लता केसी
धनमायाका जुम्ल्याहा छोरा थिए। ससाना बालखा उनको काखमा छाडेर उनका लोग्ने बितेको पनि धेरै वर्ष भयो । बुबा पनि आमा पनि बनेर एक्ली उनले छोराहरू हुर्काएर योग्य बनाइन् । दुवै छोरा आमा भनेपछि हुरुक्क हुन्थे तर पनि दुवै दाजुभाइले मनमा एउटा विश्वास पालेका थिए – आमाले मलाईभन्दा बढी माया उसलाई गर्छिन् भन्ने । त्यसै सोचको कारणले उनीहरूबीच मनमुटाव बढदै गयो।
सधैैंझैं उनीहरू झगडा गर्थे र जो जित्थ्यो , ऊ खुसी हुन्थ्यो । आमाले कति सम्झाउँदा पनि आँखा अगाडि ठीक्क बन्थे तर मौका पायो कि एक अर्कालाई होच्याएर काखी बजाउँथे । छोराहरूको यो व्यवहारले आमा बडो चिन्तित भइन् ।
‘कसरी मिलाउनु ? नत्र ....!’ यही चिन्ताले उनी चिताको अगाडि पुग्दै थिइन् ।
जेठाले करायो– हेर भाइ, झगडा नगर् है । तँ आमाको कान्छो छोरो भएर पुल्पुलिएर, मात्तिएर !
वाक्य खस्न नपाउँदै भाइ कान्छा उफ्रियो, ‘अझ बढी हुन्छस् ? जेठो भएर सानालाई हेप्न खोज्छस् ? आमाको प्यारो जेठो छोरो भएर !
भनाभन चर्कियो । आफ्नै अघिल्तिर छोराहरूको युद्ध हेर्न उनलाई गाह्रो भयो । दुवै छोरालाई ओछयानबाट इसारा गरेर छेउमा बोलाइन् । दाइभाइलाई सम्झाउँदै उनले भनिन्, ‘तिमी दाइभाइको पीडाले एकअर्कालाई नछोला । तर, मलाई तिमीहरू दुवैको पीडाले मुटु दुख्छ किनभने म तिमीहरूकी आमा हुँ।’
प्रकाशित: २८ वैशाख २०७८ ०४:४० मंगलबार