२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मायाको घाउ दिलमा लगाई नुनचुक छर्दछन्

मुक्तक

सानु शर्मा

 

     १) मुक्तक

मायाको घाउ दिलमा लगाई नुनचुक छर्दछन्,

सँगसँगै मर्ने बाँच्ने कसम खानेले घात गर्दछन्।

अरूको कुरा सुनेर आफ्नैसँग पौंठेजोरी खेल्ने,

शंकाले लंका जलाए जस्तै ठुलो भ्रममा पर्दछन्।

        २) मुक्तक

 मन सफा हुनुपर्छ मठ–मन्दिर धाएर  हुन्न,

चोखो माया जोगाउन सक्नुपर्छ लाएर  हुन्न।

एउटा फर्किने पूर्व  अर्को फर्किने पश्चिम भएसी,

जिन्दगी बिताउन छैन भने कसम खाएर हुन्न।

        ३) मुक्तक

 बदनामले नाम न कमाऔं कसैले पनि,  

फोकटको धन न समाऔं कसैले पनि।

छेडछाडले कसैलाई हानि पुरयाउन हुन्न,

त्यस्ता कार्यहरू न थमाऔं कसैले पनि।

         ४) मुक्तक

सबैमा चेतनाको दियो बाल्न सक्नुपर्छ,

रूढिवादी कुसंस्कारलाई फाल्न सक्नुपर्छ।

यसका लागि युवा शक्तिहरू एकजुट भएर,

फाटेका मन मुटुलाई मायाले टाल्न सक्नुपर्छ।

       ५) मुक्तक

वीर गोर्खाली हौँ हामी आफ्नै सान छ,  

झुक्दैनौ कसैसँग त्यसको छुट्टै मान छ।

नेपाली नाम सुन्दा डराउँछन्  वैरी सारा,

चन्द्रसूर्य, झन्डा, खुकुरीको पहिचान छ।

प्रकाशित: ३० वैशाख २०७८ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App