१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सन्तुष्टि

लघुकथा

 विनोद नेपाल

 

‘ सधैं व्यस्त तर सधैं अभाव, गरीब हुनु पनि केही छैन।’ ऊ प्रायः यही सोच्दथ्यो। तर, हुनेखाने र सुकिलामुकिला मान्छे देख्दा ‘यस्तै हुन पाए कस्तो हुँदो हो’ भन्ने सोचाइ भने उसमा कहिल्यै आएन। सायद उनीहरूको चिन्ता, तनाव र दौडधूप नजिकबाट महसुस गरेकाले होला, उसले कहिल्यै त्यस्तो सोचेन।

भगवानप्रति आस्थावान् र इमानको पुजारी उसमा एकदिन अनौठो चाहना जाग्यो भगवानलाई भेटेर  कुराकानी गर्ने। योजना अनुसार भोलिपल्ट ऊ भगवानको खोजीमा लाग्यो।

भगवान् मन्दिरमा बस्छन् भन्ने थाहा पाएको ऊ मन्दिरतिर लाग्यो।  भगवान् खुसी भए र केही माग्न भनिहाले भने भगवानसँग के माग्ने ? सोच्दै थियो। एक्कासि ठिङ्ग भगवान् उभिए।

‘तिमी काम गरेर खाने मान्छे, काम छाडेर मेरो खोजीमा हिंडेका रहेछौ। तिम्रो समय किन खेर फाल्ने भनेर म यहीं उपस्थित भएँ। लौ भन, तिम्रो के माग छ!’ 

सुनेर ऊ आश्चर्यमा पर्‍यो। भन्यो, ‘भगवानसँग पनि माग राख्छन् र?’

‘राख्छन् नि, कतिले सम्पत्ति माग्छन्,धनी हुन पाऊँ भन्छन्, कतिले शक्तिशाली हुन पाऊँ भन्छन्, पद माग्छन्। म तिनलाई मागेका सबै चिज दिन्छु।’  

‘भन तिमीलाई के चाहियो?’– भगवानले भने।

‘म कुनै माग लिएर आएको  होइन।’

‘भगवानसँग मेरो बारेमा जानकारी छँदै रहेछ।’ मेहनत गरेर खान पाएकै छु। यसैमा सन्तुष्ट छु ।’

सुनेर भगवान् खुसी भए र भने ‘मसँग माग राख्नेहरू जति छन् नि, केही समयपछि  ती शान्ति माग्न पनि मैसँग आउँछन्।’

प्रकाशित: ३१ श्रावण २०७८ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App