१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

लघुकथाकार स्व.हेमलता उप्रेतीको ‘पहिचान’ लघुकथा

समालोचना

ममता मृदुल

विषय प्रवेश  

ताप्लेजुङ जिल्लाको निगुरादिन ७ मा बुबा  श्री विष्णुप्रसाद उप्रेती  आमा  इन्दिरा उप्रेतीको सुपुत्रीको रूपमा २०३० साल असोज ६ गते स्व.हेमलता उप्रेतीको जन्म भएको हो। उहाँ इलाम नगरपालिका ७ मा बस्नुहुन्थ्यो।

स्व.हेमलता उप्रेतीले थोरै समयमा लघुकथाको क्षेत्रमा आफूलाई स्थापित गराउनुभएको थियो। कोरोनाको कहरले विश्वलाई आक्रान्त पारेको अबस्था छ। यो कहरले स्व. हेमलता उप्रेतीलाई पनि साथमा लिएर गएको छ। उहाँले ‘गोडमेल’ पत्रिकामा २०६८ असोज अंकमा ‘यसरी गर्न सकिन्छ’ शीर्षकको लेख लेखेर आफ्नो साहित्य लेखनको सुरुवात गर्नुभएको थियो।  उहाँको पहिलो लघुकथा कोरोना आइरहोस २०७६ साल चैत २८ गते लघुकथा कुनोमा फेसबुक पेजमा पोष्ट भएको थियो। स्व. हेमलता उप्रेती कुँवरले अन्तराष्ट्रिय नेपाली लघुकथा प्रतियोगितामा २०७७ मा तृतीय स्थान हासिल गर्नुभएको थियो। उहाँको ‘कमलको फूल’ लघुकथा संग्रह २०७८ मा प्रकाशित भएको छ। नेपाली भाषा साहित्यमा कथाकार र  लघुकथाकार को रूपमा चिर–परिचित हुनुहुन्छ। शिक्षाको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्थ्यो। उहाँ श्रीमान् राजेन्द्र कुँवर, एक छोरा एक छोरी रहेका छन्।

लघुकथाकार स्व. हेमलता उप्रेती कुँवरको लघुकथामा नेपालीपन झल्केको पढ्न सकिन्छ। नेपाली भाषा साहित्यमा स्व. हेमलताको योगदान निकै महत्वपूर्ण रहेको छ। हजारौँ ताराको बीचमा देखिने चन्द्रमा बनेकी स्व. हेमलताका लघुकथाले सधैं साहित्य क्षेत्रमा उच्च स्थान हासिल गरेको छ र गरिरहने छ  कुशल लघुकथाकार गुमाएको नेपाली साहित्यले उहाँको सदा उच्च सम्मान गर्नेछ।

लघुकथाकार स्व.हेमलता उप्रेती

आयाम  

यो लघुकथा संक्षिप्त आयाममा छ। एक सय चौसट्ठी शब्दमा लेखिएको छ। यो लघुकथामा समय तोकिएको छैन्। दाग र कत्ला भएको पितल चम्किलो भएपछि सबै धातुले त्यसको श्रेय लिन खोजे पनि पितल कोइलाले चम्काएको भन्ने भावको लघुकथा रहेको छ। समाप्त हुन लागेको अस्तित्व बचाउने कुनै महत्वपूर्ण धातु नभएर मूल्यहीन कोइला रहेको कुरा खुलाइएको छ। कुनै पनि वस्तु मूल्यहीन हुँदैन भन्ने कुराको घटना परिवेश तयार गरिएर लेखिएको सुन्दर लघुकथा छ। सूक्ष्मतामा पनि पूर्ण रूप दिन सकिन्छ भन्ने अभिप्रायले लेखिएको लघुकथा छ।  

कथानक  

लघुकथा यसरी सुरू हुन्छ। हिजोसम्म कत्ला, दागधब्बा र धुलोमैलोले विरूप भएको पित्तल आज अचानक धपक्क बलेको देखेर छक्क पर्दे चाँदीले सोध्यो, “ए पित्तल भाइ, तिमी एक्कासि कसरी यस्तो चम्किलो भयौ ? पित्तल बोल्न नपाउँदै जस्ताले भन्यो, “मैले यसलाई प्रोत्साहन गरेको थिएँ।”

मानवलाई जस्तै धातुको तुलना गरिएको छ। सम्बोधन र वार्तालाप मान्छेको जस्तै लाग्छ।

जस्ताको कुरा काट्दै स्टिलले भन्यो, “मैले तिमी त सुनजस्तै बन्न सक्छौ भनेर सम्झाएको थिएँ।”

स्टिललाई उछिन्दै ताँवाले भन्यो, “मैले यसलाई उजिल्याउने ठाउँ देखाइदिएको थिएँ।”

टिनले रान्किदै भन्यो, “दाग र फोहोरमैलाले तेरो अस्तित्व समाप्त पार्न लाग्यो। आफ्नो अस्तित्वको रक्षा गर् भनेर यसलाई गाली गरेको थिएँ।”

सबैका कुरा सुनेर चाँदीले फेरि सोध्यो, “तिमी किन बोल्दैनौ, पित्तल ? म सत्य कुरा तिम्रै मुखबाट सुन्न चाहन्छु।”

लघुकथाको अन्तमा अन्ततः पित्तलले मुस्कुराउँदै भन्यो, “हो हजुर। कत्ला, दागधब्बा र धुलोमैलोले जकडेर म विरुप भएको थिएँ। मेरो अस्तित्व समाप्त हुन आँटेको थियो। उहाँहरुकै प्रोत्साहन र सहयोगले आफ्नो अस्तित्व बचाउन सकें। आन्तरिक गुण देखाउन पाएँ । यसरी चम्किएँ । तथापि आफ्नो ज्यानको बाजी थापेर, अति पीडा सहेर, ममा भएका सबै विकारहरू डढाएर साँच्चै मलाई टल्काउनेचाहिँ कोइला हो।”

हरेक चिज वस्तुको पहिचान र आफ्नो जीवनमा केही अस्तित्व रहेको हुन्छ।  

धातु भए पनि चम्किनु र पर्छ आफूलाई कस्ले कसी लगाएको छ भन्ने ज्ञान भएको अवस्था छ। लघुकथाकार स्व. हेमलताको यो लघुकथामा कौतुहलता रहेको छ।  

पात्र चरित्र  

पहिचान लघुकथामा  पितल जस्ता स्टिल , चाँदी र कोइलालाई पात्रको रूपमा देखाइएको छ।  पित्तल चम्किलो भएपछि जस्ता स्टिल चाँदीले त्यसले चम्किनुमा आफ्नो योगदान रहेको भाव प्रकट गरेका छन्। पित्तल धातु भएको अवस्था भए पनि नदेखिने गुण उसमा भएकाले निखारिएको बुझ्न नसकेका धातुहरूलाई सिर्जना गरिएको  छ।

केही नगरी मैले गरे भन्ने धेरै भएको भन्ने अवस्था भए पनि केही गरिएको छैन्। अन्तमा मैले गर्दा भनेर भाव प्रकट गर्नेको कारणले पितल चम्किएको होइन कोइलाले चम्काएको रहेछ भन्ने थाहा हुन्छ।

यो लघुकथामा कौतुहलता छ। रोचक लघुकथा रहेको छ। पाठकको मन सजिलै तान्न सक्ने लघुकथाकार हेमलताको लघुकथा रहेको छ। सलल बगेको लघुकथा छ। मनमा तरंग उत्पन्न गराएको छ। अस्तित्व र पहिचान के हो ? भन्ने विषयमा लेखिएको छ।

उद्देश्य  

पहिचान लघुकथामा लघुकथाकारले  अस्तित्व र पहिचानको बारेमा लेखिएको छ।

दाग कत्ला भएर नदेखिने वा पहिचान हराउन लागेको पित्तल चम्किलो रूपसहित देखापरेको छ। त्यहाँ जस्ता, स्टिल, चाँदी जस्ता धातुले पित्तल चम्किएकामा खुसीसाथ आफूलाई अगाडि सारेका छन्। ओझेलमा रहेको कोइलाले चम्काएको उनीहरूलाई थाहा छैन। यो कुरा पित्तलले बुझेको छ। हिजोसम्म कत्ला, दागधब्बा र धुलोमैलोले विरूप भएको पित्तल आज अचानक धपक्क बलेको देखेर छक्क पर्दे चाँदीले सोध्यो, “ए पित्तल भाइ, तिमी एक्कासि कसरी यस्तो चम्किलो भयौ ?

यसरी कथाको उठान गरिएको छ। लघुकथामा रोचकता छ। सुन्दर प्रस्तुति रहेको छ। यो लघुकथा वास्तविकताको नजिक पुगेर लेखिएको छ।

परिवेश

पहिचान लघुकथामा  दिनरातको बारेमा लेखिएको छैन स्थान तोकिएको छैन। धातुलाई पात्रका रूपमा राखिएको छ। पित्तल ,चाँदी , स्टिलजस्ता वस्तुलाई विषय बनाइएको छ। मानव उपस्थिति नभए पनि मानव स्वभाव र प्रवृतिको झल्को आउँछ। पितल, चाँदी, स्टिल जस्ता भने पनि यी सबैको सोचमा मानवताको तुलनात्मक रूप पाइन्छ। मानवीय सोचलाई धातुमा ढालेर देखाइएको छ। लघुकथामा रोमान्चक हुनुपर्छ भन्ने कुरालाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ। सुन्दर रूपमा लघुकथाको परिवेश तयार गरिएको छ। आफ्नो ज्यानको बाजी थापेर, अति पीडा सहेर, ममा भएका सबै विकार डढाएर साँच्चै मलाई टल्काउनेचाहिँ कोइला हो।” बीज वाक्यले लघुकथामा रौनक थपेको छ।

 भाषाशैली  

पहिचान लघुकथामा भाषाको प्रयोग  सरल र स्पष्ट  छ।  सन्देशमुलक लघुकथा रहेको छ। धातु भए पनि मनभित्रका मानवीय भाव रहेको छ । सटिक र सूक्ष्म शब्द छनौट छ। सबै कुरा थोरै शब्दमा लेखिएको भए पनि पूर्ण छ।

लघुकथा सलल बगिरहेको छ । वाक्यहरू छोटा छन्। एक सय चौसट्ठी शब्द रहेको सुन्दर प्रस्तुतीकरण भएको लघुकथा मान्न सकिन्छ। शीर्षक अनुरूप लघुकथा छ। संवादबाट सुरु भएर संवादमा सकिएको छ। वाचन गर्न थोरै समय लाग्। एकै बसाइमा पढ्न सकिने  हुँदा यो लघुकथाले पाठकको मन जित्न सफल हुनेछ।

निष्कर्ष

पहिचान लघुकथाको सुरुवात यसरी गरिएको छ।

हिजोसम्म कत्ला, दाग धब्बा र धुलोमैलोले विरूप भएको पित्तल आज अचानक धपक्क बलेको देखेर छक्क पर्दे चाँदीले सोध्यो, “ए पित्तल भाइ, तिमी एक्कासि कसरी यस्तो चम्किलो भयौ ?

पित्तल बोल्न नपाउँदै जस्ताले भन्यो, “मैले यसलाई प्रोत्साहन गरेको थिएँ।”

कुनै पनि कुरा चम्किदा मैले गरे भन्नेहरू आउँछन् तर त्यसमा आफ्नो योगदान कति छ भन्ने ख्याल राख्दैनन् भन्ने सोचका साथमा यो लघुकथाको परिकल्पना गरिएको छ। सन्देशमुलक लघुकथा छ।

सबैका कुरा सुनिरहेको  पित्तलले  अन्ततःमुस्कुराउँदै भन्यो, “हो हजुर। कत्ला, दाग धब्बा र धुलोमैलोले जकडेर म विरूप भएको थिएँ। मेरो अस्तित्व समाप्त हुन आँटेको थियो। अरू धातुको प्रोत्साहन र सहयोगले आफ्नो अस्तित्व बचाउन सकें।  भन्ने भाव छ। पितल यहाँ सद्भाव देखाइरहेको अवस्था छ। उसले  आफ्नो आन्तरिक गुण देखाउन पाएँ । यसरी चम्किएँ । भनिरहेको अवस्था छ। तथापि आफ्नो ज्यानको बाजी थापेर, अति पीडा सहेर, ममा भएका सवै विकारहरु डढाएर साच्चै मलाई टल्काउनेचाहिँ कोइला हो।”

सरलतामा बगेको लघुकथा भए पनि धेरै कुरा बोलेको छ। हेर्दा कालो भए पनि कोइलाले आफ्नो अस्तित्व गुमाएर  पित्तल चम्किलो भएको अन्तिममा मात्र थाहा पाएकोले रोचक छ। हरेक कुरामा आन्तरिक गुण हुन्छ, त्यसलाई चम्काउन कसैले सहयोग गरेको आभास गराएको छ । शब्द छनौट सूक्ष्म  रूपमा गरिएको छ। लघुकथाकार हेमलताको लघुकथाले पाठकको मन जितेको अनुभूति गराएको छ।

    विराटनगर

प्रकाशित: २ भाद्र २०७८ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App