२४ असार २०८१ सोमबार
image/svg+xml
कला

नेपाली सम्पदा साइनो

साइनो

छायादत्त न्यौपाने ‘बगर’

 

सिर्जनात्मक कामकाजले सहज वातावरण माग्छ । यतिखेर मानवीय संवेदना सङ्कटमा छ । सिङ्गै विश्व समुदाय कोरोना नामक कीटाणुको प्रकोपग्रस्त छ । यसबाट जोगिने उत्तम विकल्पका रूपमा सरकारले केही समय बन्दाबन्दी(लकडाउन) गरे पनि पछिल्लो समय आवतजावत सहज हुँदैछ । हामी सरकारी निर्देश पालना गरिरहेछौं । यस्तो त्रसित मनस्थितिमा के सिर्जना होला ? समाचारले दिने सूचनामा पनि कोरोनाकै दबदबा छ ! यो समय सिर्जनात्मकभन्दा बढी सावधानी अपनाउने बेला हो ।

हामी सबैलाई थाहा छ यो पठनपाठनमा टक बसाल्न सकिने समय होइन । विशेष गरी बालवृद्धमा ध्यान दिनुपर्ने देखिन्छ । बालसाहित्य पढेर बालकहरुसँगै खुसी हुनुपर्ने आवश्यकता छ । नयाँ बालपाठ्य सामग्री उत्पादन गर्ने ध्याउन्नमै रमाउन सकिन्छ । अहिले त स्रष्टाले आफ्नै बाल्यावस्था खोज्दै छन् । बालसाथीहरूको मनोरञ्जनका लागि प्रयत्नशील रहनु राम्रो होला ! अर्को कुरा धेरै स्रष्टा मन, वचनर कर्मले जुटेर सिर्जना गरिरहेको साहित्यिक विधाको नयाँ प्रयोग साइनो लेखन तथा विमर्श पनि भइरहेको छ। साहित्यमा रुचि भएको मान्छे म आफू बालसाहित्यमा अलिक बर्ता रमाउँछु! प्रौढ साहित्यको पनि विद्यार्थी ! सिर्जनात्मक कर्ममै खुसी लाग्छ । पछिल्लो समयमा साइनोले आफूतिर तानेको छ ! हुन त मेरो सुरुवाती लेखन प्रौढ साहित्यबाटै अघि बढेको हो । सिर्जनयात्राकै क्रमममा बालसाहित्यतिर रहर पलाएको हो।

स्रष्टा मनोवृत्ति सदैव नवीनतातिर आकर्षित रहन्छ स्वाभाविक हो । म पनि फरक शैली र विषयतिर आकर्षित हुने नै भएँ । अहिले सामजिक सञ्जालमा रमाउने स्रष्टाहरुको प्रिय साइनोको संरचना र नाम जुर्नु पनि यही नयाँ रहरको खोजीमा कलमकापीसँग खेल्दाखेल्दै –  

मान्छे छैन इमानी

न शहरमा धन छ  

न त झोपडीमा पिसानी !

यो सात, आठ र नौ अक्षरको संरचना बन्यो । साइनो तुरुन्तै नाम पनि फुरयो । यही संरचनाका सातवटा जति साइनो अनुहार किताब (फेसबुक)मा प्रसारण भएपछि स्रष्टा केशव ज्ञवालीसँग विमर्श भयो । यसको स्वरूप संरचनाका विषयमा दुवै जना सहमत भयौं । यसपछि क्रमश– खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाई, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, महानन्द ढकाल र विष्णु पादुकाहरू जोडिदै आउनुभो । यो क्रमले गति लियो, अहिले त साइनो सर्जक सङ्ख्या ह्वात्तै बढेको छ । धेरै सर्जकको गोडमेल पाएर अति नै छोटो समयमा देशभरि मात्र हैन विदेशसम्मै पैmलिइसकेको छ । नेपाली मन–माटाको मौलिक उत्पादन छोटो–छरितो भईकन गहनभाव सम्प्रेषण गर्ने भएकैले साइनो यसरी झाँगिएको हो । यसले साइनो सर्जक सबैलाई खुसी बनाएको छ । जहाँसम्म विधागत आवश्यकताको कुरा छ। यसलाई पनि सामान्य रूपले लिनुपर्छ। यस्ता सिर्जनाका नयाँ कार्य जीवनबोधका द्योतक महत्त्वपूर्ण हुन्छन् । साइनोको औचित्य खोज्ने साथीहरूसँग कविता, कथा, निबन्ध, महाकाव्यहरू धेरै लेखिए। अब अरू किन लेख्नु ? प्रतिप्रश्न गरूँ लाग्छ तथापि तपाईंहाम्रो प्रतिनिधित्वले जन्माएको आमजिज्ञासालाई सम्मान गर्दै वर्तमान भौतिक युगको व्यस्त पाठकलाई क्षणभरको समय लगानीमा पूर्ण साहित्यिक स्वाद दिन सक्ने छरितो तर गहनभावयुक्त साइनो यसै पनि विशेष छैन र ? पक्कै छ । यसको आफ्नो विशिष्ट संरचना र भाव छ । झन्डै एउटा साइनोले सिङ्गै कविता वा कथाको भाव सम्प्रेषण गर्न सक्छ। यसका सात, आठ र नौ अक्षरी संरचना अझ बेग्लै र विशेष छन् । यसले सिङ्गो वाङमयको संवर्धनमा टेवा पुयारउँछ । यसर्थ यो महत्त्वपूर्ण छ ।

त्यसो त साहित्यका जुनसुकै विधा अभिव्यक्तिका माध्यम हुन् । फरक, शैलीको कुरा हो । साहित्य बोल्ने भनेको जीवन हो । बोल्दा के बोल्ने, कसरी बोल्ने कुन शैलीमा बोल्ने ? स्रष्टाको रुचि, प्रतिभा, क्षमता र साधनाको विषय के हो ? जीवनका कुरा जुनसुकै विधामा लेखिन्छ, लेख्न सकिन्छ नै तर स्रष्टालाई प्रिय लाग्ने शैलीले खास माने राख्छ । पाठकको रुचि र आवश्यकतालाई पनि स्रष्टाले महत्त्व दिनैपर्ने हुन्छ । यी कुरालाई ध्यान दिँदा साइनो स्रष्टाका निम्ति नयाँ शैली प्राप्त भो भने पाठकले निमेषभरमा चोटिलो साहित्यिक खुराक पाए जुन अन्य विधाबाट प्राप्त हुनेभन्दा भिन्न, विशिष्ट शैली र स्वादयुक्त छ । यसलाई साइनोको फरक चिनारी मान्न सकिन्छ।

साहित्यका कुनै पनि विधा परिभाषा विशेषमा कैद गरेर खुम्च्याउन नसकिएजस्तै साइनो पनि यस्तै र यही नै हो भनेर किटान गर्न सजिलो छैन । संरचनाको पाटाबारे सात, आठ, नौ अक्षरका त्रिपदीय  शब्दगुच्छा हुन्छन् । कविता भएकाले यसले पनि कविताका आवश्यक तत्त्वको अपेक्षा गर्छ । बिम्ब, प्रतीक, लक्षणा, व्यञ्जना शब्दशक्ति, लयसँगै अनुप्रासले पनि यसमा गहनता थप्छ । यसलाई कति कलात्मक र आलङ्कारिक बनाउने ? स्रष्टामा निहित रहने प्रतिभा, व्युत्पत्ति र अभ्यासले निर्वाह गर्ने पाटो हो । रहरले कविता लेख्ने सबै कवि बन्न नसकेजस्तै रहरले साइनो लेख्ने सबै साइनोकार नठहरिएलान् । यसको मर्म भनेको त्रिपदीय संरचनाका प्रत्येक पंक्ति भनौं वा शब्दगुच्छा स्वतन्त्र रहेर समग्रमा एउटै अर्थ दिन सक्नु नै हो । यो त अनेक नेपालीमा रहेको एकत्वभाव पनि हो। 

विधि प्रक्रियामा रहेर गरिने सिर्जनात्मक कार्य सजिलै त कुन हुन्छ र ! हो, साइनोलाई पनि आम रूपमा जसरी लिइएको छ त्यति सजिलो लेखन नहुन सक्छ । फेरि यसले आफूलाई  फरक ढङ्गढाँचाले चिनाउनु छ र यस्तो परिचय खुकुलो संरचनाले दिन सक्तैन ! अर्थ गाम्भीर्यका लागि संरचना खँदिलो आवश्यक पर्छ । यसको गतिलो परिचय भनेकै स्वतन्त्र भएर एकै भाव दिनु नै हो । फेरि राम्रो सर्जिना गर्न सजिलै त कहाँ हुन्छ र ? अभ्यासले तिखार्दै लाने न हो सर्जकलाई । यसका स्वतन्त्र पदीय अर्थका लागि शब्दगुच्छाको अन्त्यमा, विभक्ति, असमापक क्रिया पद तथा जब तब आदि सापेक्ष संयोजकको प्रयोग सान्दर्भिक देखिँदैनन् । अक्षर सङ्ख्या मात्र साइनो होइन नै । कति साथीहरू अक्षर सङ्ख्यामा सीमित हुनुभा त छैन ? हेक्का राख्नुपर्ने छ । मैले पनि महसुस गरेकै विषय हो । भ्याएसम्म बेलाबखत सल्लाह दिने प्रयत्न गर्दै आएको छु।

कुनै पनि सिर्जनात्मक विधाको स्थायित्वका लागि बलियो जग सर्जकै हो, सँगसँगै निरन्तरता । साइनो सिर्जनामा समयसापेक्ष दृष्टिले उल्लेख्य संख्यामा स्रष्टाहरू साङ्लिएका छौं । यो क्रम गतिशील छ । सँगसँगै सैद्धान्तिक विमर्श हुँदै आएको छ यो पनि महत्त्वपूर्ण पाटो हो । यसमा अहिलेको प्रविधि प्रयोग भएकै छ । यस सन्दर्भमा अझ धेरै बहस जरुरी छ। यो सत्य हो तथापि साइनो लेखन आरम्भ भएको समयावधि हेरेर भन्दा पर्याप्त लेखिँदै, पढिँदै र बहस हुँदै आएको मान्न सकिन्छ । गुणस्तरमा पनि धेरै रचना आएपछि पाठकले स्तरीयलाई लिँदै र स्तर नपुगेका रचना छाड्दै जान्छ्न् आपैm छाडिन्छन्। यसर्थ संख्यावृद्धि पनि गुणस्तर कायम गर्ने सकारात्मक पाटो हो नै । सर्जकहरू पनि साधनाबाट अघि बढ्नेहरू यात्रा गर्छन् गरिरहन्छन् । रहरमा सीमित रहनेहरू छुट्दै जान्छन् । यही ध्रुवसत्य हो।

हो, कतिपय विद्वत्जनका आँखाले साइनोको भूतभविष्य नदेख्न सक्छन् । उहाँहरूलाई गर्दै मलाई के विश्वास छ भने सिर्जना हुने लहडमै हो। योजनाले त गर्छ निर्माण र गराउँछ समालोचना । हो, विगत थिएन। त्यसैले यो नयाँ र मौलिक हो। भविष्य नदेख्ने साथीहरूलाई अङ्गुर अमिलो लागेको भए स्वाद चाखेपछि हामफाल्नुहुन्छ । अर्को कुरा सिर्जनाको भविष्य स्रष्टा र पाठकले निर्धारण गर्ने विषय हो । कसैलाई अमिलो लाग्दैमा अङ्गुर फल्न छाड्दैन र लहरा पनि सुक्दैन । ईष्र्याले मलजल गर्छ साइनो चिल्यिाउँछ, चम्काउँछ । जसका स्रटा र पाठक हजारौं भए, पुस्तक धमाधम प्रकाशन हुँदै छन् भने यसको भविष्य हुँदैन?  

फरक पहिचानका लागि अक्षर संरचना पर्याप्त हुँदैन ? साइनोको अरू कुनै विधासँग समर्थक र विरोधी सम्बन्ध छैन । अन्य विधाको सापेक्षतामा पर्याप्त अन्तर छ । पहिलो त यो नेपाली मनमाटाको उत्पादन, दोस्रो सात, आठ, र नौ अक्षरी त्रिपदीय योग, तेस्रो तीनवटै पद स्वतन्त्र, चौथो यो जीवन जगतका समग्र पाटासँग सम्बन्धित, पाँचौं यसले कुनै अन्य विधाको सर्थन वा विरोध दुवै गर्दैन र कुनै विधाको विकल्पमा आएको पनि होइन । यसका ७, ८ र ९ अबकले गणितीय विशेषता सहित सात वार, आठ दिशा र नवरस अर्थबोध गराउँछन् । यो त भर्खर जन्मेको विधा हो र त यति धेरै मूल्यबोध गराइसकेको छ भने आउँदो दिनमा विद्वान्हरूबिच निरन्तर हुने बहस–विमर्शले विशेषताहरू पनि थप्दै लाने नै छ।

हो, स्रष्टा विष्णु पादुकाको पुस्तक आइसकेको छ । मैले साइनो मजाले झाँगिन्छ तर यति छिटै यसरी विश्वव्यापी बनेर झाँगिन्छ जस्तो लागेको थिएन । यसमाथि यति छिटै ! मलाई अचम्म लागेको छ सर्जकहरू नयाँ विधाको खोजीमा यतिविघ्न व्यग्र पाएर । यसमा सञ्जाल र सयौँ साइनोसारथिहरूको समर्पण छ । साइनोको विधागत स्थायित्वका लागि यो महत्त्वपूर्ण काम हो । रचनासँगै सैद्धान्तिक बहस पनि हुँदै जान्छ । समयावधिको हिसाबले त बहस भएकै मान्न सकिन्छ । पत्रपत्रिकामा लेखहरू आइरहेका छन् । विद्युतीय माध्यमबाट छलफल, लेख प्रकाशन हुँदै आएको छ । यसबारे स्रष्टाहरूमाथि उल्लेख भएभैंm पर्खेर हेर्दै पनि छन् के कस्तो गति लिन्छ भन्ने जिज्ञासा होला । यो अस्वाभाविक पनि हैन । हामी सबैलाई थाहा छ यति छिटै यो लोकप्रियता प्राप्त गरेको साइनो सिर्जना जीवन्त बन्ने नै छ । यसैले स्तर उकासेर स्थायित्व प्रदान गर्नेछ । आउँदा दिनमा साहित्यका अरू विधामा जस्तै यसबारेमा पनि निरन्तर बहसको आवश्यकता रहन्छ नै।

म त निर्धक्क भन्छु, साइनो वर्तमान समयको भेल होइन माग हो । साइनो स्वतस्फूर्त  थालनी भई  गति लिएको स्वतस्फूर्त साहित्यिक अभिव्यक्ति हो। यसको चुस्त सूत्रात्मक अभिव्यक्तिले सर्जक र पाठक दुवैको मन जितिसकेको छ। यो देशभित्र सीमित छैन। यसले त अन्तर्राष्ट्रिय लेखक र पाठक पाइसकेको छ। यसर्थ यो स्थापित हुने कुरामा द्विविधा राख्नुभन्दा स्थापित भइसक्यो भनेर पत्याउँदा हामी ठिक ठाउँमा हुन्छौं ।

यतिखेर मानव समुदायलाई आपसी भेटघाट र भलाकुसारीको अवसर छैन । यस दुखद घडीले स्रष्टाहरूमाझ झन् बढी जिम्मेवारी थपेको छ । साहित्य जीवनलाई गति दिने विषय हो । यसले उत्साह र उत्प्रेरणा दिने गर्छ। जीवनलाई सक्रिय एवं कर्मयोगतर्फ डोरयाउने विषय पनि यही हो भने यसका सर्जकले परिस्थितिजन्य मनोविज्ञानलाई ध्यान दिई आत्मबल बढाउने गरी छोटोछरितो सिर्जनामार्फत् आमपाठकहरूको निराशालाई उत्साहतर्फ अभिमुख गर्ने सक्रियता सान्दर्भिक हुन्छ।

प्रकाशित: २३ वैशाख २०७८ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App