२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आमा

लघुकथा

उद्धवप्रसाद प्याकुरेल

वर्षाैपछि ऊ घर सम्झेर आयो। आँगनको छेउमा पुग्नासाथ भत्केको तुलसाको मोठले खुसी व्यक्त गर्दै भन्यो, “अब अवश्य मेरा दिन फिर्ने छन्।”

ऊ पिँढीको डिलमा उक्लँदै थियो । खडप्वालमा सिउरिएका पुराना चप्पलले देख्यो र खुसी व्यक्त गर्दै भन्यो, “ तिमीलाई दुःखको बेलामा मैले निकै सहयोग गरेको थिएँ । तिमी त आफू निकै परिवर्तन भैसकेका रहेछौ । आशा छ अब हामीलाई पनि प्रशोधन गरी नयाँ स्वरूप दिने छौ ।”

ऊ ढोकाबाट छिर्याे । उसलाई ढुसी आएका चुलो, गोरेटो, दियोघर, भण्डार, मझेरी, जालो र ध्वाँसो लागेका भार, हाँडी खोपो,  खैजेडी, मदलले देखे । तिनीहरूले त्यस्तै खुसी व्यक्त गरे। ऊ चोटामा उक्लिनासाथ पुराना सन्दुक, ठेकी, हर्पे, घ्याम्पो, आरी, मान्द्रो, ढुकुटी जस्ता धेरैले उसलाई देखे र खुसी व्यक्त गरे।

ऊ ती पुराना सामान देखेर झनक्क रिसायो। उसले आफ्ना अरौटेभरौटेलाई आदेश दियो, “यी थोत्रामोत्रा सबै सामान बारीमा लगेर जलाई देओ र घर सफा गर।”

अरौटेभरौटे धमाधम पुराना समान घर नजिकै बारीमा ओसार्न लागे।

“बाबु, तिम्रा ज्ञानेन्द्रिय र कर्मइन्द्रियलाई पश्चिमी संस्कृति र आधुनिकताले ढाकेको छ। संस्कृति त आमा हुन्। आमाको बाहिरी स्वरूपलाई सिर्जनात्मक बनाउन सकिन्छ तर तिमीले आमा नै अदलबदल गर्दै छौ । ठिक छ मलाई पनि लगेर जलाइदेऊ।”

उसले अदृश्य रूपमा सुनिरहेको आवाज सुन्यो । उसले घरको चारै भित्ता नियालेर हेर्याे। सन्दुकको माथि भित्तामा एउटा पुरानो तस्विर देख्यो। उसले देख्नासाथ तस्विर आफसे आफ भुइँमा झर्याे जुन तस्विर उसकी स्वर्गीय आमाको थियो।

प्रकाशित: २८ वैशाख २०७८ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App