१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

आजको समयचित्र

कविता

धर्म पोखरेल 

 

कस्तो दिक्क वसन्तमा पनि हरे ! गाउन्न्न यो कोइली

केही छैन सुगन्ध कुञ्ज, वनमा बेली चमेली फुली

हिँड्दैनन् बटुवा,  कुनै सडकमा आउन्न बाटो भुली

कोही वीर अदम्य साहस लिई  चढ्दैन ऐले चुली ।। (१)

 

पार्थी नक्कल यत्रतत्र रमिता हिँड्थी जतै पुल्पुली

त्यो शृङ्गार उड्यो समस्त तनको देखिन्न ढुङ्ग्री फुली

ती सिन्दूर, चुरा ट¥यो लगन नै  सम्झेर बस्छे ठुली

खोला वारि र पारि जीवन भयो  हेर्छन् दुवै टुल्टुली  ।। (२)

 

अन्धाधुन्ध छ बर्सिँदै  जल यहाँ भिज्दैन माटो धुली

हुर्कन्नन् बिरुवा न छन् फल कतै फल्दैन बाला झुली

वेला यो प्रतिकूल लाग्दछ सधैँ घुम्दैन चाकाचुली

यौटै बालक  छैन आजसुखमा खेल्दैन टालाटुली  ।। (३)

 

छन् खाद्यान्न प्रशस्त ती महलमा बाँच्छन् बिराला डुली

भोका पेट हुने मुसा अवनिमा गर्छन् सधैँ चुल्बुली

रित्ता थाल, लिएर बोल्न नसकी हुन्छ्न् तिनी छल्छुली

 बाँच्लान् के कसरी समस्त जन यी बढ्दै गयो खुल्दुली ।। (४)

 

रोगी मात्र भयौँ, भए दिनदिनै यी हात खुट्टा लुली

बत्ती बाल्नसकिन्न तेल सकिए मात्रै सलेदो हुली

कोरोना अझ पाइला अवनिमा चाल्दै छ एक्लै खुली

होला वीर कतै त भाइरस यो सूली चढाओस् मुली   ।। (५)

                                             (शार्दूलविक्रीडित छन्द)   

प्रकाशित: २२ वैशाख २०७८ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App