दिनेश निरौला
‘एउटै ओछयानमा सुतेपछि लात्त लाग्छ।’ केही भयो होला ? नन्दभाउजू नबोलेको वर्ष दिन हुनै लागेको थियो। हामी घरका आजीत थियौ। सोमबारे औंसीको रात भालेको पहिलो डाकसँगै भाउजूको सर्याकसुरुक आवाजले निर्मला पनि बिउँझिई। उसै त नबोल्ने मान्छे, आज त नबोली नुहाउनुपर्ने थियो। रातको समय कहिलेकहीँ पानी लिन एक घण्टाकै बाटो हिँड्नुपर्थ्यो।
बाहिर नबोले पनि नन्द उठोस् र साथी होस् भनेर कमलाले निकै सर्याकसुरुक पारेकी थिइन्। कमला अघिअघि निर्मला पछिपछि। सिरिसेको कुवामा पुगे अगाडि नै कसैले रित्याइसकेको थियो कुवा। सिमको कुवामा त दुई जनाले नुहाएर दुई गाग्री भर्न मुस्किल थियो। अब भोगटेनी जानुको विकल्प थिएन त्यहाँ।
कुवामा कुनै आकृति सल्बलाएको दुवैले देखे परैबाट। यहाँ पनि कोही आइसकेछ, सायद यस्तै सोचे दुवैले।
‘बाघ तेरा बाजे’ कमला चिच्याई।
‘हान न ढुङ्गा’ निर्मला चिच्याई। दुवै एक आपसमा बेरिए अँगालोमा । बाघ खोल्सामा पस्यो। खुब नबोली नुहायौं सोमबारे औंसी। एकले अर्कालाई भने र नन्दभाउजू पानी भरेर गफ गर्दै उकालो लागे । म बाघ बनेको चाहिँ उनीहरूले चाल पाएनन्।
प्रकाशित: २७ श्रावण २०७८ ०८:०३ बुधबार