विवि याक्खा
ठाउँठाउँमा जग्गाजमीन छ। पुर्ख्यौली सम्पत्ति पनि भएको हुनाले धनप्रसादले आफ्नो सन्तानहरूलाई लालनपालन र शिक्षादीक्षा राम्रो र महँगो विद्यालय – कलेजबाट गराएका थिए। समय बित्दै गयो। उनको छोराछोरी कोही अस्ट्रेलिया र कोही अमेरिकातिर पुगेर उतै बसोबास गर्न थाले।
शहरमा पनि राम्रो र चिटिक्क परेको बंगालो छ। आधुनिक सेवा र सुविधाले सम्पन छ। भौतिक रूपमा कुनै पनि कुराले धनप्रसादलाई बिलकुलै कमी छैन।
बेलाबेला भाइवर,म्यासेन्ज र वाट्सफमा कुरा सधैं भएको नै छ छोराछोरीसित। त्यसो त यसैले देख्नेले साँच्चिकै क्या सम्पन्न र भाग्यमानी मान्छे भन्छन्।
उनकै घरमा पहिलादेखिकै काम गर्ने विश्वासिला पात्रहरू छन् रामेका जोईपोइ सहयोगीको रूपमा।
आज रामेले मालिकलाई भन्यो – मालिक साब! अब त चाडपर्व पनि नजिकै आउन लाग्यो नि हैन?
धनप्रसादले पुलुक्क हेर्दै भन्यो – भन के समस्या पर्यो ? तँलाई पुग्ने खर्च दिउँला नि । केहीकोे चिन्ता नलिई!
रामेले भन्यो –माफ पाउ मालिक, मैले त यसपालि त सानो मालिक र मैया साबहरू आइबक्सनुहुन्छ कि नाईं भनेर मात्रै सोध्नसम्म गर्या हुँ हजुर?
धनप्रसादले लामो सास तान्दै भन्यो– खै आउन त आउँछौ भन्छन्। आउँदैनन् छोराछोरी कोही नि !
लामो सास तानेर खुइइ्य गर्दै एकैछिन चुपचाप रहे।
– पुनः मालिक हजुर ज्यादै भाग्यमानी होइसिन्छ नि । छोराछोरी सबै राम्रा र ठुला ठाउँमा पुगिबक्सिए। यहाँ पनि नपुग्ने केही थिएन तै सुविधा न होलान् ।
धनप्रसादले पीडा पोख्दै भन्यो – हेर न रामे, मलाई कुनै धनसम्पत्तिको कमी छैन तैपनि म सुखी छैन!
रामे अचम्म मान्दै भन्यो– मालिक कुरा बुझिन नि?
धनप्रसादले भावुक हुँदै भन्यो –सम्पत्तिको के अर्थ?
खुशी साट्न, रमाउन परिवार नै एकैसाथ छैन भने।
यसैले साँचिक्कै भाग्यमानी त होस् त्यो सब खुशी र पारिवारिक सुख र साथ तँसित त कायम नै छ।
रामे मालिकको कुराले झस्कन्दै सोच्यो– साँच्चिकै भाग्यमानी ठहरिएकोमा। मालिकझै एक्लै फगत नभएकोमा आफै मुस्कुराए सम्झिएर मनमनै ।
प्रकाशित: ३ श्रावण २०७८ ०६:०० आइतबार