौता गरेँ। तिनमा भविष्य खोज्न थालेँ। लागिरह्यो कि मैले रीमालाई दिएको धोकाको  

सजाय कुनै दिन अवश्य पाउँछु होला। पाएँ भने पनि गुनासो रहनेछैन। मलाई सन्तुष्टि यसैमा छ कि उसले जिन्दगीमा अघि बढ्ने निर्णय अठोट लिई। सुन्छु, उसले पढेर राम्रो जागिर गरेकी छे र बिहे पनि गरेकी छे, जो एक कार्यालयको अकाउन्टेन्ट हो।

यति भनेर ऊ लामो समय मौन रह्यो।

म पनि मौन रहेँ। मन भने भतभती पोलिरह्यो। म भन्न सक्दिनथेँ कि त्यो अभागी एकाउन्टेट मै हुँ। अनि यो पनि भन्न सक्दिनथेँ कि उसले दिएको धोकाको सजाय उसले हैन मैले भोग्दैछु। किनकि रीमा मेरी पत्नी भएर पनि पत्नी बन्न सकेकी थिइनन्। पहिलो प्रेमको मायाजालबाट उम्किन सकेकी थिइनन्। अनिच्छित सम्बन्धको भुमरीमा पिल्सिएकी थिइन्। त्यसैले म चाहन्थेँ, उसको मप्रतिको उदासीनता हटोस्। जे भयो भयो, अब आगे हाम्रो वैवाहिक जीवन सुमधुर बनोस्।  

म व्यक्तिलाई जान्न चाहन्थेँ, म बुझ्न चाहन्थेँ, जसले रीमालाई मेरी पत्नी बन्नबाट वञ्चित गरिरहेका छन्। त्यसैले मेरै योजनामा यो साँझको भेटघाट भएको थियो। म रीमाको पहिलो प्रेमबारे सबै कुरा बुझ्न चाहन्थेँ।

मेरा लागि यो भेटघाट सहज होइन। कसलाई के थाहा ! आफ्नी पत्नीको प्रेमकथा उनकै पूर्वप्रेमीको मुखबाट सुन्न कति कष्टकर हुन्छ भनेर। उसले दुःखान्त भन्दै आफ्नो कथा ढुक्कै सुनायो। उसलाई थाहा छैन कि उसको भन्दा बढी पीडादायी कथा मेरो छ। म त पटकपटक तिरष्कृत भएको पात्र पो हुँ। पत्नीले पतिका रूपमा स्वीकार नगरेको पात्र ! प्रेमिकाले प्रेमीको रूपमा स्वीकार नगरेको पात्र ! 

शीताष्मा, मेरो पहिलो प्रेम, जो मेरो निम्नस्तरको कमाईबाट आजित बनिन्। आत्तिइन्। आधुनिक युवतीका रंगीन सपनालाई मेरो तुच्छ कमाइले थेगेन। त्यसैले मलाई छाडेर गई। अनि कुनै धनी व्यक्तिसँग बिहे गरी। पक्कै सुखी बनी। उसलाई यो सबै कुरा के थाहा ! मैले भनेकै छैन। भन्नु पनि छैन।

हामीबीचको लामो मौनतालाई टेबलमाथि रहेको उसको मोबाइलको घन्टीले बिथोल्यो।

‘एक्स्क्युज मी।’ उसले माफी माग्दै फोन उठायो। ‘हेलो शीतु, हाउ आर यु बेबी ?’ उसले मोबाइललाई हातले छोप्यो र मलाई हेर्दै भन्यो, ‘माई वाइफ।’

उसले लिएको नाम सुनेर मेरो मन तरंगित बन्यो। म शीताष्मालाई शीतु भनेर बोलाउँथेँ।

‘आई एम सरी, डार्लिङ। जस्ट अबाउट टु लिभ... निक्लनै लागेको। ओके ओके... म आइहालेँ। कमन, नरिसाउ न। अफिसको साथीसँग छु के। डोन्ट वरी ! खाना खाएर बस न ल ! इन वन आवर, म आइपुग्छु। बाई स्विटी !’ 

‘छिटो घर आउनू रे। उर्दी जारी भो, गृहमन्त्रीज्यूको। हा हा हा !’ उसको हाँसोले रेस्टुरेन्ट गुञ्जायमान भयो।

उसले अचानक आफ्नो हाँसो रोक्यो, मेरो आँखामा एकटक हेर्‍योे  र भन्यो, ‘शीतु। शीताष्मा। मेरी पत्नी। तपाईं उसलाई राम्रै चिन्नुहुन्छ नि। हैन र ?’

उसले अनायास गरेको यो प्रश्नले म अवाक् भएँ। उसका ओँठमा खेल्दै गरेको मन्द मुस्कानले के भन्न खोज्दै थियो, मैले खुट्ट्याउन सकिरहेको थिइनँ।

प्रकाशित: १९ भाद्र २०७८ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App