२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कस्तो जादु हो यो पैसाको !

कविता

कविता ढकाल ढुङ्गेल

 

पैसा पैसा पैसा पैसा  

खै के रहेछ त्यसको त्यति ठुलो जादु!

सबैको मन भँडाउने,  

अपुग हुँदा बौलाहा बनाउने हो रैछ पैसा।

 

मान्छे धनी बनाउने पनि पैसा,

गरिब बनाउने पनि त्यै पैसा!

आफ्ना बनाउने पनि पैसा,

आफ्नालाई पराई बनाउने पनि पैसा।

 

सबैको ज्यान बँचाउने पनि पैसा,

ज्यान मार्ने पनि त्यै पैसा !

मान्छेलाई हिम्मत दिने पनि पैसा,

आँटी र साहसी बनाउने पनि पैसा।

 

यो पैसाको जादु हो या चमत्कार,

पैसा कमाएपछि बढ्दैछ मान्छेलाई अहंकार !

साथीसँगी अघिपछि लाग्ने बनाउने,

सबैबाट टाढा बनाउने त्यसको चमत्कार।

दाजुभाइमा मेल बढाउने पनि पैसा,

परिवारमा एक्लो बनाउने रैछ पैसा!

आफन्त नातागोता सबै चिनाउने पनि पैसा!

 

इज्जत दिने पैसा, इज्जत लुट्ने पैसा!

बाँच्ने, मर्ने, सम्पूर्ण गर्ने पैसा ।

कुल खानदान, इज्जत, हाँसोखुसी, सम्पूर्ण दिने पैसा।

 

शक्तिशाली रहेछ संसारमा पैसा,

त्यसलाई कमाउन भनी जान्छन् विदेशमा!

कति आउँछन् पैसा कमाई उडेर आकाशमा,

कतिचाहिँ आउँछन् प्याक भै बाकसमा।

 

हे पैसा किन गरिस् यस्तो चमत्कार,

पैसा पैसा भन्दै गर्दछन् चीत्कार!

चिन्दैनन् कोही आफन्तहरूले गरिबलाई अचम्म छ यो संसार

बिमारी भए हस्पिटल जाँदा पहिले चाहिन्छ त्यही पैसा,

बजार जाँदा केही लिनुपर्छ भन्दा पहिले चाहिन्छ त्यै पैसा।

भलाद्मी बनाउने पनि पैसा,

चोर, डाँका, पाकेटमार बनाउने पैसा !

भिखारी, जोगी अनि हरिकङ्गाल बनाउने पनि पैसा !

 

दुनियाँमा कत्ति जादुगरी हो पैसा,

दुनियाँलाई पापी बनाउने पनि पैसा!

अनि ज्यानमारा पनि पैसा,

सबै कुरामा सर्वश्रेष्ठ बनेको छ पैसा।

 

आफ्नो पराई नचिनाउने रैछ पैसा ,

सबैमा हेला, प्यारो  बनाउने पनि पैसा!

जन्मदा, मर्दा, हिँड्दा, बस्दा छोडेर  

अब त दिसापिसाब गर्न पनि पैसा।

कस्तो जादुगरी हो यो पैसाको संसारमा,

जे गरे पनि कमाउनुपर्ने नै हो रे पैसा  

पैसा नभए हुँदैन कहीँ आराम अनि ऐस।

कस्तो जादु हो यो पैसाको।

प्रकाशित: १९ असार २०७८ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App