लता केसी
‘पर्दा र मर्दा छिमेकी नै हितैषी मित्र हुन् ’ भन्ने बुझेका थिए वीरू र दीलुले। उनीहरू दौतेरी थिए। खुला मनजस्तै उनीहरूले घरको साँध पनि खुल्लै राखेका थिए।
दीलुले आफ्नो बारीमा तरकारी र फलफूलहरू लगाउँथ्यो। दुवै छिमेकी मिलेर खान्थे । दिलु दीलकारी थियो। अरूलाई पनि बाँड्थ्यो तर वीरूलाई यो कुरो मन पर्दैनथ्यो।
‘किन दिने व्यर्थमा ? साँचेर आफैँ खानुपर्छ’ भन्थ्यो। ऊ फिस्स हाँस्थ्यो मात्र ! केही भन्दैनथ्यो।
एकपटक वीरु सपरिवार गाउँको घर गएको थियो। उसको बुबाको निधन भएर। एक महिनापछि फर्केर आउँदा उसको घरको आँगनभरि फलफूल र तरकारी कुहिएर गन्हाएको थियो। आउनासाथ उसले रिस देखायो। यो दीलेको कृषिले भन्दै बिरुवा र लहराहरू धमाधम काट्न थाल्यो। २/३ दिनमै सबै बिरुवाहरू सुके र मरे।
दीलुको पारो तात्यो। आफ्नो मिहिनेत खेर गएको देखेर। ऊ करायो, ‘होसले काम गर्नुपर्छ नि , हेर सत्यानाश !’
वीरूले भन्यो, ‘तेरो बारीको उत्पादन तै खा !’
दीलुले हाँस्दै भन्यो, ‘सानो कुरामा तेरो र मेरो पो आयो है !’
झगडा चर्कियो। पानी बाराबार भयो। वीरूले आफ्नो साँधमा पर्खाल ठड्यायो । दीलु के कम ? उसले झन् अग्लो पर्खाल ठड्यायो।
यस्तो देखेर अरू छिमेकीहरू भन्न थालेका थिए, ‘आखिर यी पनि त मान्छे नै हुन् !’
प्रकाशित: २८ श्रावण २०७८ ०६:२७ बिहीबार