सीताराम नेपाल
“आऽ कति बस्नु घलैमा। मलाई ता स्कुलको न्याँस्रो लागिसक्यो। कैले स्कुल खुल्ने होला हगि मामु ।”
६ बर्से छोरा किशोरको कुराले निकिता झस्किन्। उनले च्याप्प समातेर उसलाई गालामा च्वाप्प म्वाई खाइन् तर उनको मन भने छोराको कुराको समर्थनमा भुटभुटिदै गयो।
उनले मनमनै भनिन् –“हो नि राजा ! साह्रै पट्ट्यार लाग्यो, कस्तो उकुसमुकुस भैराछ। भन्न पो भा छैन त ।”
मनको कुरा मनमै राखी छोरालाई लाडप्यार दिई सम्झाइन्– मेलो लाजा ! तिम्रो त मामु छु नि साथमा किन आत्तेको ? मामुको माया लाग्दैन र तिमलाई!
किशोरले जिद्दी गर्यो –“आज त टोलका साथीहरूसँग खेल्न जाने हो।”
किशोरको बालहठ रोक्न निकिताले हरायो भनी लुकाइराखेको आइप्याड झिकेर दिदै भनिन्–“लाउ सरप्राइज !”
“के ?” किशोर ठुस्किन छोडेन।
“यी मैले भर्खरै भेट्टाएँ नि तिम्रो स्कुले साथीभन्दा प्यारो आइप्याड। साथीहरूसँग फन्नी गफ गर ल बाबुराजा। आइप्याडका तिम्रा साथीहरू कति मजाका छन् हगी ?”
“उसउस कत्ति न नयाँ किन्दयाजस्तो। आफूलाई बस्दाबस्दा दिक्क लागेर कस्तो भा’छ।”
किशोरले बाहिर जाने जिद्दी नछोड्ने देखेर निकिताले भिडियो खोलेर कोरोनाको कहरबाट आजित भएर काठमाडौंबाट रातिराति पुलिस प्रशासनको आँखा छली तराई झर्न हिँडेका मजदुरहरूको लस्कर देखाइन्। बल्ल किशोर भुलियो।
उसले भन्यो– ‘काठमाडौंमा खाने कुला र बास नपाएर तलाईका मान्छेहलु हिँडेल घल फर्कदै लैछन्। स्थानीय सरकारले खानपिनको बन्दोबस्त गर्ने भन्या हैन मामु खैत ? विचराहरू हिँड्दा–हिँड्दा कसैको पैतालामा ठेला उठेको, कसैको लगत आएको। धेरै दिन हिँड्नुपर्छ रे नि मामु ! कति दुख हुन्छ होला बाइ ? भोक र थकाइ लाग्दा के खाने कहाँ बस्ने ? यो कोरोना मोरोले कस्तो दुख देको हगि मामु ...।
– एकछिन सोचेपछि किशोरले फेरि भन्यो –“हाम्लो त खानेकुला सिद्दियो भने कहाँ जाने होला हगि मामु।
निकिताको मनमा अर्कै चिन्ता थियो –“यो कोरोनाको कहरभरि मेरो छोरालाई कसरी घरमै राख्ने होला? आफैलाई कतिबेला बाहिर निस्कनुजस्तो भाछ ?
– ए मामु कहाँ हराउनुभा ? खानेकुरा सिद्धियो भने के खाने कहाँ जाने?
टोलारहेकी निकिता छोराको प्रश्नको उत्तर दिन नसकेर भित्र भित्रै निचोरिइन् अनि भनिन् –“तेसबेलाको गर्जो तेसैबेला टारमला नि मेरो राजा।”
प्रकाशित: १५ श्रावण २०७८ ०५:३८ शुक्रबार