प्रेम पुन मगर
छिमेकीहरू मलाई उक्साउदै भन्थे, “तेरो बुवाले तेरा दाजुलाई त औधी माया गर्छन्। तँलाइ साह्रै हेला गर्छन्।”
अर्काले भन्थे, “दुई भाइ छोरालाई पनि काखा र पाखा गर्ने बुवा कस्तो पापी , विद्रोह गर। अंश मागेर छुट्टै बस्।”
मैले पनि दुखी मनले “हो मा हो” मिलाउँथेँ। मलाई लाग्थ्यो, बुवाले सम्पूर्ण जिम्मेवारी र माया दाजुलाई सुम्पेका छन्। मलाई हेला गरेका छन्। पटक्कै रुचाउँदैनन्। फाल्तु सम्झन्छन्।
समय बित्दै गयो। यस्तै चल्दै गयो। मेरो मन जल्दै गयो। बुवा बूढो र अशक्त हुनुभयो।
दुई भाइमा निकै बेमेलको स्थिति पैदा भयो। बोल बाराबार भयो। म आफ्नै तरिकाले हिँड्न थाले। गाउँमा मेला थियो।
केटाहरूसँग भनाभन भयो। हानाहान पनि भयो। उनीहरू रिसको झोकमा थिए। जसरी हुन्छ, उनीहरूलाई जित्नु थियो। मलाई चोरी मुद्दामा फसाउन खोजे। विपक्षीका ठाउँमा नातागोता थिए। बहसमा उनीहरू बलिया भए। म निर्बल ठहरिएँ।
अशक्त बुवाले भन्नुभयो,“जा जेठा, भाइलाई बचा। खाएको बीस पो लाग्छ। त्यत्तिकैै आरोप लगाएर हुन्छ?”
बिहान मेरो पक्षमा बोल्ने बालकैदेखि व्यवहारले खारिएका दाजु भए। उनीहरूको झुठा मुद्दा झुठो नै ठहर भयो।
मैले दुश्मन सरह मानेको मेरा दाजु त मेरा संरक्षक पो रहेछन्।
आँसु झार्दै मैले क्षमा मागेँ।
“दाजुभाइ मिली गैरीगाउँ पेली।” बुवाले स्याबासी दिदै खुसीको आँसु झार्नुभयो।
प्रकाशित: ११ भाद्र २०७८ ०६:०१ शुक्रबार