आफैभित्रको कस्तुरी चिन्न नसक्दा
फगत सपना देख्छ मेरो मन
फुक्र्याउँछ मलाई
सपनाको देशले
भौतिक सुविधाका पहाडहरू देखाएर
हीरामोती पोतेर मनभरि
मेरो आँसुको समुन्द्र सुकाउन खोज्छ
सपनाको देश,
सायद हात्तीको दाह्रा हो
देखाउन मिल्छ चपाउन मिल्दैन
सुनको ज्याकेट हो
लगाउँदा सुन्दर देखिन्छ
तर जाडो छेक्दैन
एउटा सुन्दर तलाउ हो
जसले आफ्नै जस्तै आकृति देखाएर सामीप्य बढाउँछ
समीप पुग्दा डुबाएर मारिदिन्छ
मेरो मन किन सोच्दैन,
सिमाना काटेर हात बेच्दै
सुनगाभा खोज्नु व्यर्थ छ
हातसँग साटेको भौतिक सुविधाले त
बाहिरी शरीर टालिएला
फाटेको मन कदापि टालिँदैन
उचित त आफ्नो छाना आफैले छाउनुमा छ
आफ्नो गीत आफैले गाउनुमा छ
भनिन्छ, सपनाको पहाडभन्दा
विपनाको तिल हजारौं गुणा अग्लो हुन्छ
आँसुको समुन्द्रमा बाफिएर
हावाबाट वर्षा खोज्नु व्यर्थ छ
अञ्जुलीमा भरिएको कवाफ सपना
ठूलो जहाजको यात्रा सकिनासाथ बाफ बनिदिन्छ
हेर्दाहर्दै फुसफुस उडेर अलप भइदिन्छ
हात्ती हात लाग्ने सपना
एकाएक मुसासँग साट्नुपर्ने बाध्यता आइलाग्छ
क्षितिजको सूर्यले
सुन्दर आकृति देखाइदिन्छ गोधूलिमा
हतारिएर पछ्याउँदै पुग्नेहरूलाई
अन्धकार छोडेर आफू अलप भइदिन्छ
र, भोलिपल्ट अर्कैका लागि उदाइदिन्छ
हो,
यसरी नै सपनाको देशले
सपना बाँड्दै
नौडाँडापारि पुरयाउन खोज्छ
मेरो आँसुको समुन्द्र सुकाउन खोज्छ !
प्रकाशित: ३१ वैशाख २०७८ १५:५१ शुक्रबार