१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

गोरुजात्रा

गाईजात्रा विशेष हास्यव्यङ्ग

राजकुमार लामिछाने

 

“कहीँ नभएको जात्रा हाडीगाउँमा” छिस्स केही भयो कि खिस्स मुख बङ्ग्याएर यो उखानको बखान गर्ने गरिन्छ। किन हाडीगाउँलाई नै कहीँ नभएको जात्राका लागि उखान बन्ने गरी बखान गरियो? के अन्त कुनै त्यस्तो उपयुक्त ठाउँ र गाउँ नभएको कारणले हो त ? जे होस् यस सन्दर्भमा कहीँ कतै यकीन बयान गरिएको पाइँदैन तथापि पहिला हाँडीगाउँमा धेरै प्रकारका जात्रा लाग्ने गरेको कारण यसो भनिएको होला भनेर हामीले अनुमानसम्म गर्न गर्छौं। त्यसैले यही उखानका आधारमा हाम्रो देशमा सबैभन्दा बढी चल्ने के हो भनेर कसैले सोधे आनाकानी नगरी भनिदिएहुन्छ जात्रा भनेर, कुनै फरक पर्दैन, कसैले केही गर्दैन। तपाई–हामी धेरै जान्ने र सबैले मान्नेमा पर्छांै। अमान्य नभै सबैको अगाडि गन्यमान्य र धनधान्य हुनु पनि अहिलेको जमानामा ठूलै कुरा हो नि, होइन र?

हाम्रा रीतिरिवाज, परम्परा तथा सनातनदेखि चली आएका विस्केट जात्रा, ठिमी जात्रा, चण्डेश्वरी जात्रा, रातो मछिन्द्रनाथको  जात्रा, त्रिशुल जात्रा, गाईजात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, महालक्ष्मी जात्रा, गुह्येश्वरी जात्रा, सेतो मछिन्द्रनाथको जात्रा, हरिसिद्धिको जात्रा, घोडेजात्रा.... यी आदि जात्रा हामीले मनाउँदै आएका  छौं तथापि कहिलेकाहीँ सोच्दै नसोचेका जात्राहरू एक्कासि हेर्न पाउँदा त्यतिबेला हामीलाई खड्किन थाल्छ कि हाम्रो देशमा मनाइने जात्राहरू साँच्चै कति प्रकारका छन् त ?

जात्राहरू सबैका आआफ्नै विशेषता र महत्व छन्। जात्राको विकास हामी कहाँ राम्रैसंग हुँदै गएको छ तथापि गाईजात्रा बढी लोकप्रिय र चर्चित हुन पुगेको छ। गाईजात्रा भन्नेबित्तिकै यति चाँडो सबैको कान ठाडो हुन्छ कि भनी साध्य छैन। जात्रा हेर्न बानी परेकाहरूलाई जुन जात्रा धेरै चल्छ सो जात्राप्रति रुचि हुनु स्वाभाविकै पनि हो। फेरि कुनै जात्रा फाप र कुनै जात्रा अफाप पनि हुन्छ तर यो जात्रा हाम्रो देशको हावापानी राजनीतिकर्मीहरूको आनीबानीअनुसार अति नै फापसिद्ध भएको छ। जस्तोसुकै अवस्था र जुनसुकै व्यवस्थामा समेत यसको लोकप्रियता उत्तिकै छ।

एकदलीय पञ्चायत कालमा पनि गाईजात्रा खुब चलेको थियो। बहुदलीय प्रजातन्त्रमा समेत त्यत्तिकै चल्यो। लोकतन्त्रमा त झन् कुरै नगरौं । हाल गणतन्त्र आएको छ तर “जुन जोगी आए पनि कानै चिरेका भनेझैं ” यो जात्रा झन् खुवसँंग मौलाएको छ। प्रताप मल्लले त आफ्नो एउटा छोरा गुमाउँदा वर्षमा एकपटक गाईजात्रा मनाउने चलन चलाएका थिए भने हाल दिनैपिच्छे कैयौ नेपाली छोराछोरी गुमिरहेको अवस्थामा गाईजात्रा पनि दिनदिनै नचलोस् पनि किन ? हेर्नोस् त –

        सडकमा बन्द हडताल र महँगीको गाईजात्रा

        सदनमा नारावाजी र होहल्लाको गाईजात्रा

        सिंहदरवारमा सहमति र मन्त्री भागवण्डाका गाईजात्रा

        शीतल निवासमा शपथ गर्नेहरूको गाईजात्रा

टुँडिखेल, लगनखेल, जावलाखेल, धुलिखेल, झम्सिखेल, क्षेत्रपाटी, कुमारीपाटी, जोरपाटी, भत्केको पाटी, भैसे पाटी, कोटेश्वर, बानेश्वर, कुलेश्वर, त्रिपुरेश्वर ....जता हे¥यो उतै जात्रा । कतै सहमतिको जात्रा, कतै विमतिको जात्रा। “ताक परे तिवारी नत्र गोतामे”  भनेझैं  जब सहमति बिग्रिन्छ, तब मित्रता थिग्रिन्छ अनि धोका भो भन्दै अर्को जात्राको रूप उग्रिन्छ त्यसपछि सुरु हुन्छ गाईजात्रा, माईजात्रा, टोपीजात्रा, धोतीजात्रा, कोटजात्रा, पेटीकोटजात्रा....।

लोकतन्त्र आएपछि कति थोक केरिए, कतिका नाम फेरिए तर गाईजात्राको रूप भने उस्तै रह्यो । गाई भनेकी त हाम्री माई सरहकी हुन्। दिनहुँ हुने गरेको यस्तो जात्रालाई अब गाईजात्राको संज्ञा दिने ग¥यौं भने हामीले आफ्नै माईकै अवज्ञा गरेको ठहर्छ। त्यसैले काम अनुसारको नाम राख्न जरुरी भैसकेको छ। सत्यतथ्यको पछाडि नलागेर जसले जे भन्यो त्यही ठीक भनेर त्यसैको पछिपछि लाग्ने भेडाको जस्तै बानी भएको हुँदा अब यसलाई भेडाजात्राको संज्ञा दिनुपर्छ भन्ने धेरैको भनाइ रहेको छ। फेरि भेडाजात्रा भन्ने हाम्रो कुनै जात्रा नै नभएकाले कसरी योे जात्राको नामकरण गर्ने ? अघिपछि कसैले वास्ता नगर्ने दशैमा मात्र भोटतिरबाट नोट तिरेपछि मात्र नेपाल आउने भेडालाई चीनको अनुमतिबिना जथाभावी नाम दिँदा परराष्ट्र सम्बन्ध बिग्रने हो कि भन्ने डरले भेडाजात्राको संज्ञा दिन नहुने तर्क पनि छ।

कोही भन्छन्, घोडाजस्तै उफ्रने, घोडाजस्तै कराउने, रक्सौलको टाँगाजस्तै भारततर्फ मात्र हराउने, ईश्वर, परमेश्वर भारतलाई नै सम्झेर पूजादेखि भुजासम्म, सडक विस्तारदेखि मन्त्रिमण्डलको विस्तारसम्म उतैको इसारामा गर्न पल्केकाहरू व्यवहार घोडासँंग मिल्ने भएकाले सबभन्दा उपयुक्त घोडेजात्रा हुने तर्क समेत अघि सारिरहेका  छन् तर घोडेजात्राको नामबाट नेपालमा जात्राको नामाकरण भैसकेको अवस्था हुँदा एउटै नामबाट दुई वटा जात्राको नाम राख्न नमिल्ने दलिल समेत प्रस्तुत गरिरहेका छन्।

राजनीतिमा कुकुरले एक टुक्रा हड्डीको लागि ङ्यार्रङुर्र गरेझैं नेताहरू पनि “जहाँ कुर्सी त्यही मार्ने बुर्कुर्सी”  भनेझैं  सधै कुर्सीको निहुँमा झगडा गरिरहने भएकोले“चोक–चोकमा जोल्टिने र तुलसीको मोठ देख्नेबित्तिकै कोल्टिने” कुकुरको बानीसंँगै ठ्याक्कै मिल्ने हुँदा कुकुरजात्रा नै सुहाउँदो हुन्छ भनिरहेका छन्। फेरि नेपालमा कुकुरहरूको जमात ठूलो भएकाले हाम्रो नाउँबाट जथाभावी जात्राको नाम राखेर हाम्रो बेइज्जत गरेको भनेर कुकुरहरूले आन्दोलन गर्न सक्ने भएकाले कतिपयले सो नाम राख्न नहुने अडान समेत लिइरहेका छन्।

मलाई सोध्नुहुन्छ भने जात मिल्ने, दाँत मिल्ने, रङ्ग मिल्ने, करङ्ग, मिल्ने, खान्की मिल्ने, बान्की मिल्ने, गुन मिल्ने, धुन मिल्ने, हेराइ मिल्ने, छेराइ मिल्ने, काम अनुसारको नाम पनि मिल्ने भएकाले सबैभन्दा उपयुक्तचाहिँ गोरुजात्रा नै होला जस्तो लाग्दछ

    – हेटौडा–४

प्रकाशित: ७ भाद्र २०७८ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App