२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

समय

लघुकथा

 गोमा सिटौला

 

आज भान्जीको विवाह थियो। मैले ब्युटी पार्लर सिकेकीले भान्जीलाई सिँगार्ने जिम्मा आमाजूले मलाई दिनुभयो।भान्जीलाई सिँगार्दै गर्दा २० वर्षअघि आमाजूले वचन लगाउनुभएको क्षण सम्झिन पुगेँ।

‘जाबो एउटा खड्कुलो र गाग्री लिएर घरमा भित्रियौ न गतिलो दराज न गतिलो सोफा नै। जति भने पनि मोरालाई लागेन त्यो बेला।’ आमाजूले १२ हात उफ्रेर भन्नुभयो।

‘दिदी, मलाई दाइजोभन्दा पनि सक्षम बनाएर परिवारले अन्माउनुभयो। के चाहिन्छ घरमा अब तलब आएपिच्छे बिस्तारै  यो घरलाई सिँगार्छु नि है।’

बसभरि दाइजो हालेर मलाई बिदाई गरेका बाआमाको अहिले नाकै गयो। कत्रो धाक देखाएकी थिएँ  देउरानी–जेठानीलाई। अहिले मुख देखाउनै गाह्रो भयो।’ आमाजूले ओठ लेपारेर भन्नुभयो।

‘केही न केही खोट दुनियाँ लगाइहाल्छ जति नै धुमधाम गरे पनि त्यो जाबो दाइजो खिया लागेर र मक्किएर गइहाल्छ तर दिदी घरमा व्यवहारले कहिले पनि खिया लाग्न नदिने म प्रयास गर्नेछु।’ मलिनो स्वरमा मैले भनें।

मेरो छोराको विहेमा ब्यान्ड बाजा र पन्चे बाजा दुवै बजाएर बुहारी भित्र्याउँछु अनि छोरीको त कुरै नगरूँम् कम्तीमा पनि ३ सय गाग्री त होलान्  नै अरू खाम र भाँडा  त कतिकति।’

– आमाजूले भन्दा ‘दिदी सबै कुराको जवाफ समयले दिन्छ’ भनेका कुरा सम्झिदै थिएँ। त्यही बेलामा आमाजू आएर भान्जीलाई स्वयंवरका लागि दोहोर्‍याएर लेराउन मलाई अराउनुभयो। मैले आमाजूको कम्मरमा झुन्डिएको मास्क निकालेर लगाउन दिँदा आमाजूले ‘झन्झट लाग्छ’ भन्दै नलगाई कम्मरमै घुसार्नुभयो।

‘हेरहेर! यो दुनियाँ डराएका जाबो दाइजो दिनुपर्छ भनेर कोरोनाको निहुँले कोही आएनन्। आफ्नो छोरीलाई हाल्लान् भनेर मैले तिनीहरूको छोरीलाई गतिलो दाइजो हालेकी थिए।’ आमाजूले असन्तोष पोख्नुभयो।

‘एउटा भएको छोरो पनि अमेरिका जान हतार गरेर कोरोनाले बाजा न साजाको गुपचुपमा विहे भयो। ६ महिनापछि छोरीको  गर्दा नि यही हाल भो। हे भगवान्, कस्तो समय आयो!’ आमाजूले रुन्चे स्वरमा भन्नुभयो।

‘दिदी, समयनुसार चल्नुपर्छ। हाम्रा पालाको जस्तो कुनै नन्दआमाजूले वचन लगाउँदैनन् भान्जीलाई। त्यसैले पीर नमान्नुस् बरु दुनियाँको जस्तापाता बटुलेर अन्माउँदैमा इज्जत कमाइन्छ भन्ने भ्रम त्यागिदिनुस्।’

मैले यति भन्न नपाउदै आमाजू के सोचेर पो हो मुख रातो बनाउनुभयो र भुइँतिर हेर्दै हतारहतार कम्मरमा घुसारेको मास्कले मुख छोप्नुभयो।

प्रकाशित: ३१ श्रावण २०७८ ०४:३२ आइतबार

अक्षर