कृष्णबहादुर बुढाथोकी
नजानेर खन्यू फेदमा फल्छ,
लाटाको देशमा लङ्गडाको हैकम चल्छ
कङ्गालको देशमा चण्डाल जन्मन्छन्
हराउनेहरू बिलाउने घारीमा पस्छन्
यी पुर्खाका आहान हुन्
यसको आविष्कार गर्ने महान हुन्।
नदीले धार काटेर बाटो बनाउँछ
आफ्नै आङमा माटो खन्याउँछ
लेदो बोकेर उत्ताउलिन्छ
सुसाउने, रसाउने र धस्काउनेमा रमाउँछ
हिउँद लागेपछि ङिच्च दाह्रा
लासजस्तै लम्पसार हुन्छ
कमिलाको लस्कर सगबगाउँदा सहन्छ
यी प्रकृतिका नियम हुन्।
काठ जल्छ, ढुङ्गो जल्दैन,
ढुंगो खिइन्छ, काठ कुहिन्छ।
नरम हुनाले कुहुनुपर्ने
कडा हुनाले खिइनुपर्ने।
काठले आगालाई सुटुक्क लुकाएर,
आफैभित्र राखेको छ।
सुम्सुम्याएर, जतन गरेर
अनगिन्ती प्यार दिएर।
मुटुको मर्मभित्र हुर्काएको
आगो नै काठ जलाउन उद्यत हुन्छ।
आफैभित्रको तापले खरानी हुनुपर्छ
नामेट, अस्तित्वहीन, विलीन
खरानी,
अन्ततः भुमरीको बहकाउमा गगन चुम्न खोज्दा
अन्तरिक्षमा बेखबर हुन्छ खरानी सिर्फ खरानी
आगो त ढुङ्गामा नि हुन्छ
कठोर हुनाले ढुङ्गो घोटिन्छ, रेटिन्छ
अतः फुट्छ !
विशाल पत्थर बालुवाका कणमा रुपान्तरण हुन्छ
क्रमभङ्ग नभई माटो बन्छ
यो सृष्टिको निरन्तरता
अनि वस्तुको रुपान्तरताभन्दा पर नहोला ।
रुपान्तरताको खडेरीमा डायनोसर भष्मीभूत भए
रुपान्तरताले रामापिथेकस सभ्य मानिस भए
तथापि चित्रको रुपान्तरणले चरित्रको चेहरा नफेरिदा
खालि मान्छे उस्तै छ,
दुरुस्तै छ मानौ चहरा मिल्दैन
चरित्र मिल्छ,
यो वंशाणु विशेषता
पैतृक सम्पदा अनि आर्जनको चुली
यथास्थितिवाद भनौ जडसुत्रवाद कित्ताको नमूना।
यत्रतत्र सर्वत्र छिरोलिएका स्वार्थका चाङ ठडाएर
धर्मको ढोका ढकढक बजाउँछ
न्यायको नखरा र शान्तिका श्लोक
ममताको मैदानमा मञ्चन गर्छ
विवशताको बाकस खोलेर
स्वार्थका बोहोता बिछ्याउँदै
दयाको करौती बेहद बान्कीले घिसार्छ
अनगिन्ती अभावको रापमा सेकिएका
समयको ज्वारभाटाले लुछिएका
करङहरुको भ्वाइलिन बनाउँछ
राजसी भुङ्ग्रामा बाफिएका
नसाहरूको ताना जोडेर
मानवताको राग अलाप्छ।
आफ्नै छालाको नागिन बजाउने सपेरासामु
विषधारी गोमन लठ्ठिएझै
आफ्नै करङ र नसाको भ्वाइलिनको मधुर ध्वनिमा
लठ्ठिन्छ मान्छे।
गोजीको फालेर
नालीको टिप्न झुत्तिन्छ मान्छे
आफ्नै थाप्लो खुइल्याउन
आफ्नै घरको धुरी जलाउन
बिनामूल्य आफैलाई बेच्न
तयार हुन्छ मान्छे।
बिस्तारै पीडाका खाटा उप्काएर
नुनचुक दलिँदा अप्रेशनपछि होस खुलेको
ट्युमरको बिरामीजस्तै
अँध्यारोमा बाटो बिराएको बटुवाजस्तै
अत्तालिन्छ, छटपटिन्छ र प्रायश्चितका दुई अँजुली
समर्पण गर्छ मान्छे
आत्मशान्तिका लागि,
मात्र आत्मा शान्तिका लागि
विष वमन गर्छ अमृत पिएर,
अमृत ओकल्छ विष निलेर,
विवशताका चार दिवारमा
धनुष्टङ्कार आकृतिमा,
दाम चढाउँछ,
मान्छे हुनका मारे,
स्वाधीन हुनुका नाताले।
अनि त चित्र फेरियो, चरित्र फेरिएन
पात्र बदलियो, प्रवृत्ति बदलिएन।
खन्यू फेदमा फल्दैछ।
प्रकाशित: १५ श्रावण २०७८ ०४:२६ शुक्रबार